Friday, June 26, 2026
Home Blog Page 532

बलुचिस्तानमा रेल अपहरण प्रकरण: चीनको कडा प्रतिक्रिया

0

काठमाडौं: बलुचिस्तानमा बलुच लिबरेशन आर्मी (बीएलए) द्वारा रेल अपहरण गरी २०० भन्दा बढी पाकिस्तानीहरूलाई बन्धक बनाइएको घटनाप्रति चीनले गहिरो चिन्ता व्यक्त गरेको छ। चीनले आक्रमणको निन्दा गर्दै आतंकवाद विरोधी सहयोगलाई सुदृढ पार्ने प्रस्ताव राखेको छ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले पाकिस्तानसँग सुरक्षा सहयोग बढाउने प्रस्ताव राख्दै बुधबार आयोजित मिडिया ब्रिफिङमा चीनले घटनाको कडा निन्दा गरेको बताइन्। उनले भनिन्, “चीन सबै प्रकारका आतंकवादी गतिविधिको विरोध गर्दछ। आतंकवादविरुद्धको लडाइँमा पाकिस्तानलाई निरन्तर समर्थन गर्नेछ, ताकि यस क्षेत्रमा शान्ति, सुरक्षा, र स्थायित्व कायम रहोस्।”

चीन-पाकिस्तान आर्थिक करिडोर (CPEC) अन्तर्गत चीनले पाकिस्तानमा ६० अर्ब डलरभन्दा बढी लगानी गरिसकेको छ। परियोजनामा संलग्न चिनियाँ नागरिकहरूमाथि निरन्तर आक्रमण भइरहेका घटनाले बेइजिङलाई थप चिन्तित बनाएको छ।

बीएलएले चीन-पाकिस्तान आर्थिक करिडोरलाई बलुचिस्तानको प्राकृतिक स्रोतसाधन दोहन गर्ने परियोजना भन्दै आलोचना गर्दै आएको छ। यसै कारण, परियोजनासँग सम्बन्धित चिनियाँ नागरिकहरू पटक-पटक आक्रमणको निशानामा परेका छन्।

यसअघि, सुरक्षा सुनिश्चित गर्न चीनले पाकिस्तानसँग आफ्ना सेना पठाउने प्रस्ताव राखेको थियो। तर, पाकिस्तानले उक्त प्रस्ताव अस्वीकार गरेको बताइएको छ। पाकिस्तानमा बढ्दो सुरक्षा चुनौतीका कारण चीनले इस्लामाबादसँग आतंकवाद विरोधी रणनीति सुदृढ पार्ने संकेत गरेको छ।

प्रतिकूल मौसमका कारण काठमाडौं एक सातादेखि विमानस्थलमा उडान प्रभावित

0

काठमाडौं: एयर अरेबियाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भएको छ। आज दिउँसो १:०५ बजे काठमाडौं विमानस्थलमा अवतरण गर्ने क्रममा जहाजले नरेफाँटमाथिबाट एक्कासी ओभरसुट गरेको हो।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार हावाको गति नमिल्दा ‘विन्ड सियर’ भएको कारणले जहाज मिस एप्रोच गर्न बाध्य भएको थियो। “एप्रोच लिँदा दुई तर्फको हावा असन्तुलित हुँदा भुमरीजस्तो हुनेलाई ‘विन्ड सियर’ भनिन्छ, जसका कारण जहाज हल्लिएर अवतरण सम्भव भएन,” शेर्पाले जानकारी दिए।

त्यस्तै, नयाँ दिल्लीबाट आएको एयर इण्डियाको जहाज सिमरा क्षेत्रको आकाशमा चार फन्को मारेपछि बल्ल काठमाडौंमा अवतरण गर्न सफल भयो। बैंककबाट आएको थाइ लाइन एयरको जहाज पनि केहीबेर होल्डमा परेको थियो।

यसअघि, जापानको नारिताबाट आएको नेपाल एयरलाइन्सको जहाज, कतार एयरवेज, एयर इन्डिया, बाटिक एयर, र फ्लाई दुबईका जहाजहरू पनि प्रतिकूल मौसमका कारण होल्ड भएका थिए। आन्तरिक उडानमा पनि असर परेको छ। भैरहवाबाट आएको फ्लाइ दुबई, धनगढीबाट आएको बुद्ध एयर, र पोखराबाट आएको यति एयरलाइन्सका विमान न्यून भिजिबिलिटीका कारण होल्डमा परेका थिए।

पछिल्लो एक सातादेखि मौसम खराबीका कारण मुलुकभर हवाई उडान प्रभावित भएको छ। नेपालमा प्रि-मनसुन गतिविधि सक्रिय रहेकाले वर्षा गराउने मौसमी प्रणाली विकसित भइरहेछ, जसले न्यून भिजिबिलिटी र हावाको असन्तुलन सिर्जना गरिरहेको छ।

अन्तर्राष्ट्रिय उडानका जहाज काठमाडौं विमानस्थलको पश्चिमतर्फ ‘जिरो टु’ बाट मात्र अवतरण गर्नुपर्ने भएकाले मौसम प्रतिकूल हुँदा समस्या अझै बढी देखिएको छ। आन्तरिक उडानका लागि भने दुवैतर्फबाट अवतरण गर्न मिल्ने भएकाले तुलनात्मक रूपमा कम असर परेको विमानस्थल कार्यालयले जनाएको छ।

बुधबार राति काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो। जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि कोशी, बागमती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा अपराह्नतिर मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

काठमाडौं उपत्यकाका १२० बढी स्थानमा चेकिङ, १२ जना पक्राउ

0

काठमाडौं: होली पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरीले बिहानैदेखि मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउनेविरुद्ध कडाइ गरेको छ।

काठमाडौं उपत्यकाका तीनै जिल्ला—काठमाडौं, ललितपुर, र भक्तपुरमा ट्राफिक प्रहरीले जाँच अभियान तीव्र पारेको छ। बालाजु चोक, दरबारमार्ग लगायतका प्रमुख स्थानहरूमा कडाइ गरिएको छ।

होली पर्वको अवसरमा उच्छृंखल गतिविधि, जथाभावी लोला हान्ने, मापसे गरी सवारी चलाउने जस्ता घटनाहरू बढ्न सक्ने भएकाले प्रहरीले निगरानी कडा बनाएको हो।

काठमाडौं उपत्यकाका १२० भन्दा बढी स्थानमा नेपाल प्रहरीले चेकजाँच गरिरहेको छ। ट्राफिक प्रहरीको टोलीले मापसे गरेर सवारी चलाएका चालकलाई नियन्त्रणमा लिइरहेको छ।

यसैबीच, अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट १२ जनालाई पक्राउ गरेको छ।

डेढ महिनादेखि बेपत्ता नेपाली विद्यार्थी दूतावासको सम्पर्कमा

0

लन्डन: गत २ फेब्रुअरीदेखि सम्पर्कविहीन रहेका २३ वर्षीय नेपाली विद्यार्थी कमल अधिकारी डेढ महिना पछि लन्डनस्थित नेपाली दूतावाससँग सम्पर्कमा आएका छन्। उनी सकुशल फेला परेको जानकारी लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले दिएका छन्।

उहाँले भने, “इस्ट लन्डनस्थित एक होमलेस सेल्टरमा आश्रय लिइरहेका कमलसँग सम्पर्क भएको छ। उहाँ सम्पर्कमा आउनुभएकोले नेपाल स्थित उहाँको परिवारलाई खबर गरेका छौँ र उहाँको परिवारको अनुरोधमा नेपाल फर्काउने तयारी सुरु भइसकेको छ।”

दूतावाससँग कमलले पनि नेपाल फर्कने इच्छा व्यक्त गरेको दुवाडीको भनाइ छ। उहाँको शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहेको र उहाँको पासपोर्ट बेलायतको होमअफिसमा रहेको दूतावासले जनाएको छ।

लन्डनको ‘युनिभर्सिटी अफ क्रियटिभ आर्टस’मा अध्ययनरत कमललाई घरबेटीले निकालेपछि सडकमा बस्नुपरेको थियो। त्यसपछि उहाँ लन्डनबाट सम्पर्कविहीन हुनु भएपछि उहाँको परिवारले परराष्ट्र मन्त्रालयमा निवेदन दिएर खोजी गरिदिन अनुरोध गरेको थियो।

