Wednesday, July 1, 2026
Homeखेलकुदमहिला टी–२० विश्वकप छनोट: नेपालले बहराइनलाई हरायो

महिला टी–२० विश्वकप छनोट: नेपालले बहराइनलाई हरायो

काठमाडौं। आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो जित दर्ता गरेको छ।

शनिबार थाइल्यान्डमा सम्पन्न वर्षाबाट प्रभावित खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गरेको हो।

वर्षाका कारण खेल ५ ओभरमा सीमित गरिएको थियो। टस हारेर पहिला ब्याटिङ गरेको बहराइनले १ विकेटको क्षतिमा ४१ रन बनायो।

४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमै १ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि कविता कुँवरले आक्रामक ब्याटिङ गर्दै ११ बलमा ४ चौकासहित १८ रन बनाइन्। सम्झना खड्काले १० बलमा नटआउट १३ रन तथा इन्दू बर्माले ५ बलमा नटआउट ७ रन जोडिन्।

यसअघि शुक्रबार नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको थियो।

नेपाल समूह ‘सी’ मा रहेको छ, जहाँ नेपालसँगै हङकङ र बहराइन छन्।

नेपालले आगामी वैशाख ३० गते हङकङ र जेठ १ गते बहराइनसँग पुनः प्रतिस्पर्धा गर्ने तालिका छ।

समूह चरण सकिएपछि समूह विजेता टोली फाइनल राउन्डमा प्रवेश गर्नेछ। फाइनल राउन्डमा तीन टोलीबीच प्रतिस्पर्धा हुनेछ, जहाँ शीर्ष दुई टोलीले आगामी विश्वकप छनोटमा स्थान बनाउनेछन्।

एसियाबाट दुई टोली विश्वकप छनोटमा पुग्नेछन्। उक्त छनोट प्रतियोगितामा १० टोली सहभागी हुनेछन्, जसमा शीर्ष चार टोलीले सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

नेपालले एसिया छनोटका लागि भारतको दिल्लीमा तयारी गरेको थियो, जहाँ उसले दिल्लीको महिला टोलीसँग पाँच अभ्यास खेल खेलेको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका