काठमाडौँ: पाथिभरा क्षेत्रको केबलकार निर्माणमा उत्पन्न विवाद समाधान गर्न सरकारी पक्ष र आन्दोलनरत समूहबीच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ। सरकारले वार्तामार्फत समस्या समाधान गर्न पुनः आग्रह गरेको छ।
सरकारी वार्ता टोलीका संयोजक तथा गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले भन्नुभयो, “वार्ता निष्कर्षमा पुग्न सकेन। हामीले वार्ताका माध्यमबाट समस्याको समाधान गर्न अनुरोध गरेका छौँ।”
गृह मन्त्रालयले आज राति जारी गरेको विज्ञप्तिमा सरकारको वार्ता टोली समस्याको समाधानका लागि संवाद गर्न सदैव तयार रहेको उल्लेख गरिएको छ। मन्त्रालयले विवाद वार्तामार्फत समाधान गर्न पुनः आग्रह गरेको छ।
यसैबीच, आन्दोलनरत पक्षको प्रतिनिधित्व गरेको वार्ता टोलीले अब कर्मचारीस्तरको वार्ता नगर्ने स्पष्ट पारेको छ। “भोलि गृहमन्त्री रमेश लेखकसँग छलफल हुनेछ,” वार्ता टोलीका सदस्य सरस्वता सिङ्गक (सरु) ले राससलाई जानकारी दिनुभयो।