कमलको हराइरहेको सूचना पाएपछि लन्डनस्थित नेपाली दूतावासले लन्डन मेट्रोपोलिटन प्रहरीलाई खबर गरी खोजीका लागि अनुरोध गरेको थियो। धनुषा जिल्लाको हंसपुर-६ का अधिकारी सन् २०२२ मा अध्ययनका लागि बेलायत आएका थिए।

होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनेछः राष्ट्रपति पौडेल

0

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले फागु पूर्णिमा (होली) पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ।

होली: मौलिक संस्कृतिको संरक्षणको प्रेरणा
होली पर्वका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले यो पर्वले समाजमा रहेका विकृति, विसङ्गति तथा कुरीतिहरूलाई हटाउँदै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्ने बताउनुभएको छ।

उहाँले भन्नुभयो, “नेपाली समाज जातीय, भाषिक र सांस्कृतिक रूपमा विविधतायुक्त छ। यस्तै विविधता बीचको एकता नै हाम्रो पहिचान र सुन्दरता हो। होली पर्वले समस्त नेपालीहरूलाई रिस-राग त्यागी प्रेम, सद्भाव, र आत्मीयताको माध्यमबाट सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरित गर्ने विश्वास लिएको छु।”

रङहरूको पर्व: एकताको प्रतीक
राष्ट्रपति पौडेलले होलीमा खेलिने विविध रङहरू जस्तै नेपाली समाज पनि विविधतायुक्त रहेको उल्लेख गर्दै यही विविधता नै हाम्रो पहिचान र सुन्दरता भएको बताउनुभयो।

उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति तथा समृद्धिको कामना गर्दै होली पर्वको अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ।

होली पर्वको परम्परा र महत्त्व
विभिन्न रङ्गीचङ्गी कपडाले सजाइएको चीर ठड्याएपछि होली पर्वको सुरुआत हुन्छ भने पूर्णिमाको राति चीर दाह गरेपछि यसको समापन गरिन्छ। रङहरूको पर्वका रूपमा परिचित होली नेपाली समाजमा आपसी मेलमिलाप र सद्भावको सन्देश बोकेर मनाइन्छ।

यो पर्व असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको, दुराचारमाथि सदाचारको, र अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा मनाइन्छ।

सभामुख घिमिरेद्वारा फागु पूर्णिमा मर्यादित तरिकाले मनाउन अपिल

0

काठमाडौँ: सभामुख देवराज घिमिरेले फागु पूर्णिमा (होली) पर्वलाई संस्कार, सभ्यता र आपसी प्रेमको चाडका रूपमा उल्लेख गर्दै यसलाई मर्यादित र सभ्य तरिकाले मनाउन अपिल गर्नुभएको छ।

फागु पर्वको सन्देश: प्रेम, शान्ति र भाइचारा
स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै सभामुख घिमिरेले फागु पर्वले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने र प्रेम, शान्ति तथा भाइचारा अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

उहाँले भन्नुभयो, “फागु पर्वले असत्यमाथि सत्यको विजयको सन्देश दिएको छ। भक्त प्रह्लादको कथासँग जोडिएको धार्मिक परम्पराले जीवनमा सकारात्मक सोच राख्न प्रेरणा दिन्छ। यो पर्व विभिन्न जातजाति, धर्म, तथा क्षेत्रका मानिसहरूबीच मेलमिलाप र एकता बढाउने माध्यम पनि हो। रङ, रमाइलो र उत्सवमय वातावरणले यसलाई अझ उल्लासमय बनाउँछ।”

सभ्य तरिकाले पर्व मनाउन आग्रह
सभामुख घिमिरेले पछिल्ला वर्षहरूमा फागु पूर्णिमा मनाउने शैलीमा केही विकृतिहरू देखिएको भन्दै जबरजस्ती रङ दल्ने, अभद्र व्यवहार गर्ने, मादक पदार्थको दुरुपयोग गर्ने जस्ता प्रवृत्तिहरूले पर्वको वास्तविक भावना धमिल्याइरहेको बताउनुभयो।

