Thursday, June 25, 2026
Home Blog Page 557

मधेश प्रदेशकै सर्वाधिक धनराशीको दोस्रो वीरगञ्ज गोल्डकप फागुन १७ देखि

0

वीरगञ्ज: मधेश प्रदेशकै सर्वाधिक धनराशिको दोस्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता आगामी फागुन १७ देखि २४ गतेसम्म वीरगञ्जको आदर्शनगर रंगशालामा हुने भएको छ। भेट्रान सिटी क्लब वीरगञ्जको आयोजनामा हुने प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आठ फुटबल टोली सहभागी हुनेछन्।

प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ। भेट्रान सिटी क्लबका अध्यक्ष सबिन बस्नेतले मधेश प्रदेशमा फुटबलको विकासका लागि यो प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “पछिल्लो समय वीरगञ्जमा फुटबलका गतिविधि सुस्ताएपछि यो प्रतियोगिता पुनः खेलकुदको विकासमा टेवा पुर्याउन आयोजना गर्न लागिएको हो।”

प्रतियोगितामा संकटा फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, बागमती युथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, गरवाल डाइमण्ड फुटबल क्लब दिल्ली, एपीआई चर्च ब्वाइज युनाइटेड काठमाडौं, सलहेश फुटबल क्लब सिरहा र आयोजक वीरगञ्ज युनाइटेड क्लबले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेता टोलीलाई नगद ११ लाख ११ हजार १११ रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता टोलीलाई नगद पाँच लाख ५५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका कोषाध्यक्ष तथा प्रतियोगिता संयोजक सुबोधकुमार श्रीवास्तवले जानकारी दिनुभयो।

प्रतियोगिता सञ्चालनका लागि आदर्शनगर रंगशालाको मैदान मर्मत कार्य अन्तिम चरणमा पुगेको श्रीवास्तवले जानकारी दिनुभयो। “दुई महिनादेखि मैदानको मर्मत कार्य तिव्र रुपमा भइरहेको छ,” उहाँले बताउनुभयो।

दर्शकलाई लक्षित गर्दै करिब दुई हजार दर्शक अट्ने अस्थायी प्याराफिट निर्माणको कार्य तीव्र रुपमा भइरहेको छ। ग्राउन्डमा थप तीन हजार दर्शक अटाउने क्षमता रहेको आयोजकले जनाएको छ।

प्रतियोगिता संयोजक श्रीवास्तवले वीरगञ्जमा फुटबल गतिविधि फेरि जुर्मुराउन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। “विगतमा सहिद तेजबहादुर अमात्य गोल्डकप र विशाल मेमोरियल गोल्डकपजस्ता प्रतियोगिता हुँदै आएका थिए। स्थानीय फुटबल खेलाडीको प्रतिभा प्रकट गर्न यो प्रतियोगिताले महत्वपूर्ण प्लेटफर्म दिनेछ,” उहाँले थप्नुभयो।

प्रथम वीरगञ्ज गोल्डकप २०८० को कात्तिकमा आयोजना गरिएको थियो। उक्त संस्करणमा नेपाल पुलिस क्लब विजेता र नेपाल आर्मी क्लब उपविजेता बनेका थिए।

केबलकार विवादः वार्ताद्वारा समस्या समाधान गर्न अनुरोध

0

काठमाडौँ: पाथिभरा क्षेत्रको केबलकार निर्माणमा उत्पन्न विवाद समाधान गर्न सरकारी पक्ष र आन्दोलनरत समूहबीच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ। सरकारले वार्तामार्फत समस्या समाधान गर्न पुनः आग्रह गरेको छ।
सरकारी वार्ता टोलीका संयोजक तथा गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले भन्नुभयो, “वार्ता निष्कर्षमा पुग्न सकेन। हामीले वार्ताका माध्यमबाट समस्याको समाधान गर्न अनुरोध गरेका छौँ।”

गृह मन्त्रालयले आज राति जारी गरेको विज्ञप्तिमा सरकारको वार्ता टोली समस्याको समाधानका लागि संवाद गर्न सदैव तयार रहेको उल्लेख गरिएको छ। मन्त्रालयले विवाद वार्तामार्फत समाधान गर्न पुनः आग्रह गरेको छ।

यसैबीच, आन्दोलनरत पक्षको प्रतिनिधित्व गरेको वार्ता टोलीले अब कर्मचारीस्तरको वार्ता नगर्ने स्पष्ट पारेको छ। “भोलि गृहमन्त्री रमेश लेखकसँग छलफल हुनेछ,” वार्ता टोलीका सदस्य सरस्वता सिङ्गक (सरु) ले राससलाई जानकारी दिनुभयो।

