Tuesday, June 16, 2026
Home Blog Page 2

मध्यरातमा सुदूरपश्चिमको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, प्रतिपक्षद्वारा बहिष्कार

0

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ। सत्तारूढ दलभित्रकै असन्तुष्टिका कारण सोमबार बेलुका ५ बजेका लागि बोलाइएको प्रदेश सभा बैठक पटक–पटक स्थगित हुँदै मध्यरातमा मात्र बजेट प्रस्तुत गरिएको हो।

आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले प्रदेश सभामा बजेट प्रस्तुत गर्दै कृषि, पूर्वाधार विकास, रोजगार सिर्जना तथा आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राखिएको जानकारी दिए।

गत आर्थिक वर्षमा प्रदेश सरकारले ३३ अर्ब ५० करोड रुपैयाँको बजेट ल्याएको थियो। आगामी वर्षका लागि बजेटको स्रोत व्यवस्थापनमा आन्तरिक राजस्व, संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, अनुदान तथा मौज्दात रकमलाई आधार बनाइएको छ।

प्रदेश सरकारले आन्तरिक राजस्वबाट १ अर्ब ७२ करोड रुपैयाँ संकलन हुने अनुमान गरेको छ। त्यस्तै, संघीय राजस्व बाँडफाँटबाट १० अर्ब २४ करोड ९२ लाख ६६ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

बजेटका अन्य स्रोतहरूमा संघीय रोयल्टी बाँडफाँटबाट ७ करोड रुपैयाँ, संघीय वित्तीय समानीकरण अनुदानबाट ९ अर्ब ६ करोड ३३ लाख रुपैयाँ, संघीय सशर्त अनुदानबाट ६ अर्ब ३ करोड ५८ लाख रुपैयाँ, संघीय समपूरक अनुदानबाट ३८ करोड ८० लाख रुपैयाँ तथा संघीय विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। साथै चालु आर्थिक वर्षको बाँकी मौज्दात रकम ९ अर्ब ६५ करोड रुपैयाँ रहेको जनाइएको छ।

यता, बजेट प्रस्तुतिको समय र सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षी दलहरूले प्रदेश सभा बैठक बहिष्कार गरेका छन्। प्रतिपक्षी सांसदहरूले मध्यरातमा बजेट ल्याएर सरकारले संसदीय प्रक्रियाको उपेक्षा गरेको आरोप लगाएका छन्।

बैठकको सुरुमै धारणा राख्दै नेकपाका प्रदेश सभा सदस्य मानबहादुर धामीले मध्यरातमा बजेट प्रस्तुत गर्नु सरकारको ‘नाटक’ भएको टिप्पणी गरे। उनले बजेट प्रक्रियामा पारदर्शिता र राजनीतिक सहमतिको अभाव रहेको आरोप समेत लगाए।

सत्तारूढ दलभित्रको विवाद र प्रतिपक्षको विरोधबीच प्रस्तुत गरिएको यो बजेट आगामी दिनमा प्रदेश राजनीतिमा थप बहसको विषय बन्ने देखिएको छ।

गोकर्णेश्वरवासीलाई केएमसीमा उपचारमा ५० प्रतिशतसम्म छुट, नगरपालिकाले खर्च व्यहोर्ने

0

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका स्थायी बासिन्दाले काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचार गराउँदा ५० प्रतिशतसम्म सहुलियत पाउने भएका छन्। यस सम्बन्धमा गोकर्णेश्वर नगरपालिका र काठमाडौं मेडिकल कलेज (केएमसी) पब्लिक लिमिटेडबीच सोमबार स्वास्थ्य उपचारमा छुट उपलब्ध गराउने सम्झौता भएको छ।

सम्झौतापत्रमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यामनारायण गौली र केएमसी पब्लिक लिमिटेडका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार गोकर्णेश्वरका स्थायी बासिन्दाले केएमसीको दुवाकोट युनिटमा साधारण शैयामा भर्ना भई उपचार गराउँदा औषधि, औषधिजन्य सामग्री, उपकरण, इम्प्लान्ट, क्याबिन तथा केही विशेष सेवाबाहेक अन्य उपचार खर्चमा ५० प्रतिशत छुट पाउनेछन्। यस्तै, सिनामंगलस्थित शाखामा उपचार गराउँदा सोही प्रकृतिका सेवामा २५ प्रतिशत छुट उपलब्ध हुनेछ।