उहाँको सन्देशमा भनिएको छ, “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक र भौगोलिक विविधता भएको देश हो। हाम्रा मौलिक संस्कृति र चाडपर्वले नेपाली समाजको पहिचान झल्काउँछन्। यी चाडपर्वको विशेषता आपसी एकता, सद्भाव र सहकार्य कायम राख्नु हो। त्यसैले, फागु पर्वलाई पनि मर्यादित, सभ्य र अनुशासित तरिकाले मनाउनु आवश्यक छ।”

कोशी, बाग्मती र गण्डकीका पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

0

काठमाडौँ: आज अपराह्नपछि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायु र स्थानीय प्रभावको कारण वर्षा

महाशाखाका मौसमविद् गोविन्दकुमार झाले पश्चिमी वायुको आंशिक प्रभाव र स्थानीय वायुको समिश्रणले वर्षा गराइरहेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “बिहीबार कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी क्षेत्रमा छिटफुट वर्षा हुन सक्छ। प्रि-मनसुनी गतिविधि सक्रिय भएकाले अपराह्नतिर मेघगर्जन/चट्याङसहित वर्षा हुने र रातिको समयमा मौसम सामान्यतया सफा रहनेछ।”

बुधबारकाे वर्षा र मौसमी प्रभाव
बुधबार साँझ काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको थियो। कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।

गण्डकी प्रदेशमा विकसित मौसमी प्रणाली कोशी प्रदेश हुँदै बाहिरिएकाले आज राति वर्षाको सम्भावना नरहेको मौसमविद्हरूको विश्लेषण छ।

मौसम परिवर्तनले हवाई उडान प्रभावित
विगत चार दिनदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम बदली भएको थियो। यसले हवाई उडानसमेत प्रभावित बनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार अपराह्न कम्तीमा आधा दर्जन आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रतिकूल मौसमका कारण ‘कम भिजिबिलिटी’ भई प्रभावित भएका थिए। केही उडानहरू आकाशमै ‘होल्ड’ गरिएका थिए।

होलीमा खेलिने रङहरू जस्तै नेपाली समाज पनि विविधतापूर्ण छः सभापति देउवा

0

काठमाडौँ: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागु पर्व (होली) को अवसरमा शुभकामना व्यक्त गर्दै नेपाली समाजको जातीय, भाषिक र सांस्कृतिक विविधतालाई उत्सवका रंगहरूसँग तुलना गर्नुभएको छ।

उहाँले भन्नुभयो, “फागु पर्वमा खेलिने विविध रङहरू जस्तै, हाम्रो समाज पनि विविधतामा एकताले जोडिएको विशिष्ट पहिचान बोकेको छ।”

नेपालका हिमाल, पहाड र तराईका जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइने फागु पर्व पारिवारिक स्नेह, सामाजिक सद्भाव र मेलमिलापको प्रतीक भएको देउवाले उल्लेख गर्नुभयो।

उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, “फागु पर्व हाम्रो धार्मिक तथा सांस्कृतिक धरोहर हो। अन्यायमाथि न्यायको विजयको शाश्वत सन्देश दिने यो पर्वलाई नेपाली समाजले हरेक वर्ष आत्मीयता, पारस्परिक एकता र उल्लासका साथ मनाउँदै आएको छ।”

वसन्त ऋतुको आगमनसँगै मेलमिलाप र सद्भावको सन्देश बोकेर आउने फागु पर्वले नेपाली समाजलाई अझ बढी एकताबद्ध बनाउने विश्वास व्यक्त गर्दै सभापति देउवाले शुभकामना दिनुभएको छ।

“यो पर्वले सबैको घर-परिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गरोस्,” उहाँको सन्देशमा उल्लेख छ।

होली पर्वमा हुने विकृतिलाई निरुत्साहित गर्न अध्यक्ष दाहालको आग्रह

0

काठमाडौँ: राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले होली पर्वलाई सभ्य र मर्यादित रूपमा मनाउन आग्रह गर्नुभएको छ। फागु पूर्णिमाका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले होलीको उल्लासलाई विकृत हुन नदिन सबैलाई सचेत रहन अनुरोध गर्नुभएको छ।

