Thursday, June 25, 2026
Home Blog Page 556

जसपा नेपालले गर्यो भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय

0

काठमाडौं: सरकारले ल्याएका छ वटा अध्यादेशमध्ये जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि सम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ। मंगलबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक रेखा यादवले सदनमा भूमिसम्बन्धी अध्यादेशको पक्षमा सहमति नजनाउने निर्णय गरेको जानकारी दिइन्।

माघ २४ गते दुवै सदनको कार्यसूचीमा अध्यादेश समावेश भएपछि जसपाको बैठक बसेको थियो। तर कार्यसूचीबाट अध्यादेश हटाइएपछि तत्काल कुनै निर्णय हुन सकेन।

जसपा भूमिकामा निर्णायक
राष्ट्रियसभामा जसपा नेपाल निर्णायक भूमिकामा रहेको छ। जसपाका तीन सांसदबिना सरकारको अध्यादेश पारित हुन सक्दैन। सरकारलाई जसपाको सहयोग आवश्यक भए पनि जसपा नेपालले भूमि सम्बन्धी अध्यादेशलाई अस्वीकार गरेको छ, जसले अध्यादेश पारित हुने सम्भावनालाई अनिश्चित बनाएको छ।

बाँकी अध्यादेशमा सकारात्मक
भूमिसम्बन्धी अध्यादेश अस्वीकार गरे पनि जसपाले अन्य पाँच वटा अध्यादेशको पक्षमा मत दिने निर्णय गरेको छ।

सत्ता गठबन्धनको प्रयास

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले जसपासँग सहकार्यका लागि पहल गरे पनि जसपाले भूमिसम्बन्धी अध्यादेशमा सहमति नजनाएको स्पष्ट पारेको छ।

राष्ट्रियसभामा कांग्रेस र एमालेको गठबन्धनसँग २९ सांसद छन्, जुन बहुमतको लागि आवश्यक ३० सिटभन्दा एक सिट कम हो। राष्ट्रिय जनमोर्चाले पनि अध्यादेशको विपक्षमा स्पष्ट अडान लिएपछि बल जसपाको कोर्टमा पुगेको छ।

बार्गेनिङ पावर बढेको जसपा
न संघीय न प्रदेश सरकारमा रहेका जसपा नेपालको बार्गेनिङ शक्ति बढेको देखिन्छ। सत्तापक्ष र प्रतिपक्ष दुवैले जसपालाई साथमा लिन चाहेका छन्।

भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगरेको जसपाको निर्णयले राजनीतिक संकट गहिरिन सक्ने देखिन्छ।

वार्ता र सहमतिबाटै पाथीभरा केबलकार विवाद समाधान गरिनुपर्छः गृहमन्त्री लेखक

0

काठमाडौं: गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकारसम्बन्धी विवाद वार्ता र सहमतिमार्फत समाधान गर्न जोड दिनुभएको छ।

सोमबार साँझ गृह मन्त्रालयमा आन्दोलनरत पक्षका वार्ता टोली र सरोकारवालासँगको भेटमा उहाँले आपसी सहमति नै समस्याको एकमात्र समाधान भएको भन्दै सबै पक्षलाई गम्भीर भएर प्रस्तुत हुन आग्रह गर्नुभयो।

गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षबीचको छलफलमा कुनै निष्कर्ष ननिस्किएपछि सोमबार गृहमन्त्रीसँग थप छलफल गरिएको थियो।

भेटमा नेकपा (एमाले) का नेता योगेश भट्टराईसहित आदिवासी जनजातिका नेताहरूको उपस्थिति थियो।

गृहमन्त्री लेखकले शान्तिपूर्ण तरिकाले विवाद समाधान गर्न आग्रह गर्दै सरकार पनि यस विषयमा गम्भीर रहेको बताउनुभयो। छलफलका क्रममा आन्दोलनरत पक्षले उच्चस्तरीय वार्ता टोली गठनको माग गरेको वार्ता टोलीका सदस्य तिवारीले जानकारी दिनुभयो।

