सोल। पछिल्लो समय दक्षिण कोरिया नेपाली युवायुवतीको रोजगारीका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। यहाँको द्रुत आर्थिक विकास, आधुनिक जीवनशैली, उच्च पारिश्रमिक, सुरक्षित कार्य वातावरण र रोजगारीका अवसरहरूले लाखौँ विदेशी कामदारहरूलाई आकर्षित गरिरहेको छ।
तर कोरियामा रहेका आप्रवासी कामदारहरूको जीवन सहज मात्र छैन। श्रम शोषण, भाषा अवरोध, मानसिक तनाव, र आपसी द्वन्द्वजस्ता समस्याहरूले उनीहरूको दैनिकीलाई चुनौतीपूर्ण बनाइरहेको छ।
नेपाली कामदारहरूको बीचमा इर्ष्या, प्रतिष्पर्धा र झगडाका घटना बढ्दै गएपछि यसले कानूनी समस्या सिर्जना गर्न थालेको छ। उदाहरणस्वरूप, गोरखाका पदम आले, जो आठ वर्षअघि रोजगार प्रक्रिया प्रणालीमार्फत कोरिया आएका थिए, सहकर्मी नेपालीले मालिकसँग नकारात्मक कुरा फैलाएपछि आफ्नो कम्पनी परिवर्तन गर्न बाध्य भए।
बझाङका प्रदीप रावत पनि कम्पनीमा अन्य नेपाली ल्याउन चाहन्थे। तर केही सहकर्मीहरूले अनावश्यक भ्रम फैलाउने प्रयास गर्दा कम्पनी अवलोकन गर्न आएका नेपालीहरूले काम नगर्ने निर्णय लिएका छन्।
एक अन्य घटनामा थेगुको एक उद्योगमा दुई नेपाली कामदारबीच तलब र जिम्मेवारीका विषयमा विवाद भएपछि हातपातको स्थिति सिर्जना भयो। सहकर्मीको उजुरीपछि एक व्यक्तिलाई तीन महिनाको जेल सजाय र दुबैलाई कामबाट निकालिएको थियो।
इछन क्षेत्रमा पनि खानाको विषयमा दुई नेपाली महिलाबीचको विवाद हात हालाहालमा परिणत भयो। प्रहरीले नियन्त्रणमा लिएर कानूनी प्रक्रिया अगाडि बढाएपछि उनीहरू कामबाट बर्खास्त भई नेपाल फर्किन बाध्य भए।
सहकर्मीबीचको इर्ष्या, आर्थिक ठगी, मदिरा सेवन र व्यक्तिगत विवादले गर्दा सहकार्यको वातावरणमा कमी देखिएको छ।
दक्षिण कोरिया सरकारले कानूनी दायित्वलाई कडाइका साथ पालन गराउने भएकाले यहाँका कामदारहरूलाई कानूनी र कार्यस्थलका नियमहरूको पालना गर्न विशेष सचेत रहनुपर्ने दूतावास स्रोतले बताएको छ।
दूतावासले सहकर्मीबीचको विवादलाई सौहार्दपूर्ण संवादबाट समाधान गर्न सुझाव दिएको छ। कानूनी प्रक्रियाको पालना र सहकर्मी तथा रोजगारदातासँग सकारात्मक सम्बन्धले मात्र कामदारहरूको भविष्य सुरक्षित रहन सक्छ।