दुवाकोट युनिटमा उपचार गरिएका बिरामीको कुल खर्चको ५० प्रतिशत र सिनामंगल शाखामा उपचार गरिएका बिरामीको कुल खर्चको ७५ प्रतिशत रकम गोकर्णेश्वर नगरपालिकाले अस्पताललाई शोधभर्ना गर्ने व्यवस्था गरिएको छ।

केएमसीका सञ्चालक डा. सुनिल शर्माले स्वास्थ्य बीमा, विपन्न तथा गरिब लक्षित कार्यक्रम, गोकर्णेश्वर नगरपालिकाको सहुलियत र केएमसीको छुटसमेत जोड्दा मिर्गौला रोगीले १० लाख रुपैयाँसम्मको उपचार निःशुल्क प्राप्त गर्न सक्ने बताए।

नगर प्रमुख दीपककुमार रिसालले गोकर्णेश्वरवासीलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न स्वास्थ्य संस्थासँग सहकार्य गरिएको जानकारी दिए। उनले वडास्तरका स्वास्थ्य चौकी, नगर अस्पताल तथा निजी अस्पतालहरूसँगको सहकार्यमार्फत नगरवासीलाई सहुलियतपूर्ण उपचार सेवा उपलब्ध गराउने योजना रहेको बताए।

उनका अनुसार हाल करिब ३० करोड रुपैयाँको लागतमा नगर अस्पताल निर्माण भइरहेको छ।

सम्झौताअनुसार उपचारका क्रममा आवश्यक पर्ने रगत उपलब्ध गराउन नगरपालिकाले सिफारिस गर्नेछ। रगतको प्रयोगशाला परीक्षण शुल्कबापत प्रतिपिन्ट १ हजार २१० रुपैयाँ नगरपालिकाले अस्पताललाई शोधभर्ना गर्ने व्यवस्था गरिएको छ।

उपचार सहुलियत प्राप्त गर्न सेवाग्राहीले निवेदन, नागरिकता, मतदाता परिचयपत्र, विवाह दर्ता प्रमाणपत्र, नाबालकका हकमा जन्मदर्ता प्रमाणपत्र तथा बीमितका लागि बीमा कार्ड पेश गर्नुपर्नेछ।

उपचार सम्पन्न भएपछि अस्पतालले खर्च विवरण, बिल, उपचार कार्ड, नगरपालिकाको सिफारिसपत्र तथा स्थायी बसोबास पुष्टि हुने कागजात स्वास्थ्य शाखामा पेश गर्नेछ। त्यसपछि नगरपालिकाले ३० दिनभित्र सम्बन्धित रकम भुक्तानी गर्ने व्यवस्था गरिएको छ।

यो सम्झौता आगामी साउन १ गतेदेखि लागू भई २०८४ असार मसान्तसम्म कायम रहनेछ।

‘आमा’ गीतबाट डा. रुद्रनाथ अधिकारीलाई दोहोरो सफलता, उत्कृष्ट गीतकार र उत्कृष्ट गीतको सम्मान

0

काठमाडौं । प्रसिद्ध ज्योतिषाचार्य, कर्मकाण्डविद् तथा गीतकार डा. रुद्रनाथ अधिकारीले राष्ट्रिय समावेशी म्युजिक अवार्ड (एनआईएम अवार्ड) को नवौं संस्करणमा दोहोरो सफलता हासिल गरेका छन्। उनको रचनामा आधारित मातृभक्ति गीत ‘आमा’ सुगम संगीत (पुरुष) विधातर्फ उत्कृष्ट घोषित भएको छ भने उनी स्वयं वर्षको उत्कृष्ट गीतकार अवार्डबाट सम्मानित भएका छन्।

ज्योतिष, कर्मकाण्ड, धर्मशास्त्र र साहित्य क्षेत्रमा समान रूपमा सक्रिय डा. अधिकारी बहुआयामिक व्यक्तित्वका रूपमा परिचित छन्। उनका सिर्जनामा जीवन, समाज, संस्कृति र मानवीय संवेदनाका विविध पक्षहरू प्रभावकारी रूपमा अभिव्यक्त हुने गरेका छन्।