धरहरा चढ्ने समय बढ्यो,सञ्चालनको तीन महिना नपुग्दै एक करोड ५२ लाख राजस्व असुल

0

काठमाडौँ: गर्मी बढेसँगै धरहरा अवलोकन समय एक घण्टा थप गरिएको छ। पुनर्निर्माणपछि गत मंसिर ९ गतेदेखि सञ्चालनमा आएको धरहरा अवलोकनको समय यही माघ १५ गतेदेखि बढाइएको हो।

यसअघि माघ १४ गतेसम्म ३ः१५ बजेसम्म मात्र धरहरा चढ्न टिकट काट्न सकिन्थ्यो। अब समय थप गरिँदा ४ः१५ बजेसम्म टिकट काट्न पाइने र साँझ ५ बजेसम्म धरहरा चढ्न सकिने आयोजनाका कायम मुकायम निर्देशक प्रकाश अर्यालले जानकारी दिनुभयो।

उहाँका अनुसार सञ्चालनको तीन महिनामै धरहराबाट प्रवेश शुल्कबापत रु १ करोड ५२ लाख राजस्व सङ्कलन भएको छ। मंसिर ९ गते सर्वसाधारणका लागि धरहरा खुला गरेपछि माघ २४ गतेसम्ममा उक्त राजस्व सङ्कलन भएको हो।

प्रत्येक बुधबार धरहरा बन्द रहने भए पनि अन्य दिन दैनिक झण्डै एक हजार दुई सय नागरिकले धरहरा अवलोकन गर्ने गरेको उहाँले बताउनुभयो।

पछिल्लो समय छिमेकी मुलुकका पर्यटक पनि धरहरा हेर्न आउने गरेका छन्। धरहरा चढ्न प्रतिव्यक्ति रु २०० शुल्क तोकिएको छ भने विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

सार्क राष्ट्रका पर्यटकका लागि प्रतिव्यक्ति रु ५०० र अन्य राष्ट्रका पर्यटकका लागि रु १००० शुल्क तोकिएको छ। निर्देशक अर्यालका अनुसार विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालनमा ल्याइएको हो।

पार्किङ शुल्कका लागि चारपाङ्ग्रे सवारीलाई प्रतिघण्टा रु २० र दुईपाङ्ग्रे सवारीलाई रु १० तोकिएको छ। धरहरा परिसर प्रवेश शुल्क रु ५० निर्धारण गरिएको छ।

धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघण्टा रु ५ हजार, व्यावसायिक भिडिओ छायाङ्कनका लागि प्रतिघण्टा रु ५ हजार, र फोटोग्राफीका लागि प्रतिघण्टा रु १ हजार शुल्क निर्धारण गरिएको निर्देशक अर्यालले जानकारी दिनुभयो।

आपतकालीन कोषमा योगदान गरेकामा डब्लुएचओबाट नेपाललाई धन्यवाद ज्ञापन

0

काठमाडौँ: विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयले नेपालले दक्षिण–पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोषमा योगदान गरेकामा धन्यवाद व्यक्त गरेको छ। डब्लुएचओले जारी गरेको विज्ञप्तिमा नेपाल सरकार र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु १५ लाख (करिब ११ हजार अमेरिकी डलर) को योगदानका लागि आभार प्रकट गरिएको छ।

स्वास्थ्य आपत्कालीन अवस्थाका लागि तयारी र प्रभावकारी प्रतिकार्यमा सहयोग गर्न कोष स्थापना गरिएको हो। थाइल्याण्ड, भारत र टिमोर–लेस्टेपछि यो कोषमा योगदान गर्ने नेपाल चौथो राष्ट्र बनेको छ।

“नेपालको यो योगदान आपत्कालीन कोषप्रतिको सहयोग, स्वामित्व र प्रतिबद्धताको प्रमाण हो। यस कोषलाई पारदर्शी रूपमा सदस्य राष्ट्रहरूको हितमा व्यवस्थापन गरिन्छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

सन् २००७ मा हिन्द महासागरमा आएको सुनामीबाट सिकाइका आधारमा यो कोष स्थापना गरिएको हो। कोषले दक्षिण–पूर्वी एसियाका १० राष्ट्रमा घटेका ४९ आपत्कालीन अवस्थामा सहयोग प्रदान गरिसकेको छ।

