काठमाडौं:गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले विदेशमा रहेका नेपालीको लगानी नेपालमा भित्र्याउन संविधानले प्रदत्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रभावकारी कार्यान्वयन अनिवार्य भएको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित उद्योग–वाणिज्य प्रवर्द्धन संवाद परिषद्को बैठकमा उनले संविधानमा व्यवस्था गरिएका अधिकार उपभोग गर्न आवश्यक कानुन निर्माणको गति तीव्र भए मात्र एनआरएनको लगानी सहज रूपमा भित्रने उल्लेख गरे।
“नेपालमा लगानी गर्न धेरै नेपाली इच्छुक छन्, तर कानुनी प्रक्रियाकै कारण समस्या उत्पन्न हुन्छ,” उनले भने, “कम्पनी खोल्नै राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने अवस्था छ, तर एनआरएनका लागि यसबारे कानुनी स्पष्टता छैन। यदि परिचयपत्र अनिवार्य हो भने, त्यसका लागि उचित कानुनी व्यवस्था पनि आवश्यक छ।”
उनले संविधानले गैरआवासीय नेपालीलाई आर्थिक अधिकार प्रदान गरे पनि त्यसको उपभोग गर्न नसकेको उल्लेख गर्दै सरकारको लगानीमैत्री नीति मात्र पर्याप्त नभएको, संविधान प्रदत्त अधिकारको कार्यान्वयनमा पनि जोड दिनुपर्ने धारणा राखे।
कानुनी संशोधनबिना लगानी कठिन
बैठकमा डा. केसीले नेपालमा लगानी सहज बनाउन संसदमा जारी हिउँदे अधिवेशनबाटै ‘एनआरएन एक्ट’, अध्यागमन, मालपोत, सम्पत्ति, कम्पनी, बैंक तथा वित्तीय प्रणाली सम्बन्धी कानुनहरू संशोधन गर्न आग्रह गरे।
प्रधानमन्त्री ओलीको प्रतिबद्धता
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित क्षेत्रका आवश्यकताअनुसार कानुन निर्माण तथा संशोधन गरिने बताउँदै “आर्थिक समृद्धिका लागि सरकार एनआरएन तथा निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ” भन्ने प्रतिबद्धता व्यक्त गरे।
१० अर्बको प्रारम्भिक लगानी, दीर्घकालीन लक्ष्य ५० अर्ब
डा. केसीका अनुसार गैरआवासीय नेपाली संघले एनआरएन नेपाल डेभलपमेन्ट फण्डमार्फत प्रारम्भमा १० अर्ब र विस्तारै ५० अर्बसम्म लगानी भित्र्याउने लक्ष्य लिएको छ। तर, कानुनी सहजता बिना यो प्रक्रिया अघि बढ्न कठिन हुने भएकाले सरकारबाट मार्गप्रशस्त गरिनुपर्ने उनले बताए।
संवाद परिषद्को पृष्ठभूमि
सार्वजनिक–निजी क्षेत्रबीच नियमित संवाद गर्दै आर्थिक विकासमा सहकार्य गर्न २०७५ असोज ५ गते मन्त्रिपरिषद्को निर्णयअनुसार गठित उद्योग–वाणिज्य प्रवर्द्धन संवाद परिषद् सञ्चालनमा आएको हो। हालै प्रधानमन्त्रीले गैरआवासीय नेपाली संघ, नेपाल उद्योग वाणिज्य महासंघलगायतका प्रतिनिधिहरूलाई परिषद्को सदस्यमा मनोनीत गरेपछि बैठक सम्पन्न भएको हो।