काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सवारीसाधन जाँचका क्रममा ९७५ जना चालकलाई कारबाही गरेको छ।
मंगलबार बिहानसम्म गरिएको ट्राफिक जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४८ जना चालक कारबाहीमा परेका छन्। यस्तै, सिसिटिभीमार्फत ६१ जना र रातो बत्ती उल्लङ्घन गर्ने ५१ जना चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
त्यस्तै, तीव्र गतिमा सवारी चलाउने १३० जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने २१ जना, लेन उल्लङ्घन गर्ने ४७ जना, सवारीसाधनको अवस्था ठीक नभएका ५५ जना र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने १४ जना चालक कारबाहीमा परेका छन्।
अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ५४८ जना चालकलाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण तथा सडक अनुशासन कायम गर्न उपत्यकाका विभिन्न स्थानमा नियमित रूपमा सवारी जाँच तथा निगरानी गर्दै आएको जनाएको छ।


