भरतपुर (चितवन): चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गली हात्ती (मकुना) मृत्यु प्रकरणको छानबिन गर्न गठित समितिले औपचारिक रूपमा काम सुरु गरेको छ। समितिले आन्तरिक कार्यविधिको मस्यौदा तयार गरी अनुसन्धान अघि बढाएको छ। छानबिन समितिका संयोजक वन मन्त्रालयका सहसचिव डा. बुद्धिसागर पौडेलका अनुसार सोमबारबाट स्थलगत अध्ययन सुरु हुनेछ।
“छानबिन समिति शुक्रबार गठन भएको थियो। बीचमा बिदा परेकाले आइतबारबाट काम थालेका छौँ,” डा. पौडेलले बताउनुभयो।
समितिले चितवनमा दुई दिनसम्म स्थलगत अध्ययन गर्दै निकुञ्ज कार्यालय, सुरक्षा निकाय, मध्यवर्ती सामुदायिक वन पदाधिकारी, स्थानीय पालिका र प्रशासनसँग छलफल गर्नेछ। डा. पौडेलका अनुसार होटल व्यवसायीले पालेका हात्तीका कारण जङ्गली हात्ती मानव बस्तीमा बसेको गुनासो आएकाले होटल तथा हात्ती व्यवसायीसँग पनि अन्तरक्रिया गरिनेछ।
गत माघ २३ गते नेपाली सेनाको गोली लागेर मकुनाको मृत्यु भएको थियो। घटनाको विस्तृत विवरण र कारण पहिचान गर्न वन मन्त्रालयले माघ २५ गते सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन गरेको थियो।
छानबिन समितिमा सहसचिव डा. बुद्धिसागर पौडेलको नेतृत्वमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ अनुगमन अधिकृत पुरुषोत्तम शर्मा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका प्रमुख सेनानी गजेन्द्र रावल, वन तथा भू–संरक्षण विभागका वन अधिकृत सवनम पाठक र चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका पशु चिकित्सक डा. दिनेश शाह सदस्य छन्।


