काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले चाडपर्वका समयमा सार्वजनिक यातायातका सवारीसाधनलाई बाटो–बाटोमा पटक–पटक जाँच नगरी निश्चित स्थानमा आवश्यक जाँचपछि गन्तव्यसम्म सहज रूपमा पुग्ने वातावरण बनाउन आग्रह गरेका छन्।
सोमबार विजयादशमी, दीपावली तथा छठलगायतका चाडपर्वलाई लक्षित गरी सार्वजनिक यातायात व्यवस्थापन तथा काठमाडौं उपत्यकाबाट बाहिरिने र बाहिरी जिल्लाबाट काठमाडौं प्रवेश गर्ने यात्रुलाई सहज र सुरक्षित बनाउने विषयमा आयोजित छलफलमा सिटौलाले यस्तो आग्रह गरेका हुन्।
उनले विराटनगर, धनगढी, पोखरा लगायतका प्रमुख स्थानबाट छुट्ने सवारीसाधनलाई सम्बन्धित स्थानमै यात्रु संख्या, कागजात तथा सवारीको अवस्था जाँच गरी त्यसपछि सहज रूपमा गन्तव्यतर्फ पठाउने व्यवस्था गर्नुपर्ने बताए।
‘विराटनगरबाट कुनै गाडी हिँड्दै छ भने विराटनगरमै टोटल रूपमा चेक गरेर, ४० जना छन् कि ४२ जना छन् सबै जाँच गरेर पठाउनुपर्छ। त्यसपछि शङ्का लागेको अवस्थामा मात्रै आवश्यक स्थानमा जाँच गर्न सकिन्छ,’ उनले भने, ‘शङ्का लागेको गाडीमा बाटो–बाटोमा किन रोक्नुपर्यो?’
सिटौलाले लामो दूरीका यात्रुवाहक बसका चालक तथा कर्मचारीको अवस्थालाई समेत ध्यानमा राखेर यातायात सञ्चालनमा सहजीकरण गर्नुपर्ने बताए। पोखराबाट काठमाडौं आउने बसलाई पोखरामै जाँच गरेपछि नौडाँडा, कोटडाँडा, कुरिनटार, नागढुङ्गा लगायतका स्थानमा पटक–पटक जाँच गर्दा यात्रु र कर्मचारी दुवैलाई समस्या हुने उनको भनाइ थियो।
उनले शङ्का लागेका सवारीसाधनलाई आवश्यकताअनुसार जाँच गर्न रोक नलगाइएको नभई सबै सवारीलाई जथाभावी रूपमा पटक–पटक रोक्ने प्रवृत्ति अन्त्य गर्न आग्रह गरे।
सिटौलाले चाडपर्वका समयमा टिकट वितरणपछि पनि सवारीसाधन समयमै सञ्चालन हुन नसके त्यसको असर व्यवसायी, कर्मचारी र यात्रुमाथि पर्ने बताए। त्यसैले सम्बन्धित निकायले यातायात सञ्चालनलाई सहज बनाउन विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो।
यसैगरी उनले देशभर बाढीपहिरोका कारण सडकको अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै सडक निर्माणमा समय लागे पनि तत्काल खाल्डाखुल्डी पुर्ने र जोखिमयुक्त सडक खण्डलाई सुधार गर्ने काम गर्न आग्रह गरे।
छलफलमा प्रहरी प्रधान कार्यालय राजमार्ग तथा सुरक्षा महाशाखाका एसपी राजेन्द्र श्रेष्ठले चाडपर्वका समयमा दुर्घटना न्यूनीकरण तथा सवारी व्यवस्थापनका लागि देशभर विशेष योजना कार्यान्वयन गर्न लागिएको बताए।
उनका अनुसार गत वर्ष दशैँदेखि छठसम्मको अवधिमा देशभर ३ हजार ४८७ वटा सवारी दुर्घटना भएका थिए भने २९४ जनाको मृत्यु भएको थियो। यस वर्ष गत वर्षको तुलनामा दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यसहित सुरक्षा योजना कार्यान्वयन गर्न लागिएको उनले बताए।
श्रेष्ठले दुर्घटना न्यूनीकरण तथा सवारी व्यवस्थापनका लागि केन्द्रबाट मात्रै नभई जिल्ला र फिल्ड तहमा समेत प्रभावकारी समन्वय आवश्यक रहेको बताए। सडक विभाग, यातायात व्यवस्था कार्यालय, जिल्ला प्रशासन, स्थानीय तह, निजी क्षेत्र तथा यातायात व्यवसायीलाई समेटेर संयुक्त संयन्त्र निर्माण गरी फिल्डमा परिचालन गर्नुपर्ने उनको भनाइ थियो।
उनका अनुसार पहिलो चरणमा प्रत्येक जिल्लाले दुर्घटना न्यूनीकरण तथा चाडपर्वको सवारी व्यवस्थापनका क्रममा सुधार गर्नुपर्ने सडक तथा अन्य क्षेत्रको पहिचान गरी योजना बनाउनेछ। त्यसपछि सरोकारवाला निकायबीच छलफल गरी आवश्यक निर्णय र प्रतिबद्धता गरिने तथा चरणबद्ध रूपमा योजना कार्यान्वयन गरिनेछ।
श्रेष्ठले अन्तरप्रदेश रुट परमिटको व्यवस्थाबारे समेत अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याए। कमजोर सडक खण्डमा ठूला सवारीसाधन सञ्चालन गर्ने प्रवृत्तिले पनि दुर्घटनाको जोखिम बढाउन सक्ने भन्दै कुन रुटमा सवारी सञ्चालन खुला गर्ने र कुन रुटमा प्रतिबन्ध लगाउने भन्ने विषयमा अध्ययन आवश्यक रहेको उनले बताए।


