Wednesday, July 1, 2026
Home Blog Page 478

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

0

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेट गरेका छन्।

भेटमा भारत–पाकिस्तानबीच हाल उत्पन्न तनावपूर्ण परिस्थितिबारे राजदूत श्रीवास्तवले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार, भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतंकवादी आक्रमणका सम्बन्धमा छलफल भएको थियो। उक्त आक्रमणमा एक नेपाली नागरिकसहित २८ जनाको ज्यान गएको थियो।

राजदूत श्रीवास्तवले घटनास्थलमा भारतले गरेको जवाफी कारबाहीबारे जानकारी दिँदै जेट हमला गरिएको भन्ने प्रचार झुटो रहेको बताए। उनले सो घटनासम्बन्धी नेपाल सरकारले बिहीबार जारी गरेको वक्तव्यप्रति आभार पनि व्यक्त गरेका थिए।

प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिको पक्षधर राष्ट्र भएको दोहोर्याउँदै, सबै प्रकारका आतंकवादी गतिविधिको स्पष्ट रूपमा भत्र्सना गरे। उनले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई छिमेकी राष्ट्रविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने दृढ प्रतिबद्धता व्यक्त गरेका थिए।

विश्वकप एसिया छनोट: वर्षाका कारण नेपाल र हङकङले अङ्क बाँडे

0

काठमाडौं: आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द गरिएको छ।

थाइल्यान्डमा आजदेखि सुरू भएको छनोट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको पहिलो खेल बिहीबारको वर्षाले मैदान भिजेपछि टससमेत हुन नपाई रद्द गरिएको हो। खेल रद्द भएपछि दुवै टोलीले समान एक–एक अंक बाँडेका छन्।

नेपालले अब दोस्रो खेल यही वैशाख २९ गते बहराइनविरुद्ध खेल्नेछ।

छनोट प्रतियोगितामा आयोजक थाइल्यान्डसहित नेपाल, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएई गरी कुल ९ टोली सहभागी छन्। प्रतियोगितामा सहभागी टोलीहरूलाई तीन समूहमा विभाजन गरिएको छ।

नेपाल समूह ‘सी’ मा पर्छ, जहाँ हङकङ र बहराइन पनि छन्।
समूह ‘ए’ मा आयोजक थाइल्यान्ड, भुटान र कुवेत छन् भने समूह ‘बी’ मा युएई, मलेसिया र कतार रहेका छन्।

समूह चरणका खेलहरू डबल राउन्ड रोबिन प्रणालीमा खेलिनेछ, जसअनुसार हरेक टोलीले समूहमा रहेका अन्य टोलीसँग दुई–दुई पटक खेल्नेछ।
प्रत्येक समूहको शीर्ष टोली सुपर थ्री चरणमा प्रवेश गर्नेछ। सुपर थ्री चरणपछि शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन्।

गणेश थापालाई एन्फाको साधारणसभामा प्रवेश गर्न रोक

0

धुलिखेल: अदालतको आदेश अटेर गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्वअध्यक्ष गणेश थापालाई साधारण सभामा प्रवेश गर्न रोक लगाएको छ। धुलिखेलमा सुरू भएको एन्फाको साधारण सभामा भाग लिन पुगेका थापालाई सुरक्षाकर्मीमार्फत रोकिएको हो।

“बुवा यहीँ धुलिखेलमै हुनुहुन्छ, तर भित्र प्रवेश गर्न दिइएको छैन,” थापाका छोरा अभिषेकले जानकारी दिए, “हामीले अदालतको आदेश देखाउँदा पनि प्रवेश नदिइएको हो।”

पूर्वअध्यक्ष थापा आफ्ना समर्थकहरूसहित सभास्थल पुगेका थिए। प्रवेश नपाएपछि उनी सभास्थल बाहिरै बस्न बाध्य भएका छन्। फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकुवा भएपछि थापा पहिलो पटक एन्फाको साधारण सभामा सहभागी हुन गएका हुन्।

२१ वैशाखमा उच्च अदालत पाटनका न्यायाधीश सुदर्शनदेव भट्टको इजलासले थापाको पक्षमा आदेश दिएको थियो। सोही आदेशअनुसार उनी आज एन्फाको साधारण सभामा सहभागी हुन धुलिखेल पुगेका हुन्।

गणेश थापा आरसी ३२ क्लबको प्रतिनिधिका रूपमा साधारण सभामा जान लागेका थिए। सो क्लबले वैशाख १५ गते थापालाई आधिकारिक प्रतिनिधि चयन गरेको थियो।

एन्फाले अदालतको आदेशको अवज्ञा गर्दै थापालाई रोक लगाएपछि सभास्थलमा केहीबेर तनाव पनि देखिएको थियो।

नेपाल प्रकोप र विपद्का दृष्टिमा उच्च जोखिममा रहेको छ : कृषिमन्त्री अधिकारी

0

काठमाडौँ: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल प्रकोप र विपद्का दृष्टिले अत्यन्तै उच्च जोखिममा रहेको बताएका छन्।

श्रीलङ्काको कोलम्बोमा आयोजित एकीकृत बहुपक्षीय जोखिम पूर्वचेतावनीसम्बन्धी मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले नेपालको भूगोल—तराईको समथर भू-भागदेखि उच्च हिमाली क्षेत्रसम्म फैलिएको—का कारण विविध प्रकारका प्रकोपको जोखिम उच्च रहेको बताए। उहाँका अनुसार प्रत्येक वर्ष बाढी, पहिरो, खडेरी, शीतलहर, चट्याङ, र हिमताल विस्फोटजस्ता घटनाहरूले ठूलो जनधनको क्षति गराउँदै पूर्वाधार विनाश र आर्थिक गतिविधिमा गम्भीर असर पुर्‍याउने गरेको छ।

मन्त्री अधिकारीको सचिवालयका अनुसार, सो अवसरमा उहाँले जोखिमसम्बन्धी सूचनालाई राष्ट्रिय तथा स्थानीय विकास योजनामा समावेश गर्न, संस्थागत क्षमता अभिवृद्धि गर्न, र जीवनरक्षात्मक जानकारी संवेदनशील समुदायसम्म समयमै पुर्‍याउन नेपाल प्रतिबद्ध रहेको उल्लेख गरे।

“जलवायु परिवर्तनका कारण जोखिमहरूको आवृत्ति र अनिश्चितता अझ बढेको छ, जसको बढी मार दुर्गम तथा पहाडी भेगका समुदायले भोगिरहेका छन्,” मन्त्री अधिकारीले भने।

उहाँले जलवायु-उत्थानशील तथा प्रभावकारी पूर्वसूचना प्रणाली निर्माणका लागि सदस्य राष्ट्रहरूबीच साझा दृष्टिकोण र सहकार्य आवश्यक रहेकोमा जोड दिए।

श्रीलङ्का सरकार र क्षेत्रीय एकीकृत बहुजोखिम पूर्वचेतावनी प्रणालीको संयुक्त आयोजनामा भएको यस सम्मेलनमा अफ्रिकी र एसियाली देशहरूका प्रतिनिधिहरूले जोखिम व्यवस्थापन, पूर्वसूचना प्रणाली, र एकीकृत प्रयासबारे व्यापक छलफल गरेका छन्।

डिजिटल कुलतबाट आफू र बालबालिकालाई बचाउन हेर्नैपर्ने चलचित्र ‘झिल्को’

0

काठमाडौँ, २६ वैशाख — सानो ‘झिल्को’ ले जङ्गल दन्काइदिन सक्छ, ठीक त्यसै गरी डिजिटल कुलतको सानो लतले व्यक्ति, परिवार र समाजमा गहिरो असर पार्न सक्छ। यही यथार्थमा आधारित छ नयाँ नेपाली चलचित्र ‘झिल्को’, जसले मोबाइल र इन्टरनेटको दुरुपयोगले बालबालिकाको जीवनमा पार्ने असरलाई मार्मिक ढङ्गले प्रस्तुत गर्छ।

मोबाइल फोन अब केवल सम्पर्कको साधन रहेन, यो हाम्रो जीवनशैली नै निर्देशित गर्ने यन्त्र बनिसकेको छ। दुःखको कुरा, यसमा सबैभन्दा बढी फसिरहेका छन्—हाम्रा बालबालिका। निर्देशक यादव भट्टराईले यही समस्यालाई गहिरो दृष्टिकोणबाट उठाउँदै ‘झिल्को’ तयार पार्नुभएको छ।

आजभोलि खाना खानुभन्दा पहिला मोबाइल चलाउने, युट्युब हेर्ने र गेम खेल्ने बानी सामान्य भइसकेको छ। ‘झिल्को’ मा यी सबै अभ्यासले बालबालिका, अभिभावक र पारिवारिक सम्बन्धमा पार्ने नकारात्मक असरलाई कलात्मक ढंगले चित्रण गरिएको छ।

चलचित्रमा आयुषी ढकाल, विशाल पोखरेल, वर्षा सिवाकोटी र सुनिल पोखरेलको सशक्त अभिनयले कथालाई जीवन्त बनाएको छ। विशेषगरी अभिनेता सुनिल पोखरेलले चलचित्रबाट आफूले गहिरो सिकाइ पाएको अनुभव साट्नुभयो।

“चलचित्र खेलेपछि मलाई लाग्यो कि म आफैँ पनि डिजिटल कुलतबाट केही हदसम्म बाहिरिएको छु,” उहाँले भन्नुभयो, “बच्चाहरूलाई बचाउन हामी अभिभावक आफैँ सचेत बन्नुपर्छ। सुरूआत घरबाट, आफैँबाट हुनुपर्छ।”

उहाँले अब आफ्नै घरमा राति ११ बजेपछि वाइफाइ बन्द गर्ने नियम बनाएको बताउनुभयो। सुरुमा बच्चालाई मनाउन गाह्रो भए पनि विस्तारै परिवर्तन देखिन थालेको उहाँको अनुभव छ।

‘झिल्को’ मा एक पत्रकार परिवारको कथा छ—श्रीमती र छोरीसहितको खुसी जीवन। तर एक सानो डिजिटल लतले त्यो परिवारमा कसरी संकट ल्याउँछ भन्ने कुरालाई चलचित्रले संवेदनशील ढंगले देखाएको छ। चलचित्रको उद्देश्य स्पष्ट छ—भर्चुअल दुनियाँबाट बाहिर ल्याएर बालबालिकालाई वास्तविक जीवनमा रमाउन सिकाउने।

कोभिड-१९ को बन्दाबन्दीपछि मोबाइल र इन्टरनेटको पहुँच तीव्र रूपमा बढेको छ। अनलाइन पढाइसँगै मनोरञ्जनको नाममा मोबाइल चलाउने बानी झन् बढ्यो। तर, यही बानीलाई सीमित नगर्दा आजका बालबालिकाको भविष्य जोखिममा पर्दै गएको छ—‘झिल्को’ ले यही सन्देश दिन खोजेको छ।

निर्देशक यादव भट्टराई यसअघि ‘झोला’ र ‘भोर’ जस्ता सामाजिक यथार्थमा आधारित चलचित्रमार्फत चर्चामा आइसकेका छन्। ‘झोला’ ले सती प्रथाको विरोधमा आवाज उठायो भने ‘भोर’ ले मधेसको सामाजिक यथार्थ उजागर गर्‍यो। अब ‘झिल्को’ ले आधुनिक युगको अदृश्य कुलत—डिजिटल लतविरुद्ध चेतना फैलाउने प्रयास गरेको छ।

“हामीले सजिलो जीवन खोज्दै डिजिटल दुनियाँमा हराइरहेका छौँ,” निर्देशक भट्टराईले भन्नुभयो, “चलचित्रकर्मीको जिम्मेवारी केवल मनोरञ्जन होइन, समाजलाई सही दिशामा लैजान सन्देश दिनु पनि हो।”

चलचित्र हेरेका दर्शकले यसले अभिभावक, शिक्षक र विद्यालयका प्रमुखहरू सबैले हेर्नैपर्ने विषय उठाएको प्रतिक्रिया दिएका छन्। कतिपय अभिभावक सपरिवार चलचित्र हेर्न बालबालिका लिएर हलसम्म पुगेका छन्। यसको अर्थ चलचित्रले लक्षित उद्देश्य भेट्न थालेको छ।

चलचित्रको कथा लेखकमा भट्टराईसँगै अरूणदेव जोशी र देव व्रत छन्। मिडिया फर कल्चर प्रा.लि. को निर्माणमा बनेको यो चलचित्र वैशाख १९ गतेदेखि देशभर प्रदर्शन भइरहेको छ।

‘झिल्को’ हेरेपछि तपाईंलाई पनि लाग्न सक्छ—कहीं तपाईंको घरमा पनि डिजिटल कुलतको सानो झिल्को सल्किरहेको त छैन? समयमै सचेत हुन र कदम चाल्न प्रेरित गर्ने चलचित्र हो—‘झिल्को’।

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

0

कञ्चनपुर: दोधारा चाँदनी नगरपालिका–१ का ६० वर्षीय राम खड्का २०२२ सालमा डोटीको सिलगढीबाट बसाइँ सरेर भूमिराज टोलमा आए। जग्गाको अभावले खेती गर्न नसकेपछि उनी यहाँ झरेर दुई बिघा जमिनमा खेती गर्दै आएका छन्।

अहिले घर नजिकै सुक्खा बन्दरगाहको निर्माण सुरू भएपछि खड्का परिवार मात्र होइन, यहाँका अधिकांश स्थानीयमा रोजगारीको नयाँ आशा पलाएको छ। “पहिले जंगल, लुटेरा र सुविधा बिहीन ठाउँ थियो,” खड्काले विगत सम्झिँदै भन्नुभयो, “आज घरअगाडि बन्दरगाह बन्न थाल्यो भन्ने कल्पनासमेत थिएन।”

सुक्खा बन्दरगाह निर्माणका लागि हाल गौरीशङ्कर सामुदायिक वन क्षेत्रमा रुख कटान भइरहेको छ। इन्टरमोडल यातायात विकास समितिका इञ्जिनियर अनिश केसीका अनुसार, ४१ लाख रुपैयाँको ठेक्कामा १,५९३ रुख काट्ने काम भइरहेको हो। बन्दरगाहको लागि ४२.३६ हेक्टर क्षेत्रफलमा दुईवटा गोदाम, भन्सार चेकजाँच, क्वारेन्टाइन, इमिग्रेशन र सुरक्षा भवनहरू निर्माण हुनेछन्।

महाकाली नदीमा चार लेनको पक्की पुल र गड्डाचौकीदेखि बन्दरगाहसम्मको छ लेनको सडक निर्माण भइसकेको छ। खड्काका छोरा पुल निर्माणमा टिपर चालकको रूपमा कार्यरत थिए, तर पुल निर्माण सकिएपछि बेरोजगार छन्। “अब फेरि छोरा घरमै काम पाउँछ कि भन्ने आशा छ,” खड्काले भन्नुभयो।

स्थानीय नीरज भट्टका अनुसार, बन्दरगाह र पुल बनेपछि महेन्द्रनगर जान भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ। “अब यहाँबाट भारतको औद्योगिक क्षेत्र रुद्रपुर पुग्न दुई घण्टा मात्र लाग्छ,” उहाँले भन्नुभयो, “यसले सुदूरपश्चिमको आर्थिक रूपान्तरणमा टेवा पुर्‍याउनेछ।”

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य जङ्गबहादुर मल्लका अनुसार, सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिमको व्यापार विस्तार र रोजगारीका नयाँ अवसरहरू सिर्जना हुनेछन्।

नेपाल र भारत सरकारबीच २०२३ जुन १ मा हस्ताक्षर भएको समझदारीपत्रअनुसार निर्माण कार्य दुवैतर्फबाट अघि बढिरहेको छ। भारतीय पक्षले दुई अर्ब ५४ करोड ३१ लाख ९९ हजार भारतीय रुपैयाँ लागतमा निर्माणका लागि बोलपत्र आह्वान गरिसकेको छ।

सुक्खा बन्दरगाह निर्माणसँगै दोधारा चाँदनी मात्र होइन, सुदूरपश्चिमकै समग्र विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ।

जथाभाबी फोहर गर्नेदेखि सार्वजनिक जग्गा अतिक्रमण गर्नेसम्मलाई पाँच लाखसम्म जरिवाना

0

सिरहा, नवराजपुर: नवराजपुर गाउँपालिकाले आर्थिक विधेयक, २०८१ बुधबारदेखि लागू गर्दै सार्वजनिक सम्पत्तिमा अनियमितता गर्नेहरूलाई कडा आर्थिक कारबाही गर्ने व्यवस्था गरेको छ।

गाउँपालिकाको नयाँ कार्यविधिअनुसार सार्वजनिक स्थल तथा सडकमा जथाभाबी फोहोर फाल्नेले रु ५०० देखि रु २,५०० सम्म जरिवाना तिर्नुपर्नेछ। त्यस्तै, छाडा छाडिएका पशुचौपायाले हानी-नोक्सानी पु¥याएमा सो बराबरको क्षतिपूर्ति तिराउन सकिनेछ।