नेपालले पनि सन् २००८ को कोशी बाढी, सन् २०१५ को विनाशकारी भूकम्प र सन् २०२३ को जाजरकोट भूकम्प प्रतिकार्यका लागि कोषबाट सहयोग पाएको थियो।

डब्लुएचओका क्षेत्रीय निर्देशक साइमा बाजेदले सदस्य राष्ट्रहरूलाई कुनै पनि ठूलो जनस्वास्थ्य आपत्कालीन अवस्थाको प्रभावकारी प्रतिकार्य गर्न सक्षम बनाउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

जनप्रतिनिधि र पार्टीबीच सुमधुर सम्बन्ध आवश्यक छः महामन्त्री थापा

0

चितवन: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनप्रतिनिधि र पार्टीबीच सुमधुर सम्बन्ध आवश्यक रहेको बताउनुभएको छ। नेपाली कांग्रेस खैरहनी नगर समितिद्वारा आयोजित कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा उहाँले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई पार्टीसँग समन्वय गरी परिणाममुखी काम गर्न आग्रह गर्नुभयो।

महामन्त्री थापाले कांग्रेसमा तल्लो तहदेखि माथिल्लो तहसम्म सबैको हैसियत बराबर रहेको भन्दै सबैले आफ्नो जिम्मेवारीअनुसार पार्टी हितमा योगदान दिनुपर्नेमा जोड दिनुभयो। उहाँले भने, “चैत महिनाभित्र क्रियाशील सदस्यता नवीकरण नभए १५ औँ महाधिवेशनमा भाग लिन पाइँदैन। भ्रातृ सङ्गठनहरूको अधिवेशन चैतभित्रै सम्पन्न गर्न निर्देशन दिएको छ, त्यसअनुसार काममा लागौँ।”

उहाँले आगामी आम निर्वाचनमा कुनै गठबन्धन नहुने स्पष्ट पार्दै भने, “गठबन्धनको पक्षमा रहने व्यक्ति पार्टी सदस्य हुन सक्दैन। त्यसैले पार्टी संगठनलाई अहिलेदेखि नै बलियो बनाउन आवश्यक छ।”

महामन्त्री थापाले वर्तमान सरकारले जनअपेक्षाविपरीत काम गर्न नपाउने चेतावनी दिनुभयो। उहाँले जोड दिँदै भन्नुभयो, “दुई ठूला पार्टीहरूको मिलनबाट बनेको यो सरकारलाई असफल हुन दिनुहुँदैन। यदि यसले काम गर्न सकेन भने अर्को सरकारले समृद्धिको यात्रा तय गर्न कठिन हुनेछ।”

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, चितवन सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, सचिव ध्रुव पोख्रेल, नगर सभापति गुणराज श्रेष्ठलगायतले सम्बोधन गर्नुभएको थियो।

जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने

0

काठमाडौँ: जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने घोषणा गरेको छ। काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा नेपाल र जापानका कम्पनीहरूले ‘नेपाल–जापान सेवा आदान–प्रदान कार्यक्रम’ अन्तर्गत उक्त घोषणा गरेका हुन्।

कार्यक्रममा जापानको जेन्काउ रिसर्च इन्स्टिच्युट, कोजाइ कोसन कर्पोरेसन, प्रोग्रेसिभ स्टाफ एजेन्सी र नेपालका काठमाडौँ विश्वविद्यालय स्कूल अफ मेडिकल साइन्स, सन एन्ड कम्पनी प्रालि र सन्दिपनी ग्रुप अफ एजुकेसनका प्रतिनिधिहरूले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

सन्दिपनी ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक नरेश ओझाले स्वास्थ्य सेवामा कामदार आवश्यक भएकाले नेपालीलाई दक्ष बनाउँदै जापानको रोजगारी अवसर प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको बताउनुभयो।

उहाँले भन्नुभयो, “यसले जापानमा व्यवस्थित रूपमा रोजगारी खोज्न मदत गर्नेछ। १८ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू जापानी भाषाको एन–फोर स्तर उत्तीर्ण गरी तोकिएको सीप परीक्षण पास गरेपछि केयरगिभरको रूपमा जान योग्य हुनेछन्।”

