खाँदबारी (सङ्खुवासभा): सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गका छुट मुआब्जा पीडितले १६ वर्षपछि क्षतिपूर्ति पाएका छन्।
छ्याङ्कुटी–दिदिङ सडकखण्डअन्तर्गत पर्ने २४.५ किलोमिटर लामो प्रवेश मार्गका जग्गाधनीलाई मुआब्जा वितरण गर्न सुरु गरिएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए। सर्वोच्च अदालतको आदेशअनुसार चार सय ५४ रोपनी जग्गाका लागि मुआब्जा वितरण थालिएको हो।
हालसम्म मुआब्जावापत रु ४ करोड ८८ लाख पीडितको खातामा भुक्तानी भइसकेको छ। खाँदबारी नगरपालिका–४, छ्याङ्कुटीदेखि चिचिला गाउँपालिका–२, दिदिङसम्मको सडकखण्डमा पर्ने जग्गाधनीले लामो समयदेखि छुट मुआब्जाको माग गरिरहेका थिए। विसं २०८० वैशाख २६ गते मुआब्जा निर्धारण समितिले प्रति रोपनी रु ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो।
यसअघि, २०४६ सालमै उक्त सडकखण्डका केही भागका जग्गाधनीले मुआब्जा पाएको भए पनि छुट जग्गाका मालिकले क्षतिपूर्ति पाएका थिएनन्। अन्ततः माघ ९ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवाला तथा सर्वदलीय बैठकले मुआब्जा वितरण प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।
यसैबीच, अरुण तेस्रो जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको एक वर्षभित्र स्थानीयलाई सेयर दिने प्रतिबद्धता जनाएको छ। हाल परियोजनामा नेपाली तथा भारतीय नागरिकसहित करिब ४,००० कामदार कार्यरत छन्।


