Friday, June 26, 2026
Homeमनोरन्जनचिनियाँ चलचित्र “म कहिल्यै नमरी जीउन चाहन्छु” लुम्बिनीमा छायाङ्कन गर्नेबारे छलफल

चिनियाँ चलचित्र “म कहिल्यै नमरी जीउन चाहन्छु” लुम्बिनीमा छायाङ्कन गर्नेबारे छलफल

लुम्बिनी: चिनियाँ कलाकारहरूले बुद्ध र लुम्बिनीसँग सम्बन्धित चलचित्र निर्माण गर्ने विषयमा लुम्बिनी विकास कोषमा आज छलफल गरेका छन्। “म कहिल्यै नमरी जीउन चाहन्छु” नामक चलचित्रको एकतिहाइ भाग बुद्ध जन्मस्थल लुम्बिनीमा छायांकन गर्ने योजना रहेको भन्दै निर्माता तथा कलाकारहरूले छलफल गरेका हुन्।

उक्त अवसरमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले चलचित्रले बुद्ध र लुम्बिनीको सकारात्मक प्रचारप्रसार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार, चलचित्रले चीनका नागरिकहरूमा बुद्ध र लुम्बिनीबारे सकारात्मक प्रभाव पार्नेछ। साथै, कानुनी प्रक्रिया अनुसार छायांकन सहज बनाउन कोषले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

छलफलका क्रममा कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बुद्धको सन्देशलाई चलचित्रमा सही रूपमा उठान गर्न सुझाव दिनुभयो। उहाँले बौद्धशास्त्रअनुसार “बुद्धले लुम्बिनी भ्रमण गर्दा जीवनका पापहरू क्षम्य हुने” भन्ने मान्यता उल्लेख गर्दै चलचित्रले बृहत्तर लुम्बिनी क्षेत्रलाई समेटेर छायांकन गर्नुपर्ने धारणा राख्नुभयो।

चलचित्रका निर्माता चाउ डिफिङले टोली अहिले प्रारम्भिक जानकारी लिन आएको बताउँदै, चिनियाँ दूतावासमार्फत औपचारिक रूपमा लुम्बिनीमा छायांकनको प्रक्रिया अघि बढाइने जानकारी गराउनुभयो। निर्माता चाउसँगै छायाङ्कार डेङ छुङमिनसहितको टिम लुम्बिनी आएको थियो। चलचित्र टोलीका सहजकर्ता डा. सागर न्यौपानेका अनुसार, चीनबाट छायांकन थालनी गरी लुम्बिनीमा चलचित्रको अन्तिम छायांकन गरिने योजना रहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका