Monday, September 7, 2026
Homeमनोरन्जनचलचित्र ‘बेहुली’को ट्रेलर सार्वजनिक, निर्माताको आम्दानीको ५ प्रतिशत बाढीपीडितलाई दिने घोषणा

चलचित्र ‘बेहुली’को ट्रेलर सार्वजनिक, निर्माताको आम्दानीको ५ प्रतिशत बाढीपीडितलाई दिने घोषणा

काठमाडौं । नेपाली चलचित्र ‘बेहुली’ को आधिकारिक ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार काठमाडौंको जय नेपाल हलमा आयोजित विशेष कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका निर्माता तथा प्रस्तुतकर्ता अर्जुन पोखरेलले चलचित्र प्रदर्शनबाट निर्माताको भागमा आउने आम्दानीको ५ प्रतिशत बाढीपीडितका लागि सहयोग गर्ने घोषणा गरे।

पोखरेलले चलचित्रबाट नाफा भए पनि वा घाटा भए पनि निर्माताको भागमा आउने रकमको ५ प्रतिशत बाढीपीडितलाई उपलब्ध गराउने बताए। उनका अनुसार चलचित्र निर्माणमा हालसम्म साढे तीन करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ भने प्रचारप्रसारको काम अझै बाँकी छ।

उनले सामाजिक उत्तरदायित्वअन्तर्गत आम्दानीको निश्चित हिस्सा विपद्पीडितका लागि छुट्याउने निर्णय गरिएको बताए। ‘निर्माताको भागमा एक लाख आए पनि वा २० करोड आए पनि त्यसबाट ५ प्रतिशत सहयोग गर्छौँ,’ उनले भने, ‘फाइदा भएपछि मात्र होइन, घाटा हुँदा पनि सहयोग गर्नेछौँ।’

कार्यक्रममा अभिनेत्री दिव्या रायमाझीले बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन्। उनले विपद्का कारण अहिलेको अवस्था सम्पूर्ण नेपालीका लागि कठिन रहेको बताउँदै यस्तो परिस्थितिमा चलचित्र प्रदर्शन गर्ने निर्णय सहज नभएको उल्लेख गरिन्।

दुःखलाई बिर्सनुभन्दा त्यसलाई स्वीकार गर्दै बिस्तारै जीवनमा अगाडि बढ्नुपर्ने उनको भनाइ थियो। ट्रेलर सार्वजनिक कार्यक्रममा पहिलोपटक आफूले पनि ट्रेलर हेरेको बताउँदै उनले चलचित्रको हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरिन्। साथै उनले दर्शकलाई चलचित्रप्रति माया र समर्थन गरिदिन आग्रह गरिन्।

कलाकार पारस बम ठकुरीले पनि विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कठिन परिस्थितिका बीच चलचित्र प्रदर्शन गर्न लागिएको बताए। उनले देश शोकमा रहेका बेला पनि चलचित्र क्षेत्रलाई चलायमान राख्न आवश्यक रहेको बताए।

चलचित्र प्रदर्शन रोकिँदा कलाकार, प्राविधिक तथा चलचित्र क्षेत्रसँग जोडिएका धेरै व्यक्तिको रोजगारीमा असर पर्ने उल्लेख गर्दै उनले विदेशी चलचित्र प्रदर्शन भइरहेका अवस्थामा नेपाली चलचित्रलाई मात्र रोक्न दबाब दिनु उचित नभएको बताए।

सशान कँडेलको निर्देशन र माधव शर्माको लेखन रहेको ‘बेहुली’मा पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त, पदम, सन्तोष, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली, विमल यादव, अविरल श्रेष्ठ, सविन कट्टेल र समायरा थापा मगरलगायत कलाकारको अभिनय रहेको छ।

सार्वजनिक ट्रेलरमा पारस बम ठकुरी र दिव्या रायमाझीबीचको प्रेमकथालाई मुख्य रूपमा प्रस्तुत गरिएको छ। चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने जनाइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका