भरतपुर (चितवन): चितवनको विकट कान्दा गाउँमा पहिलोपटक हाते ट्रयाक्टर पुर्याइएको छ। चेपाङ समुदायको बसोबास रहेको यस गाउँमा अहिलेसम्म सवारीसाधन पुगेको छैन। सवारी पुग्ने स्थानबाट झण्डै दुई घण्टा पैदल हिँडेपछि मात्र कान्दामा पुगिन्छ।
राप्ती नगरपालिका–१३ अन्तर्गत पर्ने कान्दा गाउँका चेपाङ समुदायले ट्रयाक्टर बोकेरै गाउँमा ल्याएका हुन्। गाउँमै पहिलोपटक बारी जोत्न ट्रयाक्टर पुगेपछि स्थानीयवासी उत्साहित छन्। मितेरी कृषक समूहका अध्यक्ष सीताबहादुर चेपाङले गोरु पाल्ने चलन हराउँदै जाँदा खेतबारी बाँझिन थालेको अवस्थामा हाते ट्रयाक्टरले सहजता ल्याएको बताउनुभयो।
कान्दा चितवनको सबैभन्दा विकट बस्तीमध्ये एक हो। यो गाउँ पूर्वपश्चिम राजमार्गको भण्डाराबाट चेपाङ मार्ग हुँदै झण्डै दुई घण्टा गाडीमा र त्यसपछि दुई घण्टा पैदल हिँडेर पुगिन्छ। अहिलेसम्म यहाँ बिजुलीसमेत पुगेको छैन। शनिबार गाउँलेहरू एकजुट भई हाते ट्रयाक्टर बोकेर कान्दा पुर्याएका थिए।
करीब १५ वर्षअघि यही ठाउँमा जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जनाको मृत्यु भएको थियो। त्यसपछि विभिन्न संघसंस्थाको सहकार्यमा यहाँ रुपान्तरणका काम हुँदै आएका छन्। चेपाङ समुदाय अहिले कृषि पेशा अपनाउँदै जीविकोपार्जन गरिरहेका छन्। अध्यक्ष चेपाङका अनुसार, हाते ट्रयाक्टरले व्यावसायिक खेतीमा ठूलो टेवा पुर्याउनेछ।
स्थानीय कृषक कृष्णबहादुर प्रजाले गाउँमा पहिलोपटक ट्रयाक्टर देख्दा नयाँ युगको अनुभूति भएको बताउनुभयो। साथै, राज्यको ध्यान नपुगेको गुनासो पनि गर्नुभयो।
हाते ट्रयाक्टर कृषि विकास कार्यालयको ५० प्रतिशत अनुदान र भरतपुरस्थित सेन्ट्रल कलेजको ५० प्रतिशत सहयोगमा ल्याइएको हो। कान्दाका ६५ घरधुरी मितेरी कृषक समूहमा आबद्ध भएर सामूहिक रूपमा खेती गर्दै आएका छन्।
कान्देश्वरी आधारभूत विद्यालयको छात्रावासको जमिनमा पनि खेती गरिन्छ। उत्पादन भएको अन्न र तरकारी छात्रावासमा बसोबास गर्ने चेपाङ बालबालिकालाई खुवाइन्छ। हाते ट्रयाक्टर कृषक समूह र छात्रावास दुवैको प्रयोजनमा प्रयोग गरिने विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले जानकारी दिनुभयो।
“कृषिमा बालबालिकालाई पनि जोडेका छौँ,” उहाँले भन्नुभयो, “बालबालिकामार्फत अभिभावकहरूमा पनि कृषि चेतना बढिरहेको छ।”
सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेलले पछाडि परेका चेपाङ समुदायलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले राज्य र निजी क्षेत्रको सहकार्यबाट मात्र यस्तो रुपान्तरण सम्भव हुने धारणा व्यक्त गर्नुभयो।
मितेरी फाउन्डेसनका अध्यक्ष तथा पत्रकार रमेशकुमार पौडेलको सहजीकरणमा हाते ट्रयाक्टर कान्दा पुर्याइएको हो। उहाँका अनुसार, परम्परागत कृषि प्रणालीमै सीमित समुदायलाई व्यावसायिकतामा लैजान सहयोगी हातहरू जुटाइएको हो। “किसानसँग चाहना त थियो, तर आर्थिक अवस्था कमजोर थियो,” उहाँले भन्नुभयो, “५० प्रतिशत अनुदानको ट्रयाक्टर लिन पनि पैसा जुटाउन नसकेपछि सहयोग खोज्नुपरेको हो।”
कान्दाका किसानले मकै, कोदो, फापर र तरकारी खेती गर्दै आएका छन्। चिसो हावापानी भएको यस क्षेत्रमा फलफूल खेतीको पनि सम्भावना रहेको उहाँको भनाइ छ। राज्यका निकायले ध्यान दिए यहाँको जीवनस्तर कृषिमार्फत सुधार गर्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो।


