Wednesday, July 1, 2026
Home Blog Page 479

प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने

0

काठमाडौं: प्रतिनिधि सभाको बैठक आज बिहीबार बिहान ११ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दैछ।

बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि सरकारद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यक्रम छ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

आजको बैठकमा सांसदहरूले सरकारको नीति तथा कार्यक्रमबारे आफ्ना धारणा राख्दै विचार प्रस्तुत गर्नेछन्।

भारत–पाकिस्तानबीच तनाव चुलियो, भारत तीन तिरबाट हाई अलर्टमा

0

काठमाडौं: पाकिस्तानको जवाफी कारबाही सुरु भएसँगै भारतले वायु, स्थल र समुद्री क्षेत्रमा हाई अलर्टको रणनीति अपनाएको छ। जम्मू–कश्मीर सीमावर्ती क्षेत्रमा पाकिस्तानी सेनाले गरेको गोलीबारी तथा बम आक्रमणमा कम्तीमा १५ जनाको ज्यान गएको र ५० भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पाकिस्तानी सेनाले सीमावर्ती अग्रपंक्तिका गाउँहरूलाई लक्षित गरी आक्रमण गरेको जनाइएको छ। टाइम्स अफ इन्डियाले समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै चार बालबालिका र एक सैनिकसहित १३ जनाको मृत्यु भएको जानकारी दिएको छ।

यस्तोमा पाकिस्तानबाट थप जवाफी कारबाही हुनसक्ने आँकलन गर्दै भारतले तीनै तिरबाट सुरक्षा सतर्कता बढाएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले पहलगाममा भारतीय पर्यटकको हत्यापछि भएको भारतीय आक्रमणको जवाफस्वरूप पाकिस्तानले कारबाही गरेको दाबी गरेका छन्। राष्ट्रको नाममा सम्बोधन गर्दै उनले भारतीय फाइटर विमान खसालेको पुष्टि भारतले नै गरिसकेको उल्लेख गर्दै त्यसलाई पाकिस्तानको तर्फबाट जवाफी कारबाही भएको बताएका हुन्।

भारतले पहलगाममा भएको आक्रमणको दोष पाकिस्तानमाथि लगाउँदै बुधबार राति क्षेप्यास्त्रसहित हवाई आक्रमण गरेको थियो। तर, इस्लामावादले उक्त घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ।

देशका अधिकांश भागको मौसम सफा रहने

0

काठमाडौँ: हाल देशभर पश्चिमी वायु र स्थानीय वायुसँगै बंगालको खाडी र अरबसागरबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराई तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात पनि हुनसक्ने अनुमान गरिएको छ।

आज राति पनि पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्यत्र मौसम सफा रहनेछ। पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो

0

मकवानपुर: हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमानामा पर्ने गैरी गाउँस्थित सडकमा गत वैशाख १९ गते भासिएको बलेरो जिपको अध्ययनका लागि खटिएको भूगर्भविद् टोली काठमाडौं फर्किएको छ।

टोली प्रमुख नारायण अधिकारीका अनुसार घटनास्थल वरिपरि जमिनको अवस्था झन् कमजोर बन्दै गएकाले खोज तथा अनुसन्धानमा अवरोध भएको हो। टोलीले स्थल आसपास बोरिङ गरी सङ्कलन गरिएको पानीको नमुना ल्याब परीक्षणका लागि काठमाडौं पठाएको छ। परीक्षणको रिपोर्ट आएपछि दोस्रो चरणको खोज तथा अनुसन्धान तीव्र रूपमा अघि बढाइने अधिकारीले जानकारी दिनुभयो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्यामुल अर्यालका अनुसार हालसम्म जिपको अत्तोपत्तो लागेको छैन। घटनास्थल वरिपरि जोखिम कायमै रहेकाले थप क्षति हुन नदिन सुरक्षा घेरा कायम गरिएको उहाँले बताउनुभयो।

काभ्रेको शिर मेमोरियल अस्पतालमा सिटी स्क्यान सेवा सुरु, ७ करोड ५० लाखको मेसिन जडान

0

काभ्रेपलाञ्चोक: जिल्लाको सबैभन्दा पुरानो शिर मेमोरियल एडभेन्टिस्ट अस्पतालमा सिटी स्क्यान सेवा सुरु गरिएको छ। अस्पताल स्थापना भएको ६५ वर्षपछि पहिलोपटक १२८ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिन जडान गरी सेवा प्रारम्भ गरिएको हो।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरसका अनुसार उक्त मेसिन र जेनेरेटर खरिद तथा जडानमा कुल ७ करोड ५० लाख रुपैयाँ (चार लाख ६० हजार अमेरिकी डलर) खर्च भएको छ। यो मेसिन रोटरी फाउन्डेसन, रोटरी क्लब अफ कुपन्डोल, रोटरी क्लब अफ काभ्रेपलाञ्चोक तथा ग्लोबल ग्रान्ट फन्डमार्फत विभिन्न दातृ संस्था, क्लब तथा व्यक्तिहरूको सहयोगमा खरिद गरिएको हो।

यसअघि पनि रोटरी क्लबको पहलमा अस्पतालमा डायलाइसिस सेवा सञ्चालनका लागि आवश्यक उपकरण उपलब्ध गराइएको थियो। १५० शय्याको यो अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनका लागि चिकित्सक तथा कर्मचारीले एक महिनाको तलबसमेत योगदान गरेका छन्।

डा. गायरसले सिटी स्क्यान मेसिन अस्पतालका लागि अत्यावश्यक पूर्वाधार भएको उल्लेख गर्दै अब सेवा आर्थिक अवस्था कमजोर बिरामीले पनि सहज रूपमा पाउने बताएका छन्। बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादेले आज उक्त सेवा औपचारिक रूपमा शुभारम्भ गर्नुभएको हो।

एडिबीको सहयोगमा महेन्द्रनगरमा अपाङ्गमैत्री पैदलमार्गसहितको १४ किलोमिटर सडक निर्माण

0

दोधारा चाँदनी (कञ्चनपुर): एशियाली विकास बैंक (एडिबी) को सहयोगमा भीमदत्त नगरपालिकाले महेन्द्रनगर बजार क्षेत्रको आधुनिकीकरण गर्दै १४ किलोमिटर कालोपत्रे सडक निर्माण सम्पन्न गरेको छ। सडकसँगै अपाङ्गमैत्री पैदलमार्ग, साइकल लेन, पार्क, र हरियालीसहितको पूर्वाधार विकास गरिएको हो।

नगरपालिकाका सब–इन्जिनियर पवन लेखकका अनुसार गुरुयोजनाअनुसार गरिएको विकासको पहिलो चरणमा एक अर्ब रुपैयाँको लगानीमा पाँच गल्लीलाई आठ मिटर चौडा बनाइएका छन्। साथै, २२ किलोमिटर ढल निकास, चार किलोमिटर रेलिङ, ७७६ बत्ती र आठवटा हाइमास्ट लाइट जडान गरिएका छन्। बिजुलीका पोल तथा तारहरू व्यवस्थापन गरिएका छन् र पार्किङ सुविधा पनि थपिएको छ।

दोस्रो चरण अन्तर्गत आठ किलोमिटर सडक र दश किलोमिटर ढल निकास निर्माणका लागि रु ६६ करोड बजेट स्वीकृत भइसकेको छ भने निर्माण प्रक्रिया अगाडि बढाइएको छ।

स्थानीय व्यवसायी जगदीशचन्द्र भट्टले महेन्द्रनगरलाई अझ व्यवस्थित गरेमा पर्यटन र लगानी प्रवर्द्धनमा मद्दत पुग्ने बताउनुभयो। “हालै बनेका अपाङ्गमैत्री पैदलमार्ग र साइकल लेनले बजारको आकर्षण थपेका छन्,” उहाँले भन्नुभयो।

महेन्द्रनगर बजारको निर्माण विसं २०१८ मा तत्कालीन राजा महेन्द्रको आदेशमा ब्रह्मदेवबाट सारेर गरिएको हो। बजारका पाँच गल्लीले फरक पहिचान बोकेका छन्—प्रत्येक गल्लीमा विशेष प्रकारका व्यवसायहरू छन्, जस्तै मेडिकल, बैंक, हार्डवेयर, पुस्तक पसल, होटल र फेन्सी पसलहरू। गल्ली नं. ५ (क्याम्पस रोड) सर्वाधिक व्यस्त क्षेत्र मानिन्छ।

स्थानीय इन्द्र साउदले परम्परागत स्वरूप नबिगारी गुरुयोजनाअनुसार बजार व्यवस्थापन गर्न जोड दिनुभयो। उहाँले अतिक्रमण रोक्न र सौन्दर्य बिगार्ने संरचनामाथि कडाइ गर्नुपर्ने धारणा राख्नुभयो।

