Wednesday, July 1, 2026
Home Blog Page 477

चितवनको कान्दामा दुई घण्टा बोकेर पहिलोपटक हाते ट्रयाक्टर पुर्याउँदा …

0

भरतपुर (चितवन): चितवनको विकट कान्दा गाउँमा पहिलोपटक हाते ट्रयाक्टर पुर्याइएको छ। चेपाङ समुदायको बसोबास रहेको यस गाउँमा अहिलेसम्म सवारीसाधन पुगेको छैन। सवारी पुग्ने स्थानबाट झण्डै दुई घण्टा पैदल हिँडेपछि मात्र कान्दामा पुगिन्छ।

राप्ती नगरपालिका–१३ अन्तर्गत पर्ने कान्दा गाउँका चेपाङ समुदायले ट्रयाक्टर बोकेरै गाउँमा ल्याएका हुन्। गाउँमै पहिलोपटक बारी जोत्न ट्रयाक्टर पुगेपछि स्थानीयवासी उत्साहित छन्। मितेरी कृषक समूहका अध्यक्ष सीताबहादुर चेपाङले गोरु पाल्ने चलन हराउँदै जाँदा खेतबारी बाँझिन थालेको अवस्थामा हाते ट्रयाक्टरले सहजता ल्याएको बताउनुभयो।

कान्दा चितवनको सबैभन्दा विकट बस्तीमध्ये एक हो। यो गाउँ पूर्वपश्चिम राजमार्गको भण्डाराबाट चेपाङ मार्ग हुँदै झण्डै दुई घण्टा गाडीमा र त्यसपछि दुई घण्टा पैदल हिँडेर पुगिन्छ। अहिलेसम्म यहाँ बिजुलीसमेत पुगेको छैन। शनिबार गाउँलेहरू एकजुट भई हाते ट्रयाक्टर बोकेर कान्दा पुर्‍याएका थिए।

करीब १५ वर्षअघि यही ठाउँमा जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जनाको मृत्यु भएको थियो। त्यसपछि विभिन्न संघसंस्थाको सहकार्यमा यहाँ रुपान्तरणका काम हुँदै आएका छन्। चेपाङ समुदाय अहिले कृषि पेशा अपनाउँदै जीविकोपार्जन गरिरहेका छन्। अध्यक्ष चेपाङका अनुसार, हाते ट्रयाक्टरले व्यावसायिक खेतीमा ठूलो टेवा पुर्‍याउनेछ।

स्थानीय कृषक कृष्णबहादुर प्रजाले गाउँमा पहिलोपटक ट्रयाक्टर देख्दा नयाँ युगको अनुभूति भएको बताउनुभयो। साथै, राज्यको ध्यान नपुगेको गुनासो पनि गर्नुभयो।

हाते ट्रयाक्टर कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदान र भरतपुरस्थित सेन्ट्रल कलेजको ५० प्रतिशत सहयोगमा ल्याइएको हो। कान्दाका ६५ घरधुरी मितेरी कृषक समूहमा आबद्ध भएर सामूहिक रूपमा खेती गर्दै आएका छन्।

कान्देश्वरी आधारभूत विद्यालयको छात्रावासको जमिनमा पनि खेती गरिन्छ। उत्पादन भएको अन्न र तरकारी छात्रावासमा बसोबास गर्ने चेपाङ बालबालिकालाई खुवाइन्छ। हाते ट्रयाक्टर कृषक समूह र छात्रावास दुवैको प्रयोजनमा प्रयोग गरिने विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले जानकारी दिनुभयो।

“कृषिमा बालबालिकालाई पनि जोडेका छौँ,” उहाँले भन्नुभयो, “बालबालिकामार्फत अभिभावकहरूमा पनि कृषि चेतना बढिरहेको छ।”

सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेलले पछाडि परेका चेपाङ समुदायलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले राज्य र निजी क्षेत्रको सहकार्यबाट मात्र यस्तो रुपान्तरण सम्भव हुने धारणा व्यक्त गर्नुभयो।