अमेरिकी सरकारी विभागको प्रणालीमा प्रवेश गर्ने एलन मस्कको प्रयास अदालतले रोकिदियो

0

काठमाडौं। अमेरिकाका एक संघीय न्यायाधीशले एलन मस्कलाई ट्रेजरी विभागमा राखिएका लाखौं अमेरिकीहरूको व्यक्तिगत वित्तीय तथ्यांकमा पहुँच गर्नबाट रोक लगाएका छन्।

अमेरिकी जिल्ला न्यायाधीश पल ए. एन्जेलमेयरले शनिबार जारी गरेको प्रारम्भिक आदेशअनुसार मस्क र उनको टोलीलाई यी रेकर्डहरूको कुनै पनि प्रतिलिपि तुरुन्तै नष्ट गर्न आदेश दिइएको छ।

यस विषयको जड ट्रम्प प्रशासनको निर्णयमा रहेको छ। प्रशासनले मस्कको नेतृत्वमा सञ्चालित तथाकथित ‘सरकारी दक्षता विभाग’ लाई ट्रेजरी विभागको रेकर्डमा पहुँच दिन अनुमति दिएको थियो। मस्कको विभागले ‘लागत कटौती’ अभियानमा काम गरिरहेको थियो।

तर यो कदमले विवाद निम्त्यायो। १९ राज्यका महान्यायाधिवक्ताहरूले ट्रम्प प्रशासनको उक्त निर्णयविरुद्ध मुद्दा दायर गरे। त्यसपछि न्यायाधीश एन्जेलमेयरले मस्कलाई डेटा पहुँचबाट रोक लगाउने आदेश दिएका हुन्।

न्यायाधीशले मस्कलाई ‘विशेष सरकारी कर्मचारी’ मात्र भएको र उनको ‘सरकारी दक्षता विभाग’ कुनै आधिकारिक सरकारी निकाय नभएको स्पष्ट पारे। यस्तो अवस्थामा ट्रेजरी विभागको गोप्य रेकर्डमा पहुँच संघीय कानूनको उल्लङ्घन भएको न्यायाधीशको ठहर छ।

यद्यपि, सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा मस्कले प्रतिक्रिया दिँदै यो निर्णयलाई ‘बिल्कुल असमझदार’ भनेका छन्।

दक्षिण कोरियामा नेपाली कामदारहरूबीचको विवाद बढ्दो, कानूनी चुनौती गम्भीर

0

सोल। पछिल्लो समय दक्षिण कोरिया नेपाली युवायुवतीको रोजगारीका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। यहाँको द्रुत आर्थिक विकास, आधुनिक जीवनशैली, उच्च पारिश्रमिक, सुरक्षित कार्य वातावरण र रोजगारीका अवसरहरूले लाखौँ विदेशी कामदारहरूलाई आकर्षित गरिरहेको छ।

तर कोरियामा रहेका आप्रवासी कामदारहरूको जीवन सहज मात्र छैन। श्रम शोषण, भाषा अवरोध, मानसिक तनाव, र आपसी द्वन्द्वजस्ता समस्याहरूले उनीहरूको दैनिकीलाई चुनौतीपूर्ण बनाइरहेको छ।

नेपाली कामदारहरूको बीचमा इर्ष्या, प्रतिष्पर्धा र झगडाका घटना बढ्दै गएपछि यसले कानूनी समस्या सिर्जना गर्न थालेको छ। उदाहरणस्वरूप, गोरखाका पदम आले, जो आठ वर्षअघि रोजगार प्रक्रिया प्रणालीमार्फत कोरिया आएका थिए, सहकर्मी नेपालीले मालिकसँग नकारात्मक कुरा फैलाएपछि आफ्नो कम्पनी परिवर्तन गर्न बाध्य भए।

बझाङका प्रदीप रावत पनि कम्पनीमा अन्य नेपाली ल्याउन चाहन्थे। तर केही सहकर्मीहरूले अनावश्यक भ्रम फैलाउने प्रयास गर्दा कम्पनी अवलोकन गर्न आएका नेपालीहरूले काम नगर्ने निर्णय लिएका छन्।

एक अन्य घटनामा थेगुको एक उद्योगमा दुई नेपाली कामदारबीच तलब र जिम्मेवारीका विषयमा विवाद भएपछि हातपातको स्थिति सिर्जना भयो। सहकर्मीको उजुरीपछि एक व्यक्तिलाई तीन महिनाको जेल सजाय र दुबैलाई कामबाट निकालिएको थियो।