सार्वजनिक जग्गा अतिक्रमण गरेमा पहिलोपटक रु १०,००० र दोश्रोपटक रु १०,००० देखि रु ५०,००० सम्म जरिवाना लाग्नेछ। अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना हटाउने खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिनेछ। तर, आवासको वैकल्पिक व्यवस्था नभएसम्म उनीहरूलाई तत्काल नहटाइने सूचनामा उल्लेख छ।

सार्वजनिक पोखरी अतिक्रमण र सम्पत्तिमा क्षति पु¥याएमा रु ५०,००० देखि रु ५ लाखसम्म जरिवाना तोकिएको छ। व्यक्तिगत घटना दर्ता ३५ दिनभित्र गरेमा निःशुल्क हुने र त्यसपछि दर्ता गर्दा रु ५० जरिवाना तिर्नुपर्ने व्यवस्था पनि गरिएको छ।

गाउँपालिका अध्यक्ष शिव उद्गार यादवले सार्वजनिक जग्गा र सडक अतिक्रमणको समस्या समाधान गर्न यो आर्थिक कार्यविधि प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको छ।

रवीन्द्र मिश्रमाथि फेरि अर्को अभियोग लगाइयो

0

काठमाडौँ: राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रविरुद्ध तीनकुने घटनासँग जोडेर थप नयाँ अभियोग लगाइएको छ। पक्राउ परेको ४२औँ दिनमा उनलाई ‘आपराधिक उपद्रव’ अन्तर्गतको नयाँ कसूर लगाएर प्रहरीले अदालतमा उपस्थित गराएको हो।

राप्रपाका महामन्त्री शरदराज पाठकले मिश्रमाथि थप आरोप लगाइएप्रति असन्तुष्टि जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “रवीन्द्र मिश्रलाई पक्राऊ गरिएको आज ४२औँ दिनमा आएर ‘आपराधिक उपद्रव’ को नयाँ कसूर लगाएर प्रहरीले अदालतमा उपस्थित गराएको छ। एउटा प्रजातान्त्रिक विचारकलाई लामो समयसम्म थुनिएको र फरक मतप्रति पूर्ण रूपमा दमन गर्ने षड्यन्त्रपूर्वक प्रयास भइरहेको छ।”

पाठकले केही व्यक्तिहरू यस घटनाबाट हर्षित देखिए पनि राज्य सञ्चालकहरूलाई यस्तो निरङ्कुश प्रवृत्तिको अन्त्य सुखद नहुने चेतावनी दिएका छन्।

भारत-पाकिस्तानको आ-आफ्नै दाबी: लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो

0

काठमाडौं । भारत र पाकिस्तानबीचको तनाव पछिल्लो समय झनै चर्किएको छ। भारतको रक्षा मन्त्रालयले बुधबार राति पाकिस्तानले ड्रोन र मिसाइल प्रयोग गरेर भारतका विभिन्न सैन्य अड्डाहरूमा आक्रमण गर्ने प्रयास गरेको दाबी गरेको छ। अर्कोतर्फ, पाकिस्तानले भारतमाथि यस्तै प्रकारको आरोप लगाउँदै २५ वटा भारतीय ड्रोन खसालेको दाबी गरेको छ।

दुवै देशका दाबीहरूलाई स्वतन्त्र रूपमा पुष्टि गर्न भने सकिएको छैन।

भारतको रक्षा मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ कि पाकिस्तानले अवन्तीपुरा, श्रीनगर, जम्मू, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुधियाना, आदमपुर, बठिंडा, चण्डीगढ, नाल, फलोदी, उत्तरलाई र भुज लगायतका उत्तरी तथा पश्चिमी भारतका सैन्य प्रतिष्ठानहरूलाई लक्ष्यित गर्दै ड्रोन आक्रमणको प्रयास गरेको थियो। मन्त्रालयका अनुसार, यी प्रयासहरू ‘एकीकृत काउन्टर यूएएस ग्रिड’ र वायु रक्षा प्रणालीद्वारा निष्क्रिय पारिएका छन्।