साहित्यिक गहिराइ र सांगीतिक संवेदनशीलताको समिश्रण उनका गीतहरूको विशेषता मानिन्छ। उनका शब्दहरूमा भावनात्मक गहनता, अर्थपूर्ण सन्देश र संगीतको मर्म झल्किने गरेको समीक्षकहरूको भनाइ छ।

पछिल्ला वर्षहरूमा उनी साहित्य, पुस्तक तथा गीत लेखनमा निरन्तर सक्रिय छन्। उनका विभिन्न कृतिहरू प्रकाशित भइसकेका छन् भने आफ्ना गीत तथा सांगीतिक सामग्रीहरू ‘Dr. Rudranath Adhikari’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गर्दै आएका छन्।

उनका चर्चित गीतहरूमा ‘आमा’, ‘यस्तै रहेछ भाग्य’, ‘बुझ मायालु’, ‘तिम्रो मेरो प्रेम कहानी’, ‘मदहोश’, ‘यसपालिको तिज’, ‘एक पानीको थोपा’, ‘सपना जिउँदैछन्’, ‘आऊन् माया आऊ’ र ‘या लिएर आऊ’ लगायत रहेका छन्। तीमध्ये केही गीतका म्युजिक भिडियो पनि दर्शक तथा श्रोतामाझ लोकप्रिय बनेका छन्।

सांगीतिक क्षेत्रमा आफू नयाँ भए पनि निरन्तर सिक्ने र अगाडि बढ्ने अठोटका साथ काम गरिरहेको डा. अधिकारी बताउँछन्। उनका अनुसार प्रारम्भिक चरणमा चुनौतीहरू स्वाभाविक भए पनि त्यसबाट पछि नहटी अनुभव र अभ्यासमार्फत आफूलाई अझ परिष्कृत बनाउँदै लैजाने लक्ष्य रहेको छ।

धार्मिक तथा सामाजिक क्षेत्रमा समेत सक्रिय डा. अधिकारी धर्म, संस्कार र संस्कृतिको संरक्षणका साथै दीनदुःखी, असहाय तथा विपन्न समुदायको सेवामा पनि समर्पित रहँदै आएका छन्। उनले आफ्नो बाँकी जीवन परोपकार, साहित्य, सिर्जना र संगीतको क्षेत्रमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

‘आमा’ गीतलाई आफ्नो हृदयसँग जोडिएको विशेष सिर्जना बताउँदै उनले यस गीतले हरेक सन्तानको मातृप्रेम र भावनालाई समेट्ने प्रयास गरेको उल्लेख गरे। गीतले प्राप्त गरेको सम्मानले आफूलाई थप ऊर्जा र प्रेरणा मिलेको तथा आगामी सांगीतिक यात्रामा अझ उत्साहका साथ अघि बढ्न हौसला प्रदान गरेको उनले बताए।

आज पनि वर्षा र चट्याङको सम्भावना, लुम्बिनी–सुदूरपश्चिमका तराईमा तातो दिन रहने

0

काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ।

देशको हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशको तराई भूभागमा साधारणतया बादल तथा मधेश प्रदेशमा आंशिक बादल लागेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । मधेश प्रदेश तथा कोशी,बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक र दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई भूभागको एकरदुई स्थानमा पनि मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ ।

राति देशको हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल तथा अन्य तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम वर्षारहिमपात तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक र दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

चीनको सिनजियाङमा एक महिने ‘बाख्रा डुबाउने सिजन’ सुरु, लाखौँ पशुमा रोग रोकथाम अभियान

0

एजेन्सी। उत्तरपश्चिम चीनको सिनजियाङ उइगुर स्वायत्त क्षेत्रअन्तर्गत इली नदी उपत्यकामा एक महिना लामो बाख्रा डुबाउने (नुहाउने) सिजन सुरु भएको छ।

गर्मी याममा बाख्रा तथा गाईवस्तुहरू स्वस्थ रहून् र चरनमा रोगको जोखिम कम होस् भन्ने उद्देश्यले यो अभ्यास गरिँदै आएको हो।

पछिल्लो तथ्यांकअनुसार गोङ्लिउ काउन्टी र टेक्स काउन्टीमा मात्रै ११ लाख ५० हजारभन्दा बढी बाख्राहरूलाई नुहाइएको छ। यस प्रक्रियाले परजीवी तथा विभिन्न कीटाणु नष्ट गर्न मद्दत गर्ने विश्वास गरिएको छ।

