म्याग्दी: रघुगंगा गाउँपालिका-७ मा रहेको प्राकृतिक र धार्मिक महत्त्वले भरिएको सुनछहरा पर्याप्त पूर्वाधार र प्रचारको अभावमा ओझेलमा परेको छ। पदमार्गको अभाव र झोलुंगे पुल नहुँदा पर्यटकलाई यो क्षेत्रसम्म पुग्न कठिनाइ भइरहेको छ।
स्थानीय बासिन्दा ललित गर्बुजाले सुनछहराको प्रचारप्रसार नहुँदा यसको विशेषता स्थानीय स्तरमै सीमित भएको बताए। “धौलागिरि हिमालको आधार शिविर क्षेत्रअन्तर्गत पर्ने सुनछहरामा धार्मिक र पर्यटकीय सम्भावना हुँदाहुँदै पनि विकासको पर्खाइमा छ,” उनले भने।
भारतीय सेनामा कार्यरत गर्बुजाको नेतृत्वमा मण्डली युवा क्लबका पदाधिकारी, पर्यटन व्यवसायी, र सञ्चारकर्मीहरूको टोलीले हालै सुनछहरा पुगेर सम्भावनाबारे अध्ययन गरेको थियो।
धार्मिक कथा र नामको उत्पत्ति
परम्परागत कथनअनुसार एक बाजा बजाउने व्यक्ति ध्यान गर्न झरनामा पुगेपछि भगवान प्रशन्न भई सुनको वरदान दिन तयार भएका थिए। झरनाको गुफाबाट जति चाहे त्यति सुन लैजान अनुमति पाएका ती व्यक्तिले लालच गर्दा बाढी आएर सबै बगाएको र त्यसपछि यो स्थानको नाम ‘सुनछहरा’ रहेको जनविश्वास छ।
गुफाका भित्ताहरू पहेँलो देखिने र विभिन्न देवीदेवता तथा जनावरको आकृतिले भरिएको गुफाभित्र हिर्काउँदा बाजाको आवाज सुनिने स्थानीय वडा अध्यक्ष थकबहादुर पाईजाले बताए।
पूर्वाधार विकासको खाँचो
धौलागिरि आधार शिविर जाने पदमार्ग विस्तार थालिएको र सुनछहरा जाने बाटोमा पर्ने रघुगंगा नदीमा झोलुंगे पुल निर्माणको पहल भइरहेको वडा अध्यक्ष पाईजाले बताए।
हिउँदयाममा सुनछहराको पानी जमेर हिउँमा परिणत हुने दृश्य यहाँको थप आकर्षण हो। करिब १५ मिटर अग्लो यो झरनाको भित्र पाँच मिटर लामो गुफा छ। दर्शन र पूजापाठ गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ।
पर्यटन प्रवर्द्धनको सम्भावना
पोखराका पर्यटन व्यवसायी तारा गर्बुजाले सुनछहरा पुग्ने पदमार्ग व्यवस्थित गर्न र झोलुंगे पुल निर्माण गर्न सके पर्यटकको आकर्षण बढ्ने बताए। “झोलुंगे पुल नहुँदा राहुघाट वारपार गर्न जङ्घार तर्नुपर्ने बाध्यता छ,” उनले भने।
सुरक्षित पदमार्ग नहुँदा भिरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने र संकेत चिन्हहरूको अभावले पर्यटक हराउने जोखिम रहेको अध्ययन टोलीका सदस्य सुरेन गुरुङले बताए। सुनछहराबाट रिखार, धौलागिरि आधार शिविरको अस्ट्रेलियन क्याम्प, कालीबराह हुँदै मुस्ताङसम्म पुग्न सकिने उनले बताए।
नोट: बेनीदेखि चिमखोला हुँदै सुगुरथला पुग्न चार घण्टा सवारी यात्रा गर्नुपर्छ। त्यहाँबाट एक दिनको पैदल यात्रापछि सुनछहरा पुगिन्छ। सुगुरथलासम्म मात्र होटल सुविधा रहेकाले त्यसभन्दा माथि बन्दोबस्तीका सामान आफैँ बोक्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन्।