मन्त्रालयले विभिन्न स्थानहरूबाट पाकिस्तानी ड्रोनका भग्नावशेष बरामद भएको र यसले आक्रमण पाकिस्तानबाट भएको प्रमाणित गर्ने जनाएको छ। साथै, भारतले पनि पाकिस्तानलाई ‘उस्तै तीव्रताका साथ’ जवाफ दिएको दाबी गरिएको छ। मन्त्रालयले बिहीबार बिहान भारतीय सशस्त्र सेनाले पाकिस्तानका विभिन्न स्थानमा रहेका वायु रक्षा राडार तथा प्रणालीहरूलाई निशाना बनाएको दाबी गर्दै लाहोरमा रहेको एक वायु रक्षा प्रणाली नष्ट गरिएको उल्लेख गरेको छ।

भारतले मे ७ मा आयोजित पत्रकार सम्मेलनमा ‘अपरेशन सिन्दूर’को सन्दर्भमा भनेको थियो कि आक्रमणका लक्ष्य सैन्य प्रतिष्ठानहरू थिएनन्। तर, भारतीय सैन्य संरचनामाथि कुनै पनि आक्रमण भएमा त्यसको उचित जवाफ दिइने चेतावनी पनि दिएको थियो।

रक्षा मन्त्रालयले पाकिस्तानले जम्मु–कश्मीरका कुपवाडा, बारामुल्ला, उरी, पुंछ, मेन्धर र राजौरी सेक्टरहरूमा नियन्त्रण रेखामा मोर्टार र तोपखाना प्रयोग गरेर ‘बिना उक्साहट’ गोलीबारी गरेको आरोप लगाएको छ। मन्त्रालयका अनुसार, पाकिस्तानी आक्रमणमा तीन महिला र पाँच बालबालिकासहित १६ निर्दोष नागरिकको ज्यान गएको छ।

यता, पाकिस्तानले पनि भारतीय आक्रमणको आरोप लगाउँदै २५ वटा भारतीय ड्रोन खसालेको दाबी गरेको छ। पाकिस्तानका अनुसार, ती ड्रोनहरू लाहोर, गुजरनवाला, चकवाल, अटक, रावलपिंडी, मियाँवाली र कराँचीमा खसालिएका हुन्।

पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले पत्रकार सम्मेलनमा भने, “भारतले मे ७ को रातदेखि ड्रोनको सहयोगमा घुसपैठ गर्ने प्रयास गरिरहेको छ।” उनले सेनाको कारबाही अझै जारी रहेको जानकारी दिए। भारतले भने यी आरोपहरूमाथि औपचारिक प्रतिक्रिया दिएको छैन।

बीबीसीले दुवै देशका दाबीहरूलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

इरानलाई हमासको अवस्थामा पुर्‍याउने इजरायलको चेतावनी

0

जेरुसेलम: इरान समर्थित हुथी विद्रोहीले बेन गुरियन विमानस्थलमा आक्रमण गरेको केही दिनपछि इजरायली रक्षामन्त्री योआव काट्जले इरानलाई हमासको अवस्थामा पुर्‍याउने चेतावनी दिएका छन्।

काट्जले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “म इरानी नेताहरूलाई चेतावनी दिन चाहन्छु—इजरायलले हतियार उपलब्ध गराउने, उक्साउने र हुथी आतङ्ककारी संगठनलाई आर्थिक सहयोग गर्ने जो–कोहीविरुद्ध कडा कारबाही गर्नेछ।”

उनले थपे, “तपाईंहरू प्रत्यक्ष रूपमा जिम्मेवार हुनुहुन्छ। हामीले बेरुतको हिजबुल्लाह, गाजाको हमास, र दमास्कसमा बशर अल असदसँग जे गरेका छौँ, त्यसैअनुसार तेहरानमा पनि हुनेछ।”

हिजबुल्लाहले २०२३ को अक्टोबरमा हमासको समर्थनमा आक्रमण सुरु गरेको थियो। गाजाका प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउँदै हुथी विद्रोहीहरूले आइतबार इजरायलको मुख्य विमानस्थल, तेल अभिभनजिकैको बेन गुरियन विमानस्थलमा आक्रमण गरेका थिए।

इरानले उक्त आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ। इजरायलले भने प्रतिक्रियास्वरूप विद्रोहीको नियन्त्रणमा रहेको राजधानी साना आसपासको विमानस्थल र विद्युत गृहहरूमा आक्रमण गरेको जनाएको छ।