चरनमा पठाउनुअघि बाख्राहरूलाई खोप समेत लगाइने गरिएको किसानहरूले बताएका छन्। उनीहरूका अनुसार यसरी नुहाउँदा बाख्रामा हुने परजीवी नियन्त्रण हुने, रोग संक्रमणको जोखिम घट्ने तथा शरीर सफा रहने मात्र होइन, ऊनको गुणस्तर पनि सुधार हुने गर्दछ।

इली नदी उपत्यकाभरि सञ्चालन भइरहेको यो पशुधन रोग रोकथाम तथा बाख्रा डुबाउने अभियान जुलाई १० भित्र सम्पन्न गरिने जनाइएको छ।

युद्ध अन्त्यको सहमतिपछि पनि अमेरिकाप्रति इरानको गहिरो अविश्वास कायमै

0

तेहरान। युद्ध अन्त्य गर्ने उद्देश्यका साथ हालै महत्त्वपूर्ण सहमति जुटे पनि संयुक्त राज्य अमेरिकाप्रति आफ्नो गहिरो अविश्वास अझै कायम रहेको इरानले स्पष्ट पारेको छ।

इरानी विदेश मन्त्रालयले सोमबार आयोजित नियमित साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता इस्माइल बघाईले अमेरिकी नेतृत्वका विगतका नीतिहरू र व्यवहारका कारण इरानी जनतामा गहिरो अविश्वास उत्पन्न भएको बताए।

उनका अनुसार लामो समयदेखि देखिँदै आएका अमेरिकी नीतिगत गतिविधिका कारण इरानमा वासिङ्टनप्रति संशय कायम रहेको र यसलाई हटाउन अमेरिकाले अझै धेरै समय र प्रयास लगाउनुपर्नेछ।

फेब्रुअरीको अन्त्यतिर सुरु भएको युद्ध रोक्ने पहलका लागि तयार पारिएको नयाँ प्रस्तावको ढाँचा अन्तिम समाधान नभएको पनि इरानले स्पष्ट पारेको छ। प्रवक्ता बघाईका अनुसार यो सहमति केवल क्षेत्रीय तनाव घटाउने र युद्ध अन्त्यतर्फको प्रारम्भिक कदम मात्र हो।

युद्धविराम र शान्ति स्थापनाका लागि सहमति भए पनि ऐतिहासिक पृष्ठभूमि र अमेरिकी रणनीतिका कारण इरानले यस सम्झौतालाई पूर्ण भरोसाका साथ नलिएको बताउँदै आगामी दिनमा अमेरिकाको व्यवहारले नै दुई देशबीचको सम्बन्धको भविष्य निर्धारण गर्ने संकेत तेहरानले दिएको छ।

सत्तारूढ दलमै विवाद, सुदूरपश्चिम प्रदेशको बजेट प्रस्तुति अन्योलमा

0

धनगढी । सत्तारूढ दलभित्रै सहमति जुट्न नसक्दा सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुति अन्योलमा परेको छ। बजेट सार्वजनिक गर्न सोमबार बेलुका ५ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको भए पनि सत्तारूढ नेकपा एमालेका प्रदेश सभा सदस्यहरू अनुपस्थित हुने अडानमा रहेपछि बैठकको भविष्य अनिश्चित बनेको हो।

नेकपा एमालेका प्रदेश सभा सदस्यहरूले योजना छनोट प्रक्रियामा मुख्यमन्त्री र आर्थिक मामिला मन्त्रीले एकलौटी गरेको आरोप लगाउँदै प्रदेश सभा बैठकमा सहभागी नहुने निर्णय यथावत् रहेको बताएका छन्।

यद्यपि विवाद समाधानका लागि दलभित्र छलफल र सहमतिका प्रयास जारी रहेको जनाइएको छ। यस विषयमा आर्थिक मामिला मन्त्री तथा उनको सचिवालयसँग सम्पर्क गर्न खोजिए पनि प्रतिक्रिया प्राप्त हुन सकेन।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३८ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। उक्त बजेट सार्वजनिक भएमा सुदूरपश्चिम प्रदेशको इतिहासमै सबैभन्दा ठूलो बजेट हुने अपेक्षा गरिएको छ।