अध्यक्ष दाहालले भन्नुभयो, “सद्भाव, भ्रातृत्व र विविध रङहरूको पर्व फागु पूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यस पर्वले आपसी मेलमिलाप, भ्रातृत्व र एकताको सन्देश प्रवाह गर्ने विश्वास लिएको छु।”

उहाँले होलीको नाममा जथाभावी लोला हान्ने, फोहर पानी प्रयोग गर्ने, जबरजस्ती रंग लगाउने, हूलहुज्जत गर्ने जस्ता गतिविधिहरू बढ्दै गएकाले सचेत रहनुपर्ने बताउनुभयो।

संस्कृति, सद्भाव र एकताको प्रतीक होली
फागु पूर्णिमा नेपाली समाजका प्रमुख सांस्कृतिक पर्वहरूमध्ये एक हो। पहाडमा पहिलो दिन र तराई–मधेसमा भोलिपल्ट मनाइने यस पर्वलाई विशेषगरी मिथिला क्षेत्र र मधेस प्रदेशमा भव्य रूपमा मनाइन्छ। परिवार, आफन्त र साथीभाइबीच रङ दलेर, टीका लगाएर आपसी सम्बन्ध सुदृढ गर्ने परम्परा छ।

अध्यक्ष दाहालले नेपालका विभिन्न जातजाति, भाषा र समुदायले मनाउने यस पर्वले मनोरञ्जनसँगै भावनात्मक एकता र सामाजिक सद्भावलाई प्रवर्द्धन गर्ने उल्लेख गर्नुभयो।

हाम्रो संस्कृति अनुकरणीय र प्रेरणादायी
उहाँले भन्नुभयो, “पूर्वीय सभ्यता, मौलिक संस्कृति र विविध पर्वहरूको दृष्टिले हामी सम्पन्न छौँ। हाम्रो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक समाज विश्वकै निम्ति अनुकरणीय र प्रेरणादायी छ। यसलाई जगेर्ना गर्दै राष्ट्रिय एकता र सद्भावलाई अझ सुदृढ बनाउनु हाम्रो साझा जिम्मेवारी हो।”

लगातार सात कारोबार दिन घटेको नेप्से परिसूचकमा आज दोहोरो अङ्कको वृद्धि

0

काठमाडौँ: पछिल्लो सात कारोबारी दिन लगातार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने दोहोरो अंकले वृद्धि भएको छ। आज नेप्से परिसूचक १७.२८ अङ्कले बढेर दुई हजार सात सय ३६.४८ को विन्दुमा पुगेको छ।

आज ३२३ कम्पनीका २ करोड २९ लाख ४१ हजार ३६५ कित्ता शेयर ७९ हजार २३६ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम रू ८ अर्ब २३ करोड ५२ लाख ६८ हजार ७५५ भएको छ।

आजको कारोबारमा विकास बैंक समूहले ०.३३ प्रतिशत र लघुवित्त समूहले ०.२७ प्रतिशत गिरावट देखाएको छ भने अन्य सबै समूहहरूको उपसूचकमा वृद्धि भएको छ। सबैभन्दा ठूलो वृद्धि लगानी समूहमा १.७६ प्रतिशत र अन्य समूहमा १.५७ प्रतिशत भएको छ।

बैंकिङ समूह ०.५३ प्रतिशत, वित्त समूह ०.०२ प्रतिशत, होटल तथा पर्यटन समूह ०.६४ प्रतिशत, जलविद्युत् समूह ०.८५ प्रतिशत, जीवन बीमा समूह ०.६४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.१८ प्रतिशत, म्युचुअल फन्ड समूह ०.१० प्रतिशत, निर्जीवन बीमा समूह ०.४० प्रतिशत र व्यापार समूह ०.२१ प्रतिशतले बढेको छ।

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९.७९ प्रतिशतले वृद्धि भएको छ। साथै, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंक लिमिटेड प्रमोटर शेयर ८१ करोड ३६ लाख ५२ हजार १ सय बराबरको ८१ लाख ३६ हजार ५२१ कित्ता कारोबार भएको छ, जुन नेप्सेले जनाएको छ।