काठमाडौँ: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले १५ वटा आङ्गिक क्याम्पसलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव पशुपति अधिकारीले ती क्याम्पसका प्रमुखलाई पत्र पठाएर तत्काल निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको हो।
निर्देशन दिइएका क्याम्पसमध्ये छ उपत्यकाभित्र र नौ उपत्यकाबाहिर छन्। त्रिविले चैत ५ गते स्ववियु निर्वाचन सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि यी क्याम्पसहरूमा निर्वाचन प्रक्रिया रोकिएको थियो। अधिकारीले सम्बद्ध पक्षसँग समझदारी गरी प्रक्रिया अघि बढाउन आग्रह गर्दै, “जुन अवस्थामा र प्रक्रियामा रोकिएको हो, सोही अनुसार तत्काल अघि बढाउन” निर्देशन दिनुभएको छ।
निर्वाचन प्रक्रिया अघि नबढेका उपत्यकाका क्याम्पसहरूमा विश्वविद्यालय क्याम्पस (कीर्तिपुर), सरस्वती बहुमुखी क्याम्पस (सोह्रखुट्टे), पब्लिक युथ क्याम्पस (धोविचौर), शङ्करदेव क्याम्पस (पुतलीसडक), नेपाल ल क्याम्पस र विश्वभाषा क्याम्पस रहेका छन्।
त्यस्तै, उपत्यका बाहिरका सिद्धनाथ विज्ञान क्याम्पस (महेन्द्रनगर), सुर्खेत बहुमुखी क्याम्पस (सुर्खेत), बुटवल बहुमुखी क्याम्पस (बुटवल), भैरहवा बहुमुखी क्याम्पस (भैरहवा), पक्लिहवा बहुमुखी क्याम्पस (पक्लिहवा), तेह्रथुम बहुमुखी क्याम्पस (चौहारडाडा), रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (जनकपुर), वीरेन्द्र बहुमुखी क्याम्पस (भरतपुर) र कृषि क्याम्पस (खैरहनी) मा पनि प्रक्रिया अघि बढ्न सकेको छैन।
त्रिविले आफ्नो आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा चैत ५ गते एकैदिन स्ववियु निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको छ।