इछन क्षेत्रमा पनि खानाको विषयमा दुई नेपाली महिलाबीचको विवाद हात हालाहालमा परिणत भयो। प्रहरीले नियन्त्रणमा लिएर कानूनी प्रक्रिया अगाडि बढाएपछि उनीहरू कामबाट बर्खास्त भई नेपाल फर्किन बाध्य भए।

सहकर्मीबीचको इर्ष्या, आर्थिक ठगी, मदिरा सेवन र व्यक्तिगत विवादले गर्दा सहकार्यको वातावरणमा कमी देखिएको छ।

दक्षिण कोरिया सरकारले कानूनी दायित्वलाई कडाइका साथ पालन गराउने भएकाले यहाँका कामदारहरूलाई कानूनी र कार्यस्थलका नियमहरूको पालना गर्न विशेष सचेत रहनुपर्ने दूतावास स्रोतले बताएको छ।

दूतावासले सहकर्मीबीचको विवादलाई सौहार्दपूर्ण संवादबाट समाधान गर्न सुझाव दिएको छ। कानूनी प्रक्रियाको पालना र सहकर्मी तथा रोजगारदातासँग सकारात्मक सम्बन्धले मात्र कामदारहरूको भविष्य सुरक्षित रहन सक्छ।

प्रहरी एआइजी रविन्द्र केसीले दिए राजीनामा

0

काठमाडौँ: नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रविन्द्र केसीले राजीनामा दिएका छन्। पुस २६ गते डिआइजीबाट बढुवा भई एआइजी बनेका केसीले प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएको स्रोतले जनाएको छ।

केसीको पदावधि चैत ५ गतेसम्म बाँकी थियो, तर उनले कार्यकाल समाप्त हुनुअगावै राजीनामा दिएका हुन्। राजीनामाको कारण खुलेको छैन। उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए।

केसीको राजीनामाबारे सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने अपेक्षा गरिएको छ।

ठमेलमा प्रहरीमाथि आक्रमण, दुई जना पक्राउ

0

काठमाडौँ: ठमेलमा प्रहरीमाथि आक्रमण तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। दरबारमार्ग प्रहरी वृत्तबाट खटिएको टोलीमाथि माघ २४ गते सार्वजनिक सडकमा हो-हल्ला गर्दै हिँडिरहेका ५/६ जनाको समूहले आक्रमण गरेको थियो।

घटनापछि फरार भएकाहरूको खोजीमा रहेका प्रहरी अधिकारीहरूले काठमाडौँ महानगरपालिका-९ स्थित एयरपोर्ट नजिकैबाट दुई जनालाई पक्राउ गरेका छन्।

पक्राउ परेका व्यक्तिहरूमा ताप्लेजुङ फुङलिङ नगरपालिका-१ स्थायी घर भई हाल काठमाडौँको लैनचौरमा बस्दै आएका २५ वर्षीय दिनेश सिग्देल र डडेल्धुरा गन्यापधुरा गाउँपालिका-५ स्थायी घर भई हाल लैनचौरमा बस्दै आएका रमेश फुलारा छन्। दिनेश सिग्देल अनेरास्ववियु अमृत साइन्स क्याम्पस कमिटीका उपाध्यक्ष हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पक्राउ परेका दुवै जनामाथि अभद्र व्यवहार मुद्दामा अनुसन्धान भइरहेको छ। जिल्ला प्रशासन कार्यालय बबरमहलबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।

बेलायती राजकुमार पनि आइपुगे नेपाल

0

काठमाडौँ । बेलायती राजकुमार एडवार्ड नेपाल आइपुगेका छन्। आज बिहान उनकी श्रीमती राजकुमारी सोफिया पनि नेपाल आएकी थिइन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजकुमारको आगमनको क्रममा परराष्ट्र मन्त्रालयका अधिकारीहरू र नेपालस्थित बेलायती दूतावासका प्रतिनिधिहरूले स्वागत गरेका थिए।

जानकारीअनुसार, राजकुमार दिल्ली हुँदै र राजकुमारी लन्डन हुँदै फरक–फरक उडानमार्फत नेपाल आइपुगेका हुन्।

पाथीभरा केबलकार विवादः वार्ता निष्कर्षविहीन, बैठक आज पनि बस्दै

0

काठमाडौं: ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजनासम्बन्धी विवाद समाधान गर्न सोमबार राति भएको वार्ता सकारात्मक रूपमा टुंगिएको छ।

