काठमाडौं । एक्सन स्टार निखिल उप्रेतीको अभिनय तथा निर्देशन रहेको फिल्म **‘आचार्य’**को टिजर मंगलबार सार्वजनिक गरिएको छ।
टिजरमा एक्सन र स्टन्टलाई प्राथमिकता दिइएको छ। निखिललाई शक्तिशाली र आक्रामक भूमिकामा प्रस्तुत गरिएको छ। हेलिकप्टरबाट हाम फाल्ने, प्याराग्लाइडिङ गर्ने, तीव्र गतिमा कार तथा बाइक चलाउनेलगायतका जोखिमपूर्ण स्टन्ट टिजरमा देखाइएको छ।
फिल्ममा निखिलका फरक–फरक लुक्स र अवतार देख्न सकिन्छ। कतै उनी लामो कपाल र दाह्रीमा ‘रफ’ लुकमा देखिएका छन् भने कतै सेतो पहिरनमा आध्यात्मिक तथा धार्मिक व्यक्तित्वको रूपमा प्रस्तुत भएका छन्।
टिजरमा ‘धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे’ लेखिएको ट्याटु र संवादसमेत समावेश गरिएको छ। यसले फिल्मको कथावस्तु सामाजिक न्याय र अधर्मविरुद्धको संघर्षमा केन्द्रित रहेको संकेत गर्छ।
निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा द्वन्द्व निर्देशन शुक्रराज शाहले गरेका छन् भने कृष्ण भट्टराई निर्माता हुन्।
फिल्म असोज ९ गते (सेप्टेम्बर २५) देखि देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।