यसअघि प्रदेश सरकारले सबैभन्दा ठूलो आकारको ३६ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको थियो। चालु आर्थिक वर्ष २०८२/०८३ का लागि भने ३१ अर्ब रुपैयाँ बराबरको बजेट ल्याइएको थियो।

सत्तारूढ गठबन्धनभित्रकै असन्तुष्टिका कारण बजेट प्रस्तुति प्रभावित भएपछि प्रदेश सरकारमाथि राजनीतिक तथा प्रशासनिक दबाब बढेको छ।

कोशी प्रदेशको ४० अर्ब ४५ करोडको बजेट, आईटी पार्कदेखि एआई तालिमसम्म नयाँ प्राथमिकता

0

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले सोमबार प्रदेश सभामा ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणको लक्ष्यसहित बजेट प्रस्तुत गरेका हुन्।

यो बजेट प्रदेश स्थापना भएयताको तेस्रो ठूलो बजेट हो। चालु आर्थिक वर्षको तुलनामा बजेटको आकार १२.७४ प्रतिशतले बढेको छ।

कुल बजेटमध्ये चालु खर्चतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ, पुँजीगत खर्चतर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ १५ करोड रुपैयाँ विनियोजन गरिएको छ। बजेटका लागि आन्तरिक राजस्व, संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट, अनुदान तथा चालु आर्थिक वर्षको नगद मौज्दातलाई स्रोतका रूपमा उपयोग गरिने भएको छ।

यसपटकको बजेटमा प्रविधि र नवप्रवर्तनलाई विशेष प्राथमिकता दिइएको छ। सरकारले धनकुटाको चौबीसे क्षेत्रमा २ करोड रुपैयाँको लागतमा आईटी पार्क निर्माण गर्ने घोषणा गरेको छ। साथै प्रदेशभरका ५ हजार युवालाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा सूचना प्रविधिसम्बन्धी विशेष तालिम प्रदान गर्ने योजना अघि सारेको छ।

संस्कृति र परम्पराको संरक्षणका लागि दक्षिण एसियाली तन्त्र, वास्तु तथा ज्योतिष अध्ययन–अनुसन्धान केन्द्र सञ्चालन गर्ने कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ।

यातायात व्यवस्थापनलाई आधुनिक बनाउन प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा जीपीएस प्रणाली अनिवार्य गर्ने घोषणा गरिएको छ। पर्यटन क्षेत्रको विकासका लागि आगामी दुई वर्षलाई ‘कोशी प्रदेश भ्रमण वर्ष’का रूपमा मनाइने भएको छ।

त्यसैगरी झापा र मोरङमा प्रयोगविहीन अवस्थामा रहेका कोभिड होल्डिङ सेन्टरहरूलाई सुधारगृह तथा पुनर्स्थापना केन्द्रका रूपमा रूपान्तरण गरिने भएको छ।

सरकारले सुशासन, आर्थिक तथा भौतिक पूर्वाधार विकास, सामाजिक क्षेत्रको सुदृढीकरण, विपद् व्यवस्थापन र वित्तीय अनुशासनलाई बजेटका प्रमुख प्राथमिकता बनाएको जनाएको छ। कार्यसम्पादन प्रभावकारी बनाउन संगठन संरचना तथा दरबन्दी पुनरावलोकन गरिने र हाल लागू रहेको आइतबारको सार्वजनिक बिदाबारे पनि समीक्षा गरिने मन्त्री लिङ्थेपले बताए।

ऊर्जा क्षेत्रतर्फ जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत ताप्लेजुङका घुन्सा र सिम्बुवा खोला जलविद्युत् आयोजनाका लागि १५ करोड रुपैयाँ तथा सोलुखुम्बुको आमादब्लम जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

खेलकुद पूर्वाधार विकासअन्तर्गत विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानका लागि ५ करोड रुपैयाँ छुट्याइएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसमेत राखेको छ।

वक्तव्य-र-अनुसूची

होर्मुज मार्ग खुल्ने सहमतिपछि कच्चा तेलको मूल्य तीव्र गिरावट, मार्चयताकै न्यून स्तरमा

0

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानका उपपरराष्ट्रमन्त्रीबीच युद्ध अन्त्य र स्ट्रेट अफ होर्मुजबाट हुने यातायात पुनः सञ्चालन गर्ने विषयमा प्रारम्भिक सहमति भएको खबरपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। मूल्य गिरावटसँगै तेल मार्च महिनायताकै न्यून स्तरमा पुगेको हो।