सरकारद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षबीच ललितपुरमा भएको छलफल सकारात्मक भए पनि ठोस निष्कर्षमा पुग्न सकेन।

सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रेमप्रसाद भट्टराईले वार्ता सकारात्मक भए पनि सहमति हुन बाँकी रहेको जानकारी दिए। “वार्ता सकारात्मक भयो तर कुनै निष्कर्षमा पुग्न सकेनौं। आज बिहान ११ बजे पुनः वार्ता बस्ने सहमति भएको छ,” उनले भने।

प्रमुख मागहरू
वार्ताका क्रममा आन्दोलनरत पक्षले केबलकार निर्माण स्थगित गर्नुपर्ने र पक्राउ परेका व्यक्तिहरूलाई रिहा गर्नुपर्ने माग राखेका छन्।

अर्को चरणको वार्ता
वार्ता टोलीहरूबीच आज बिहान ११ बजे पुनः वार्ता बस्ने सहमति भएको छ।

विश्व क्यान्सर दिवस: नेपालमा मृत्यु हुनेमध्ये ११ प्रतिशत क्यान्सर पीडित

0

काठमाडौँ: आज विश्वभर ‘विश्व क्यान्सर दिवस’ मनाइँदै छ। यस वर्षको नारा ‘पृथकतामा एकता: क्यान्सर भोगाइका कथाहरू’ राखिएको छ। पछिल्लो समय नसर्ने रोगहरू विश्वव्यापी चुनौती बनेका छन्, जसमा क्यान्सर मृत्युदरको हिसाबले दोस्रो स्थानमा पर्छ।

विश्वव्यापी तथ्यांक

सन् २०२२ को एक अध्ययनले विश्वभर झन्डै दुई करोड क्यान्सरपीडित रहेको देखाएको छ। जसमध्ये ९७ लाखभन्दा बढीले ज्यान गुमाएका छन्।

नेपालको अवस्था

नेपालमा पनि नसर्ने रोगको भार बढ्दो छ। एक दशकमा क्यान्सर रोगीको संख्या १३ प्रतिशतले बढेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। सन् २०२२ मा नेपालमा २२ हजार नयाँ क्यान्सर बिरामी थपिएका थिए, जसमध्ये १४ हजारभन्दा बढीले ज्यान गुमाए।

क्यान्सरका मुख्य प्रकारहरू:

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ओन्कोलोजिस्ट डा. कृष्णसागर शर्माका अनुसार नेपालमा फोक्सो, स्तन, र पाठेघरको क्यान्सर बढी देखिन्छ।

महिलामा पाठेघरको क्यान्सर पहिलो स्थानमा छ भने दोस्रोमा स्तन क्यान्सर र तेस्रोमा पेटको क्यान्सर पर्छ।
पुरुषमा फोक्सो, प्रोस्टेट, र मुख वरिपरिका क्यान्सर प्रचलित छन्।

क्यान्सरको कारण र रोकथाम

विशेषगरी खराब जीवनशैली, अस्वस्थ खानपिन र शारीरिक गतिविधिको कमी क्यान्सरका प्रमुख कारण हुन्।
डा. शर्माका अनुसार चुरोट, सूर्तीजन्य पदार्थको सेवन तथा पोलेको मासुको सेवनले क्यान्सरको जोखिम बढाउँछ।
उनले स्वस्थ जीवनशैली अपनाउन, सन्तुलित खाना खाने, व्यायाम गर्ने, धूम्रपान तथा मादक पदार्थको सेवन नगर्न सुझाव दिए।

सरकारी प्रयास

स्वास्थ्य मन्त्रालयले क्यान्सर नियन्त्रणका लागि विभिन्न कार्ययोजना अघि सारेको छ।

आज कक्षा ६ देखि १० सम्मका बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क खोप प्रदान गरिनेछ।
स्तन, फोक्सो, र ब्लड क्यान्सरका निदानका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्।
राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३० अन्तर्गत ९ वटा रणनीति र ६० भन्दा बढी कार्यविधि रहेका छन्।
निःशुल्क औषधि वितरण:
डा. प्रकाश बुढाथोकीका अनुसार ३५ प्रकारका क्यान्सर उपचारमा प्रयोग हुने औषधि माघको अन्त्यसम्म आउने अपेक्षा छ। ती औषधिहरू निःशुल्क उपलब्ध गराउने पहल भइरहेको छ।

