काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बसमा आगलागी हुँदा गम्भीर घाइते भएका चालक दावा लामाको उपचारका क्रममा मृत्यु भएको छ।
काभ्रे घर भएका २५ वर्षीय लामाको कीर्तिपुरस्थित बर्न अस्पतालमा सोमबार राति उपचारका क्रममा मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।
अस्पतालका अनुसार आगलागीमा लामाको शरीरको ९० प्रतिशतभन्दा बढी भाग जलेको थियो। सोमबार मध्याह्न करिब १ बजे उद्धार गरी उनलाई उपचारका लागि कीर्तिपुरस्थित अस्पताल पुर्याइएको थियो।
सोमबार दिउँसो त्रिपुरेश्वर चोकको बस स्टपमा ऋद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा अचानक आगलागी भएको थियो। यात्रुहरू बसबाट ओर्लिसकेपछि चालक लामाले आफैँ बसभित्र आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार आगलागी हुनुअघि लामाको ट्राफिक प्रहरीसँग विवाद भएको थियो। घटनाको वास्तविक कारण र आगलागीको परिस्थितिबारे भने थप अनुसन्धान भइरहेको छ।
यसैबीच, घटनाको सत्यतथ्य पत्ता लगाउन काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले छानबिन समिति गठन गरेको छ। वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश बस्नेतको संयोजकत्वमा गठित समितिलाई घटनाको विस्तृत अनुसन्धान गरी पाँच दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ।
समितिले ट्राफिक प्रहरीसँग भएको विवाद, बसमा आगलागी हुनुको कारण तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।