एडिबीको सहयोगमा भइरहेको पूर्वाधार विकासले महेन्द्रनगर बजारलाई व्यवस्थित, सुरक्षित र लगानीमैत्री बनाएको व्यापारीहरूको प्रतिक्रिया छ।

जुम्लाका ४८० घरधुरी तीन महिनादेखि अन्धकारमा

0

जुम्ला: गुठीचौर गाउँपालिका–१ का नापानी, गढिगाउँ, मणि साँघु, डिल्लीकोट र मणि गाउँका ४८० घरधुरी विगत तीन महिनादेखि विद्युत् सेवा विहीन छन्।

स्थानीय अदालीखोला लघुजलविद्युत् आयोजना अन्तर्गतको ५५ किलोवाट क्षमताको जेनरेटर र ट्रान्समिटर गत फागुनदेखि बिग्रिएपछि बिजुली आपूर्ति पूर्ण रूपमा बन्द भएको हो। यता, समस्या समाधानका लागि सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयवासीहरूको गुनासो छ।

बिजुली नहुँदा बालबालिकाको पढाइ, मोबाइल चार्ज गर्न, कुटानी–पिसानी मिल, फर्निचर उद्योग जस्ता दैनिक गतिविधिहरूमा गम्भीर असर परेको स्थानीय गणेश ऐडीले जानकारी दिनुभयो।

आयोजनाका अध्यक्ष जितेन्द्र लामाले आर्थिक अभावका कारण जेनरेटर र ट्रान्समिटर मर्मत गर्न नसकिएको स्पष्ट पार्नुभयो।

गुठीचौर गाउँपालिका–१ का वडाध्यक्ष अर्जुनकुमार महताराले मर्मतका लागि स्थानीय सरकारले तीन लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको र आवश्यकता अनुसार थप बजेटको व्यवस्थापन गरिने जानकारी दिनुभयो। उहाँले चाँडै विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया अघि बढाइने आश्वासन दिनुभयो।

भारतका उच्च कूटनीतिज्ञलाई पाकिस्तानले बोलायो

0

काठमाडौं: पाकिस्तानको विदेश कार्यालयले एक विज्ञप्ति जारी गर्दै भारतको पछिल्लो हवाई आक्रमणप्रति कडा विरोध जनाएको जनाएको छ। पाकिस्तानले एक शीर्ष भारतीय कूटनीतिज्ञलाई बोलाएर उक्त आक्रमणको विरोध जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, “यी आक्रमणहरूका कारण महिला र बालबालिकासहित धेरै निर्दोष नागरिकहरूको ज्यान गएको छ।” पाकिस्तानले भारतको कदमलाई आफ्नो सार्वभौमसत्तामाथिको स्पष्ट उल्लङ्घन भनेको छ।

पाकिस्तानी विदेश कार्यालयका अनुसार, “भारतको यस्तो आक्रामक र गैरजिम्मेवार व्यवहारले अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र र दुई देशबीचका द्विपक्षीय महासन्धिहरूको गम्भीर उल्लङ्घन गर्दछ।”

विज्ञप्तिमा भारतलाई चेतावनी दिँदै भनिएको छ, “यस्ता क्रियाकलापहरूले क्षेत्रीय शान्ति र सुरक्षामा गम्भीर खतरा उत्पन्न गर्छन्।”

भारतले मंगलबार राति पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका केही स्थानमा हवाई आक्रमण गरेको थियो। पाकिस्तानी सैन्य प्रवक्ताका अनुसार, ती आक्रमणमा कम्तीमा २६ जना सर्वसाधारणको मृत्यु भएको र ४६ जना घाइते भएका छन्।

उता, भारतले भने जम्मु–कश्मीरको पुंछ क्षेत्रमा पाकिस्तानबाट गरिएको गोलाबारीमा कम्तीमा १० जना भारतीयको मृत्यु भएको र धेरै घाइते भएको दाबी गरेको छ।

भारत–पाकिस्तान तनावबीच जम्मु–कश्मीरमा तीन लडाकु विमान दुर्घटनाग्रस्त

0

श्रीनगर: भारतको जम्मु–कश्मीर क्षेत्रमा बुधबार तीनवटा लडाकु विमान दुर्घटनाग्रस्त भएका छन्। चारजना स्थानीय सरकारी स्रोतहरूले समाचार संस्था रोयटर्सलाई उक्त जानकारी दिएका हुन्।