सरकारी प्रयाससँगै नागरिकले आफ्नो स्वास्थ्यमा सचेत रहनुपर्ने आवश्यकता रहेको डा. बुढाथोकीले बताए।

अमेरिकी डलरको भाउ उकालो लाग्यो

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलर एकको खरिद दर १ सय ३९ रूपैयाँ २० पैसा र बिक्री दर १ सय ३९ रूपैयाँ ८० पैसा कायम भएको छ। अघिल्लो दिनको तुलनामा डलरको मूल्य आज पुनः बढेको हो।

युरोपियन युरो एकको खरिद दर १ सय ४२ रूपैयाँ ५२ पैसा र बिक्री दर १ सय ४३ रूपैयाँ १३ पैसा रहेको छ भने युके पाउन्ड स्ट्रलिङको खरिद दर १ सय ७१ रूपैयाँ २६ पैसा र बिक्री दर १ सय ७२ रूपैयाँ रहेको छ।

स्वीस फ्र्याङ्क एकको खरिद दर १ सय ५१ रूपैयाँ ७७ पैसा र बिक्री दर १ सय ५२ रूपैयाँ ४३ पैसा कायम गरिएको छ।

त्यस्तै, अष्ट्रेलियन डलरको खरिद दर ८५ रूपैयाँ ४५ पैसा र बिक्री दर ८६ रूपैयाँ ८२ पैसा, क्यानेडियन डलरको खरिद दर ९४ रूपैयाँ ७२ पैसा र बिक्री दर ९५ रूपैयाँ १२ पैसा रहेको छ।

सिङ्गापुर डलरको खरिद दर १ सय १ रूपैयाँ ७४ पैसा र बिक्री दर १ सय २ रूपैयाँ १८ पैसा कायम गरिएको छ।

जापानी येन १० को खरिद दर ९ रूपैयाँ र बिक्री दर ९ रूपैयाँ ४ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिद दर १९ रूपैयाँ २० पैसा र बिक्री दर १९ रूपैयाँ २८ पैसा रहेको छ।

साउदी रियालको खरिद दर ३७ रूपैयाँ ११ पैसा र बिक्री दर ३७ रूपैयाँ २७ पैसा, कतारी रियालको खरिद दर ३८ रूपैयाँ १८ पैसा र बिक्री दर ३८ रूपैयाँ ३५ पैसा कायम भएको छ।

थाई भाटको खरिद दर ४ रूपैयाँ ९ पैसा र बिक्री दर ४ रूपैयाँ ११ पैसा, युएई दिरामको खरिद दर ३७ रूपैयाँ ९० पैसा र बिक्री दर ३८ रूपैयाँ ६ पैसा तोकिएको छ।

केन्द्रीय बैंकका अनुसार मलेसियन रिङ्गेटको खरिद दर ३१ रूपैयाँ ११ पैसा र बिक्री दर ३१ रूपैयाँ २४ पैसा रहेको छ भने साउथ कोरियन वन १०० को खरिद दर ९ रूपैयाँ ४९ पैसा र बिक्री दर ९ रूपैयाँ ५३ पैसा रहेको छ।

स्वीडिस क्रोनरको खरिद दर १२ रूपैयाँ ३९ पैसा र बिक्री दर १२ रूपैयाँ ४५ पैसा, डेनिस क्रोनरको खरिद दर १९ रूपैयाँ १० पैसा र बिक्री दर १९ रूपैयाँ १८ पैसा तोकिएको छ।

हङकङ डलरको खरिद दर १७ रूपैयाँ ८६ पैसा र बिक्री दर १७ रूपैयाँ ९४ पैसा कायम गरिएको छ भने कुवेती दिनारको खरिद दर ४५० रूपैयाँ ४६ पैसा र बिक्री दर ४५२ रूपैयाँ ४० पैसा तोकिएको छ।

त्यस्तै, बहराइन दिनारको खरिद दर ३६९ रूपैयाँ २२ पैसा र बिक्री दर ३७० रूपैयाँ ८१ पैसा, ओमानी रियालको खरिद दर ३६१ रूपैयाँ ५७ पैसा र बिक्री दर ३६३ रूपैयाँ १३ पैसा रहेको छ।

भारतीय रूपैयाँ १०० को खरिद दर १ सय ६० रूपैयाँ र बिक्री दर १ सय ६० रूपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले यो विनिमय दर आवश्यकतानुसार कुनै पनि समय परिवर्तन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने दर फरक हुन सक्ने र अद्यावधिक विनिमय दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।