मितेरी फाउन्डेसनका अध्यक्ष तथा पत्रकार रमेशकुमार पौडेलको सहजीकरणमा हाते ट्रयाक्टर कान्दा पुर्याइएको हो। उहाँका अनुसार, परम्परागत कृषि प्रणालीमै सीमित समुदायलाई व्यावसायिकतामा लैजान सहयोगी हातहरू जुटाइएको हो। “किसानसँग चाहना त थियो, तर आर्थिक अवस्था कमजोर थियो,” उहाँले भन्नुभयो, “५० प्रतिशत अनुदानको ट्रयाक्टर लिन पनि पैसा जुटाउन नसकेपछि सहयोग खोज्नुपरेको हो।”

कान्दाका किसानले मकै, कोदो, फापर र तरकारी खेती गर्दै आएका छन्। चिसो हावापानी भएको यस क्षेत्रमा फलफूल खेतीको पनि सम्भावना रहेको उहाँको भनाइ छ। राज्यका निकायले ध्यान दिए यहाँको जीवनस्तर कृषिमार्फत सुधार गर्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो।

हेलम्बु राजमार्गमा ‘टिपर’ दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु

0

काभ्रेपलाञ्चोक: मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा आज बिहान टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, बा ४ ख ३३६३ नम्बरको टिपर इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउँदै थियो। उकालोमा ब्याक गर्ने क्रममा सन्तुलन गुमाउँदा टिपर करिब १०० मिटर तल खस्दा चालक नुवाकोटको सूर्यगढी गाउँपालिका–७ का ४७ वर्षीय लवकुश अधिकारीको ज्यान गएको हो।

यसअघि, चैत ३१ गते मण्डनदेउपुर–२ ठकुरीगाउँस्थित निर्माणाधीन एक होटलको कम्पाउन्डमा पनि यस्तै दुर्घटना भएको थियो। बा २ क ३४६४ नम्बरको टिपर बालुवा अनलोड गर्न ब्याक गर्ने क्रममा डिलबाट झरेर करिब सात मिटर तल खस्दा ३१ वर्षीय चालक विनोद घोरासैनीको च्यापिएर मृत्यु भएको थियो।

महिला टी–२० विश्वकप छनोट: नेपालले बहराइनलाई हरायो

0

काठमाडौं। आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो जित दर्ता गरेको छ।

शनिबार थाइल्यान्डमा सम्पन्न वर्षाबाट प्रभावित खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको हो।

वर्षाका कारण खेल ५ ओभरमा सीमित गरिएको थियो। टस हारेर पहिला ब्याटिङ गरेको बहराइनले १ विकेटको क्षतिमा ४१ रन बनायो।

४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमै १ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि कविता कुँवरले आक्रामक ब्याटिङ गर्दै ११ बलमा ४ चौकासहित १८ रन बनाइन्। सम्झना खड्काले १० बलमा नटआउट १३ रन तथा इन्दू बर्माले ५ बलमा नटआउट ७ रन जोडिन्।

यसअघि शुक्रबार नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको थियो।

नेपाल समूह ‘सी’ मा रहेको छ, जहाँ नेपालसँगै हङकङ र बहराइन छन्।

नेपालले आगामी वैशाख ३० गते हङकङ र जेठ १ गते बहराइनसँग पुनः प्रतिस्पर्धा गर्ने तालिका छ।

समूह चरण सकिएपछि समूह विजेता टोली फाइनल राउन्डमा प्रवेश गर्नेछ। फाइनल राउन्डमा तीन टोलीबीच प्रतिस्पर्धा हुनेछ, जहाँ शीर्ष दुई टोलीले आगामी विश्वकप छनोटमा स्थान बनाउनेछन्।

एसियाबाट दुई टोली विश्वकप छनोटमा पुग्नेछन्। उक्त छनोट प्रतियोगितामा १० टोली सहभागी हुनेछन्, जसमा शीर्ष चार टोलीले सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

नेपालले एसिया छनोटका लागि भारतको दिल्लीमा तयारी गरेको थियो, जहाँ उसले दिल्लीको महिला टोलीसँग पाँच अभ्यास खेल खेलेको थियो।

