काठमाडौँ । बाराको सिमरामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका निवासी प्रदीप खड्का रहेका छन् ।
जितपुर सिमरा उपमहानगरपालिका–१ मा गरिमा भदौ २ गते मृत अवस्थामा भेटिएकी थिइन् । उनी घरबाट हराएको तीन दिनपछि मृत फेला परेकी थिइन् ।
प्रहरीको अनुसन्धानबाट गरिमाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको छ । घटनाको अनुसन्धानका क्रममा हालसम्म नौ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी मीनबहादुर घलेले जानकारी दिए ।
‘अहिलेसम्म प्रदीप खड्कासहित नौ जना पक्राउ परेका छन्,’ डीएसपी घलेले भने ।
प्रहरीका अनुसार पक्राउ परेका प्रदीप खड्का विद्यार्थी हुन् । घटनामा संलग्न अन्य व्यक्तिहरूबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