यो घटना भारतले सीमा पार पाकिस्तानस्थित नौवटा “आतंकवादी पूर्वाधार” मा हवाई आक्रमण गरेको केही घण्टापछि भएको हो। भारतले उक्त कारबाहीलाई आतङ्क विरोधी ‘सर्जिकल स्ट्राइक’ भन्दै आतंकवादविरुद्धको कदमको रूपमा प्रस्तुत गरेको छ।

पाकिस्तानी सेनाका प्रवक्ताले रोयटर्ससँगको कुराकानीमा पाँचवटा भारतीय लडाकु विमान खसालेको दाबी गरेका छन्। तर, भारत सरकारले अहिलेसम्म पाकिस्तानको उक्त दाबीको पुष्टि गरेको छैन।

दुबै पक्षबीच जारी कडा तनावले क्षेत्रीय सुरक्षामा गम्भीर चासो उत्पन्न गराएको छ। पछिल्ला दिनहरूमा सीमाक्षेत्रमा गोलीबारी, ड्रोन आक्रमण तथा सैन्य सन्निकटता बढ्दो देखिएको छ। घटनाबारे विस्तृत विवरण अझै सार्वजनिक भइनसकेको र स्वतन्त्र पुष्टि गरिन बाँकी रहेको बताइएको छ।

यसैबीच, अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र कूटनीतिक माध्यमबाट तनाव समाधान गर्न भारत र पाकिस्तानलाई आग्रह गरिरहेका छन्।

भारत–पाकिस्तान तनाव चर्किएपछि प्रधानमन्त्री ओलीद्वारा सुरक्षा परिषद्को आकस्मिक बैठक

0

काठमाडौं: भारत र पाकिस्तानबीच चर्किएको तनावका कारण उत्पन्न सम्भावित क्षेत्रीय सुरक्षापरिस्थिति मूल्याङ्कन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद्को आकस्मिक बैठक डाकेका छन्।

सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, मुख्य सचिव एकनारायण अर्याल, नेपाल सेनाका रथी निर्मलकुमार थापा, नेपाल प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए।

बैठकमा भारत–पाकिस्तानबीच युद्ध सुरु भएको अवस्थामा खुला सीमाबाट हुने जोखिमका सन्दर्भमा विशेष छलफल गरिएको स्रोतले जनाएको छ। त्यसअनुसार सीमा क्षेत्रमा सुरक्षा निगरानी कडा पार्ने निर्णय गरिएको हो।

यसअघि गृह मन्त्रालयमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकले सीमा, विमानस्थल र संवेदनशील क्षेत्रमा सुरक्षा सतर्कता बढाउने निर्णय गरिसकेको थियो। त्यसको पालना गर्दै गृह मन्त्रालयले सबै सुरक्षा निकायलाई उच्च सतर्कता (हाइ अलर्ट) मा बस्न निर्देशन दिएको छ।

सशस्त्र प्रहरी बल, नेपालले भारतीय सशस्त्र सीमा बल (एसएसबी)सँग समन्वय गर्दै संयुक्त गस्ती, सूचनाको आदान–प्रदान र निगरानीलाई तीव्र बनाएको जनाएको छ। एक बिओपी (बोर्डर आउट पोस्ट) बाट अर्को बिओपीसम्म २४ घण्टा नियमित गस्ती गरिने व्यवस्था गरिएको छ।

सशस्त्र प्रहरीका अनुसार अवैध घुसपैठ रोक्न विशेष निर्देशनसहित सबै बाहिनीपतिको नेतृत्वमा सीमा सुरक्षालाई व्यवस्थित बनाउने प्रयास भइरहेको छ। चेकपोइन्टहरूमा आवश्यक कागजात तथा परिचयपत्रको परीक्षण र अभिलेख राख्ने कार्य समेत भइरहेको छ।

संवेदनशील स्थानहरूमा निगरानी, चेकजाँच र सूक्ष्म सूचना संकलनको कार्य पनि सक्रिय रूपमा जारी छ। यसका लागि नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग समेत समन्वय गरी सूचनाको आदान–प्रदान भइरहेको छ।

तर, नेपाल–भारत खुला सिमानाको दीर्घकालीन परम्परालाई ख्याल गर्दै सशस्त्र प्रहरी बलले नियमित र परम्परागत आवतजावतमा अनावश्यक असहजता नहोस् भन्ने विषयमा पनि सचेतता अपनाएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।