भारत र पाकिस्तानबीच युद्धविराम

0

काठमाडौं: भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत भएका छन्। दुवै देशका विदेश मन्त्रीहरूले युद्धविरामका लागि सहमति भएको पुष्टि गरेका छन्।

भारतीय विदेश सचिव विक्रम मिश्रीका अनुसार पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले भारतीय समकक्षीसँग सम्पर्क गरी स्थल, समुद्र र हवाई क्षेत्रमा भारतीय समयअनुसार साँझ ५ः०० बजेदेखि लागू हुने गरी सबै सैन्य कारबाही रोक्ने सहमति भएको हो।

उनले भने, “युद्धविराम कार्यान्वयन गर्न दुवै पक्षलाई निर्देशन दिइसकिएको छ।” साथै, मे १२ को मध्यान्ह १२ बजे डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन (डीजीएमओ) स्तरको अर्को चरणको वार्ता तय भएको छ।

विदेशमन्त्री मिश्रीले थप स्पष्ट पारे, “पाकिस्तान र भारतका डीजीएमओबीच आज अपराह्न फोनवार्ता भएको हो। दुबै देश जमिन, आकाश र समुद्र क्षेत्रमा सबै प्रकारका गोलाबारी तथा सैन्य कारबाही रोक्न सहमत भएका छन्।”

त्यसैगरी, पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले पनि युद्धविरामको पुष्टि गर्दै भने, “पाकिस्तानले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डतामा कुनै सम्झौता नगरी यस क्षेत्रको शान्ति र सुरक्षाका लागि सधैं प्रयत्नरत रहँदै आएको छ।”

यसअघि शनिबार आयोजित एक प्रेस ब्रिफिङमा विदेश सचिव मिश्रीले पाकिस्तानको कारबाहीलाई ‘उत्तेजक’ प्रकृतिको भएको टिप्पणी गरेका थिए।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि दुवै देश युद्धविराम गर्न र तटस्थ स्थलमा वार्ता सुरु गर्न सहमत भएको जनाएका छन्।

उनले भने, “बितेका ४८ घण्टामा उपराष्ट्रपति भान्स र मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ, भारतका विदेशमन्त्री सुब्रमण्यम जयशंकर, पाकिस्तानी सेनाप्रमुख असिम मुनीर, भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र असिम मलिकलगायत दुबै देशका वरिष्ठ अधिकारीहरूसँग विस्तृत संवाद गरेका छौं।”

रुबियोले थपे, “भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भएका छन् र तटस्थ स्थलमा व्यापक विषयमा वार्ता सुरु गर्नेछन्। हामी प्रधानमन्त्री मोदी र सरिफलाई शान्तिको बाटो रोजेकोमा धन्यवाद ज्ञापन गर्छौं।”

यसअघि, मे २ मा पहलगाममा भएको आतंककारी हमलाको प्रतिकारस्वरूप भारतले मे ७ मा ‘अपरेशन सिन्दूर’ सञ्चालन गरेको थियो। उक्त कारबाहीमा २६ जनाको मृत्यु भएको थियो। जवाफी कारबाहीमा पाकिस्तानले पनि आक्रमण गर्दा भारतीय सुरक्षाकर्मी र सर्वसाधारण घाइते तथा मृतक भएका थिए।

भारतको ७७ ड्रोन खसालेको पाकिस्तानको दाबी

0

इस्लामाबाद: भारत र पाकिस्तानबीचको तनाव अझै अन्त्य हुने सङ्केत देखिएको छैन। दुबै देशले एक अर्काको सीमाक्षेत्र र सैन्य ठाउंसम्म आक्रमण गरिरहेका छन्।

पाकिस्तानले भारतको ‘अपरेशन सिन्दूर’लाई विफल पार्न महत्वपूर्ण सफलता हासिल गरेको दाबी सरकारी स्तरमा गरिएको छ। सरकारी प्रसारण संस्था पीटीभीका अनुसार पाकिस्तानले हालसम्म जम्मा ७७ भारतीय ड्रोन खसालेको छ।

‘मे ८ को साँझसम्म पाकिस्तानले २९ वटा भारतीय ड्रोन खसालेको थियो भने बिहीबार राति थप ४८ ड्रोन नष्ट गरिएको छ,’ पीटीभीले पाकिस्तानी सुरक्षा स्रोतको हवाला दिँदै उल्लेख गरेको छ।

पाकिस्तानी सुरक्षाकर्मीले भारतीय आक्रमणको ‘उचित जवाफ’ दिइरहेको दाबी समेत गरिएको छ।

वीरेन्द्रनगरका १५ सडक अलपत्र, कांग्रेस सांसद कान्छारामको कम्पनीले ठेक्का लिएर काम नगरेपछि आलोचना चुलियो

0

सुर्खेत: सुर्खेतको वीरेन्द्रनगर नगरपालिका भित्र पर्ने १५ वटा सडकको निर्माणको जिम्मा लिएको पूर्व ऊर्जा राज्यमन्त्री तथा नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) को निर्माण कम्पनी ‘कान्छाराम कन्स्ट्रक्सन’ ले तोकिएको समयसम्म काम पूरा गर्न सकेको छैन।

२०७८ सालमा १२ करोड ९४ लाख रुपैयाँको लागतमा ठेक्का लिएको यो काम २०७९ फागुन २८ गतेसम्म सक्ने भनिए पनि काम अलपत्र परेको छ। पहिलो पटकको म्याद सकिएपछि दोहोर्‍याएर २०८१ मंसिर २० गतेसम्म म्याद थपिएको थियो, तर त्यो म्याद पनि सकिएको ५ महिना बितिसकेको छ।

ठेक्का लिएका सडकहरूमा अधिकांश ठाउँमा नाला वा बेस राख्ने काम मात्रै भएको छ, कालोपत्रे सुरु पनि भएको छैन। यहाँसम्म कि मन्त्रालय र विकास निर्देशनालयको गेट अगाडिको सडक समेत बनेको छैन, जसले प्रदेश सरकार ठेकदार अगाडि कति निरीह छ भन्ने देखाउँछ।

सार्वजनिक खरिद ऐन चौधौँ संशोधन भएपछि कान्छाराम कन्स्ट्रक्सन कारबाहीबाट जोगिएको छ। संशोधनअनुसार ठेकदारले नयाँ कार्य तालिका, माइलस्टोन र थप आर्थिक दायित्व नलाग्ने प्रतिबद्धता पेश गरेमा म्याद थप्न मिल्ने व्यवस्था छ।

हालसम्म भौतिक प्रगति जम्मा ४५% मात्र भएको जनाइएको छ। प्रदेश सरकारले कालोसूचीमा राख्ने तयारी गरे पनि केन्द्रको नियमले त्यसमा अवरोध पुर्‍याएको छ।

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

0

काठमाडौँ: कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि विभिन्न तरकारी, फलफूल तथा कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ।

