काभ्रेपलाञ्चोक: मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा आज बिहान टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, बा ४ ख ३३६३ नम्बरको टिपर इन्द्रावती खोलाबाट बालुवा लिएर पाँचखालतर्फ आउँदै थियो। उकालोमा ब्याक गर्ने क्रममा सन्तुलन गुमाउँदा टिपर करिब १०० मिटर तल खस्दा चालक नुवाकोटको सूर्यगढी गाउँपालिका–७ का ४७ वर्षीय लवकुश अधिकारीको ज्यान गएको हो।
यसअघि, चैत ३१ गते मण्डनदेउपुर–२ ठकुरीगाउँस्थित निर्माणाधीन एक होटलको कम्पाउन्डमा पनि यस्तै दुर्घटना भएको थियो। बा २ क ३४६४ नम्बरको टिपर बालुवा अनलोड गर्न ब्याक गर्ने क्रममा डिलबाट झरेर करिब सात मिटर तल खस्दा ३१ वर्षीय चालक विनोद घोरासैनीको च्यापिएर मृत्यु भएको थियो।