पिएसएसका कार्यकारी निर्देशक चिजो मासुदाका अनुसार भाषा र सीप परीक्षण पास गरेका उम्मेदवारहरूलाई अन्तर्वार्तामार्फत छनोट गरिनेछ। “छनोट भएकालाई नेपालमै आवश्यक सूचना प्रविधि र एआईसम्बन्धी तालिम प्रदान गरिनेछ। यसले रोजगारी खोज्नेहरूलाई झन्झटरहित सेवा दिनेछ। उनीहरूले तीनदेखि पाँच वर्षसम्म रोजगारीको अवसर पाउनेछन्,” उहाँले भन्नुभयो।

जापानमा केयरगिभरका रूपमा काम गर्नेहरूले मासिक दुई लाख जापानी येनसम्म आम्दानी गर्न सक्ने जानकारी दिँदै उहाँले यो कार्यक्रमले नेपालीहरूलाई अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा तालिमद्वारा दक्ष जनशक्ति उत्पादन गर्न मदत गर्ने उद्देश्य रहेको बताउनुभयो।

सुप्रिम सहकारी ठगीमा पूर्व डिआइजी छविलाल जोशी कारागार चलान

0

रुपन्देही: जिल्ला अदालत रुपन्देहीले सुप्रीम सहकारीको रकम ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।

सोमबार न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले थुनछेक बहसपछि जोशीलाई जिल्ला कारागार रुपन्देहीमा थुनामा पठाउने निर्णय गरेको हो। अदालतका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीका अनुसार जोशीलाई कारागार चलान भइसकेको छ।

यस प्रकरणमा सरकारी पक्षबाट जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल र सहायक न्यायाधिवक्ता गोकर्णराज घिमिरेले बहस गरेका थिए। जोशीको तर्फबाट अधिवक्ता मनोजकुमार चौधरी र अपूर्व खतिवडाले बहस गरेका थिए।

ठगी प्रकरणमा जोशीसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, गोर्खा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलगायत अन्य व्यक्ति संलग्न रहेको आरोप छ। उनीहरूलाई बुटवलको सुप्रीम सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप लागेको हो।

यसै प्रकरणमा अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो। जोशी गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष तथा सञ्चालक थिए भने लामिछाने प्रबन्ध निर्देशक थिए।

नाबालिगलाई घरेलु काममा लगाउने एमाले सांसदलाई मुद्दा नचलाउने सरकारी वकिलको निर्णय

0

काठमाडौँ:१४ वर्षीया बालिकामाथि श्रम शोषण र दुर्व्यवहार गरेको आरोप लागेकी लुम्बिनी प्रदेश सभाकी सांसद शर्माको मुद्दा अनुसन्धानमा ढिलाइ भएको छ।

माघ १८ गते जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवालले उक्त मुद्दा नचल्ने निर्णय गरेका थिए। त्यसैको आधारमा माघ २० गते उच्च सरकारी वकिल कार्यालय पाटनलाई पत्राचार गरिएको थियो। सूचना माग गर्दा सरकारी वकिल कार्यालयले अन्तिम निर्णय महान्यायाधिवक्ताको कार्यालयले गर्ने जानकारी दिएको छ।

उच्च सरकारी वकिल कार्यालयले पनि जिल्ला सरकारी वकिल कार्यालयको निर्णय सदर गर्दै माघ २२ गते महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको बताइएको छ।

सांसद शर्माले बालिकालाई पढाइदिने बहानामा दाङबाट काठमाडौँ ल्याएर आठ वर्षदेखि घरेलु कामदारको रूपमा राखेको पाइएको थियो। पीडित बालिकाले कुटपिट र श्रम शोषणको आरोप लगाउँदै काठमाडौँ महानगरलाई सम्पर्क गरेपछि सरोकारवालाको टोलीले बालिकालाई बालुवाटारस्थित शर्माको घरबाट उद्धार गरेको थियो।

बालिकाको आरोपअनुसार उनलाई विद्यालय भर्ना गरे पनि घरेलु काममा लगाइने, पाइप रडले कुटपिट गरिने जस्ता यातना दिइएको थियो। बालिकालाई सेफ हाउसमा राखेर गत जेठ ३० गते सांसद शर्माविरुद्ध काठमाडौँ प्रहरी परिसरमा जाहेरी दर्ता भएको थियो।

तर, प्रहरीले लामो समयसम्म पक्राउ र अनुसन्धान प्रक्रिया अगाडि बढाउन सकेन। शर्माले निषेधाज्ञाको माग गर्दै पाटन उच्च अदालतमा पुगेकी थिइन्, तर साउन २३ गते अदालतले रिट खारेज गरेपछि पक्राउ र अनुसन्धानको बाटो खुलेको थियो।

प्रहरीलाई अनुसन्धान अघि नबढाउन एमाले नेताहरूबाट दबाब आएको आरोप लगाउँदै काठमाडौँ महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत प्रहरीलाई चुनौती दिएका थिए।

यो प्रकरणले बाल अधिकार र श्रम शोषणका मुद्दामा सरकारी निकायको ढिलासुस्ती र राजनीतिक दबाबको गम्भीरता उजागर गरेको छ।

प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना सर्वोच्चमा मुद्दा दायर

0

काठमाडौँ: गिरीबन्धु टी स्टेट सम्बन्धी सर्वोच्च अदालतको आदेश अवज्ञा गरेको आरोपमा अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर गरेका छन्।

सोमबार दर्ता भएको यो मुद्दामा अर्यालले भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई पनि विपक्षी बनाएका छन्। सर्वोच्च प्रशासनले मुद्दा दर्ता गर्दै फागुन ४ गतेका लागि पेसी तोकेको छ।

परमादेश अवज्ञाको गम्भीर आरोप
अर्यालका अनुसार सर्वोच्च अदालतको संवैधानिक इजलासले माघ २४, गत वर्ष, गिरीबन्धु टी स्टेटसँग सम्बन्धित विषयमा परमादेश जारी गरेको थियो। तर प्रधानमन्त्री ओलीले उक्त आदेश कार्यान्वयन नगरेर लगातार अवरोध सिर्जना गरेको दाबी गरिएको छ।

‘प्रधानमन्त्रीज्यूले विगत सात महिनादेखि परमादेश कार्यान्वयनमा अवरोध गर्दै आउनुभएको छ,’ निवेदनमा भनिएको छ, ‘२०८१ साल माघ २ गते कपटपूर्ण अध्यादेश जारी गराएर फैसलाको कार्यान्वयनमा बाधा पुर्याउन खोजिएको छ।’

भूमि बिक्रीको विवादास्पद प्रावधान
अर्यालको भनाइमा कपटपूर्ण अध्यादेशमार्फत हदबन्दी छुट भएका जग्गा व्यक्तिगत रूपमा बिक्री गर्न सकिने व्यवस्था गरिएको छ, जसले सर्वोच्चको आदेशको प्रत्यक्ष उल्लंघन गरेको छ।

पदमुक्तिको माग
अधिवक्ता अर्यालले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गरेका छन्। ‘फैसला कार्यान्वयन गर्नुको साटो उल्टै भूमि सम्बन्धी अध्यादेश ल्याएर परमादेशको अवज्ञा गरिएको छ,’ अर्यालले निवेदनमा उल्लेख गरेका छन्।

यो मुद्दाले कार्यपालिका र न्यायपालिकाबीचको सम्बन्धमा नयाँ बहस सिर्जना गर्ने देखिएको छ।

संसद भवन प्रवेश प्रयासको आरोपमा अभियन्ता सुनार पक्राउ

0

काठमाडौं: संघीय संसद् भवन प्रवेश प्रयासको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दलित अभियानका अभियन्ता खगेन्द्र सुनुवार छन्।

प्रहरीका अनुसार सुनुवार मिनभवनबाट बानेश्वरतर्फ संसद् भवन जान खोजेपछि नियन्त्रणमा लिइएको हो। उनलाई पक्राउ गरी बानेश्वर वृत्तमा लगिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकारीले निषेधित क्षेत्रमा प्रवेश प्रयास गरेपछि सुनुवारलाई नियन्त्रणमा लिएको जानकारी दिए।