मुख्य तरकारीहरूको थोक मूल्य:
गोलभेँडा (ठूलो, भारतीय): रु ७० प्रतिकिलो

गोलभेँडा (सानो, लोकल): रु ४८ प्रतिकिलो

गोलभेँडा (सानो, भारतीय): रु ४० प्रतिकिलो

गोलभेँडा (सानो, तराई): रु ४५ प्रतिकिलो

आलु रातो: रु ३५

प्याज सुकेको (भारतीय): रु ३८

गाजर (लोकल): रु ६०, (तराई): रु ३०

बन्दा (लोकल): रु २०

काउली (स्थानीय): रु ६०

मूला रातो: रु ४०, सेतो (लोकल): रु २०, सेतो (हाइब्रिड): रु ३०

भन्टा लाम्चो: रु ३५, डल्लो: रु ४०

बोडी (तने): रु ६०

अन्य तरकारीहरू:
मटरकोसा: रु १००

घिउ सिमी (लोकल/हाइब्रिड): रु ६०

भटमास कोसा: रु १५०

तितो करेला, लौका: रु २५

परबर (लोकल): रु ५०, (तराई): रु ६०

चिचिण्डो: रु ४०

घिरौला: रु ३०

झिगुनी: रु ८०

फर्सी पाकेको: रु ५०, हरियो (लाम्चो): रु २५, हरियो (डल्लो): रु ३०

सलगम: रु ८०

भिण्डी: रु ४५

सखरखण्ड: रु ६०

बरेला, स्कूस: रु ५०

पिँडालु: रु ९०

सागपात र च्याउ:
रायो, पालुङ्गो, चमसुर, मेथीको साग: रु ८०

तोरीको साग: रु ३५

प्याज हरियो: रु ४०

बकुला: रु ५०

च्याउ (कन्य): रु १८०, डल्ले: रु ३८०

कुरिलो: रु ६००

निगुरो: रु ३०

ब्रोकाउली, चुकुन्दर: रु ६०

सजीवन, जिरीको साग: रु ८०, ६५

ग्याठकोभी: रु ६०

सेलरी: रु २१०

पार्सले: रु ३५०

सौफको साग: रु १००

पुदिना: रु ३००

गान्टे मूला: रु ४०

इमली: रु १९०

तामा: रु १००

तोफु: रु १४०

गुन्द्रुक: रु ३५०

फलफूलहरूको थोक मूल्य:
स्याउ (झोले): रु २५०, (फूजी): रु ३४०

केरा (दर्जन): रु १६०

कागती: रु २८०

अनार: रु ३५०

अङ्गुर (हरियो): रु २००, (कालो): रु २५०

सुन्तला (भारतीय): रु १४०

तरबुजा (हरियो): रु ५०

मौसम, जुनार: रु २००

भुइँकटहर (प्रति गोटा): रु २००

काँक्रो (लोकल): रु ६०, (हाइब्रिड): रु ३०

रुख कटहर: रु ८०

नासपाती (चाइनिज): रु २६०

मेवा (नेपाली): रु ५०, (भारतीय): रु १२०

अम्बा: रु १२०

स्ट्रबेरी (भुइँऐसेलु): रु २५०

किबी: रु ४६०

आभोकाडो: रु ५८०

मसला तथा अन्य वस्तुहरू:
अदुवा: रु १२०

खुर्सानी सुकेको: रु ४२०

खुर्सानी हरियो: रु ६०, (बुलेट): रु ७०, (माछे): रु ५०, (अकबरे): रु ४००, (भेडे): रु ८०

लसुन (हरियो): रु ७५, (सुकेको – चाइनिज/नेपाली): रु ३००

हरियो धनिया: रु ७०

माछा र विशेष च्याउ:
ताजा माछा (रहु): रु ३२०, (बचुवा): रु २६०, (छडी): रु २४०

रुख टमाटर: रु १६०

राजा च्याउ: रु ३००

सिताके च्याउ: रु ८००

आजको मौसम पूर्वानुमान : यी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा

0

काठमाडौँ: हाल देशमा पश्चिमी वायु, स्थानीय वायु तथा अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ, भने बाँकी भू–भागमा आंशिक बदलीको सम्भावना रहेको छ। ती प्रदेशका पहाडी क्षेत्रमा थोरै स्थानहरूमा तथा अन्य पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।

देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, मधेस प्रदेशसहित लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना समेत रहेको छ।

आज राति पनि देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना यथावत् रहेको महाशाखाले जनाएको छ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा तोकिएको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ०७ पैसा, बेलायती पाउन्ड एकको खरिददर १८० रुपैयाँ ९७ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७७ पैसा रहेको छ। स्विस फ्र्याङ्कको खरिददर १६४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८१ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ २७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६६ पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३८ पैसा, र सिङ्गापुर डलरको खरिददर १०५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५१ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा, चिनियाँ युआनको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा तोकिएको छ। साउदी रियालको खरिददर ३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५० पैसा तथा कतारी रियालको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा रहेको छ।

त्यस्तै, थाई भाटको खरिददर ४ रुपैयाँ १३ पैसा र बिक्रीदर ४ रुपैयाँ १५ पैसा, युएई दिरामको खरिददर ३७ रुपैयाँ ११ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, र मलेसियन रिङ्गेटको खरिददर ३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८६ पैसा तोकिएको छ।

साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा, स्विडिस क्रोनरको खरिददर १४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १४ रुपैयाँ ११ पैसा, डेनिस क्रोनरको खरिददर २० रुपैयाँ ५६ पैसा र बिक्रीदर २० रुपैयाँ ६५ पैसा रहेको छ।

यसैगरी, हङकङ डलरको खरिददर १७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७ रुपैयाँ ६० पैसा, कुवेती दिनारको खरिददर ४४४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ३१ पैसा, बहराइन दिनारको खरिददर ३६१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ११ पैसा, ओमनी रियालको खरिददर ३५४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ६१ पैसा तोकिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले आवश्यक परेमा विनिमय दर जुनसुकै बेला संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर खुला बजारको आधारमा फरक हुनसक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमार्फत हेर्न सकिने जानकारी पनि दिइएको छ।

ओलम्पियन केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

0

गण्डकी: नवौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत लाइफटाइम एचिभमेन्ट अवार्ड ओलम्पियन तथा सुटिङ प्रशिक्षक भगवती खत्री केसीलाई प्रदान गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा शुक्रबार पोखरामा आयोजित विशेष समारोहमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले केसीलाई सम्मानित गर्नुभयो।

पूर्व ओलम्पियन केसीको नाम अवार्ड छनोट समितिले सिफारिस गरेको थियो। नेपाल सुटिङ सङ्घकी उपाध्यक्ष समेत रहनुभएकी केसीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा उल्लेखनीय उपलब्धि हासिल गर्दै विभिन्न पदक जित्नुभएको छ।

बागलुङ निवासी केसीले सन् २००० मा अष्ट्रेलियाको सिड्नीमा आयोजित २७औँ ओलम्पिक खेलकुदमा नेपालका तर्फबाट भाग लिँदै राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको थियो। यसअघि सन् १९९५ मा इन्डोनेसियामा सम्पन्न आठौँ एसियन सुटिङ च्याम्पियनसिप, भारतको मद्रासमा भएको सातौँ साफ गेम, सन् १९९७ मा नयाँ दिल्लीमा सम्पन्न दोस्रो साफ सुटिङ च्याम्पियनसिप, बैंककमा सम्पन्न १३औँ एसियन गेम, सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौँ साफ गेम, सन् २००० मा पाकिस्तानमा सम्पन्न नवौँ साउथ एसियन सुटिङ च्याम्पियनसिप तथा सन् २००६ को कोलम्बो साफ गेममा समेत उहाँको सहभागिता रहेको थियो।

केसीले नवौँ राष्ट्रिय महिला सुटिङ प्रतियोगिता, शुभजन्मोत्सव आठौँ सुटिङ प्रतियोगिता (२०५१), १२औँ राष्ट्रिय सुटिङ प्रतियोगिता (२०५३), प्रथम खुला सुटिङ प्रतियोगिता (२०५१), चौथौँ राष्ट्रिय खेलकुद प्रतियोगिता (२०५५) मा प्रथम स्थान हासिल गर्नुभएको थियो भने पाँचौँ राष्ट्रिय प्रतियोगितामा दोस्रो स्थान प्राप्त गर्नुभएको थियो।

२०५७ सालमा गोरखा दक्षिण बाहुबाट सम्मानित केसीलाई सरकारले २०६३ सालमा ‘उत्कृष्ट खेलाडी’ को उपाधि प्रदान गरेको थियो।

लाइफटाइम एचिभमेन्ट अवार्ड प्राप्त गरेपछि केसीले खेलकुदमा बिताएको जीवनप्रति गौरव महसुस भएको प्रतिक्रिया दिनुभयो। उहाँले आफूले खेलकुदमार्फत देशको नाम चिनाउन सक्दो योगदान गरेको बताउँदै, उपयुक्त प्रशिक्षण र अनुकूल वातावरण प्राप्त भएमा नेपाली खेलाडीहरूले सुटिङमा अन्तरराष्ट्रिय स्तरमा पदक जित्ने सम्भावना प्रबल रहेको धारणा व्यक्त गर्नुभयो।