म्याग्दी: अमेरिकामा एक दशकसम्म अध्ययन गरेका एक युवा व्यवसायीले आफ्नै जन्मथलोमा व्यावसायिक केराखेती शुरू गरेका छन्। म्याग्दीको मङ्गला गाउँपालिका–३, सातबिसे निवासी सुशील खड्का (३८) ले आफ्नो पुख्र्यौली जग्गाको सदुपयोग गर्दै कृषि उद्यममार्फत आम्दानी र रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित केराखेती थालेका हुन्। हाल बागलुङमा बस्दै आएका र काठमाडौँमा व्यवसाय सञ्चालन गरिरहेका खड्काले मङ्गला भेञ्चर कम्पनी मार्फत केराखेती शुरू गरेका हुन्।
बाँझो जग्गाको सदुपयोग गर्दै कृषि उद्यम
खड्काका पुर्खाले झण्डै दुई सय वर्षअघि धानखेतीका लागि किनेको सातबिसेको उर्वर जमिन पछिल्लो समय बसाइँसराइ र वैदेशिक रोजगारीका कारण बाँझो हुँदै गएको थियो। “बाँझिएको जमिन पुनः उपयोग गर्ने सोचसहित मैले दुई वर्षअघि केराखेती सुरू गर्दा धेरैले हाँसोका पात्र बनाए,” खड्काले भने, “तर अहिले यसको सकारात्मक प्रभाव देखिँदै छ, अरूले पनि सिको गर्न थालेका छन्, जुन खुसीको कुरा हो।”
खड्काले २००५ मा अमेरिका गएका थिए र भेण्डरबिल्ट विश्वविद्यालयबाट अर्थशास्त्र र व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर तथा इन्जिनियरिङमा स्नातक गरेका छन्। काठमाडौँमा श्रीमती सिलसिलासँगै नकुहिने फोहर प्रशोधन तथा पुनः प्रयोग गर्ने कम्पनी सञ्चालन गरिरहेका खड्काले सातबिसेमा १०० रोपनी पुख्र्यौली जग्गा छन्।
इतिहास र किंवदन्ती
खड्काका जिजुबाजेले सात वटा २० रूपैयाँका सिक्कामा खरिद गरेका कारण यस ठाउँको नाम ‘सातबिसे’ रहन गएको किंवदन्ती छ। यो ठाउँ उर्वर भूमि भएकाले गौरिया जातको धानखेतीका लागि प्रख्यात थियो। तर पछिल्लो समय खेती छोडेर विदेशिने प्रवृत्तिका कारण जमिन बाँझिँदै गयो।
कोरोनाकालको सोच, केराखेतीमा नयाँ प्रयोग
कोरोना महामारीको समयमा कृषि उद्यम गर्ने प्रेरणा मिलेको बताउने खड्काले तीन रोपनीमा १५० बोट हजारी जातको केरा रोपेर उद्यम थालेका थिए। हालै एक रोपनीमा थप केराका बिरुवा रोप्दै बगैँचा विस्तार गरेका छन्। उनकी आमा मनकुमारीले पनि बगैँचाको रेखदेखमा सहयोग गरिरहेकी छन्।
खड्काले पछिल्लो एक वर्षमा केराखेतीबाट एक लाख रुपैयाँ आम्दानी गरेका छन्। अब उनले ड्रागन फ्रुट खेती गर्ने योजना बनाएका छन्।
परम्परागत बाली संरक्षण र रोजगारी सिर्जना
“देशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिनु मेरो लक्ष्य हो,” खड्काले भने, “जलवायु परिवर्तनको सामना गर्न सक्ने परम्परागत बालीको संरक्षण हाम्रो दायित्व हो।” उनले गौरिया जातको धानखेतीलाई आधुनिक उपकरणमार्फत निरन्तरता दिने र गाउँमा रहेका बेरोजगार युवालाई संगठित गरी कृषि उद्यममा संलग्न गराउने योजना बनाएका छन्।
सातबिसेमा खड्काको प्रयासले बाँझिएको जमिनको सदुपयोग मात्र नभई स्थानीयस्तरमा कृषिमा नवप्रवर्तन, आम्दानीको स्रोत र रोजगारीको अवसर सिर्जना गर्ने नयाँ सम्भावना पनि देखाएको छ।











