चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मध्यरातदेखि मतदान सुरु भएको छ।
असार ७ गतेदेखि जारी महाधिवेशन विभिन्न प्रक्रियागत कारणले लम्बिएपछि असार ११ गतेको पहिलो घण्टा अर्थात् राति १२ बजेदेखि मतदान प्रक्रिया सुरु गरिएको हो।
पार्टी स्रोतका अनुसार उम्मेदवारहरूको अन्तिम नामावली राति करिब ११ः३० बजे सार्वजनिक गरिएपछि लगत्तै विद्युतीय मतदान सुरु गरिएको थियो।
मतदान सुरु भएको केही घण्टामै प्रतिनिधिहरूको उल्लेख्य सहभागिता देखिएको छ। हालसम्म करिब १ हजार ८ सय मत खसिसकेको जनाइएको छ।
रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान भइरहेको छ। मतदान प्रक्रिया सम्पन्न भएपछि मतगणना गरी नतिजा सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।