समाचार सार्वजनिक भएपछि ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ३.५८ डलर (४.१० प्रतिशत) ले घटेर ८३.७५ डलरमा झरेको छ। अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्युटीआई) को मूल्य पनि ४.०१ डलर (४.७२ प्रतिशत) ले घटेर ८०.८७ डलर कायम भएको छ। यसअघि गत शुक्रबार पनि यी दुवै सूचकमा तीन प्रतिशतभन्दा बढी गिरावट आएको थियो।

मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानका प्रधानमन्त्रीका अनुसार अमेरिका र इरानले आगामी शुक्रबार स्विट्जरल्यान्डमा एक समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरेका छन्। राष्ट्रपति ट्रम्पले आइतबार स्ट्रेट अफ होर्मुज अब कुनै शुल्कविना खुला रहने र इरानी बन्दरगाहहरूमा अमेरिकी नौसेनाले लगाएको नाकाबन्दी हटाइने बताएका थिए।

इरानको अर्ध-सरकारी मेहर समाचार एजेन्सीका अनुसार प्रस्तावित सम्झौतामा इरानी व्यवस्थापनअन्तर्गत ३० दिनभित्र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने व्यवस्था समावेश गरिएको छ।

केसीएम ट्रेडका मुख्य बजार विश्लेषक टिम वाटररले तेलको आपूर्ति पुनः सामान्य अवस्थामा फर्किन सक्ने अपेक्षाले बजारमा रहेको भूराजनीतिक जोखिमको मूल्य तीव्र रूपमा घटिरहेको बताए। उनका अनुसार व्यापारीहरूले अब तेल प्रवाह पुनः सुरु हुने सम्भावनालाई प्राथमिकताका साथ मूल्याङ्कन गरिरहेका छन्।

स्ट्रेट अफ होर्मुज विश्वको कुल तेल तथा तरल प्राकृतिक ग्यास आपूर्तिको करिब पाँचौँ हिस्सा बोक्ने प्रमुख समुद्री मार्ग हो। युद्धका कारण यो मार्ग तीन महिनाभन्दा बढी समय बन्द हुँदा विश्व बजारले ठूलो परिमाणमा तेल र ग्यास आपूर्ति गुमाएको थियो।

लगानीकर्ताहरू अहिले पश्चिम एसियाली उत्पादकहरूले कति चाँडो उत्पादन र निर्यात पुनः सुरु गर्न सक्छन् भन्ने विषयमा ध्यान केन्द्रित गरिरहेका छन्। कमोडिटिज रणनीतिकार विवेक धरले स्ट्रेट अफ होर्मुजबाट हुने प्रवाह युद्धपूर्वको ६०–७० प्रतिशतसम्म मात्रै फर्किए पनि बजारलाई स्थिर बनाउन पर्याप्त हुन सक्ने बताएका छन्।

इरानका उपपरराष्ट्रमन्त्री काजेम गरबाबादीले ६० दिनको युद्धविराम अवधिमा थप व्यापक सम्झौताका लागि वार्ता जारी रहने बताएका छन्। आईजी बजार विश्लेषक टोनी सिकामोरका अनुसार आगामी चरणको वार्ता, विशेष गरी आणविक विषयसँग सम्बन्धित अनिश्चितताले कच्चा तेलको मूल्य तत्कालै धेरै तल झर्ने सम्भावना सीमित बनाइरहेको छ।

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो आजको विनिमयदर, अमेरिकी डलर १५२ रुपैयाँ नजिक

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७० पैसा र बिक्रीदर १७६ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ। त्यसैगरी, बेलायती पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ६३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४४ पैसा तथा स्वीस फ्र्याङ्क एकको खरिददर १९० रुपैयाँ ५३ पैसा र बिक्रीदर १९१ रुपैयाँ २८ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४४ पैसा कायम गरिएको छ भने क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०९ रुपैयाँ निर्धारण गरिएको छ। सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ २५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७२ पैसा रहेको छ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा कायम गरिएको छ।

खाडी मुलुकका मुद्रातर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४७ पैसा र बिक्रीदर ४० रुपैयाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८२ पैसा तथा युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

यता भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

नेपाल राष्ट्र बैंकले आवश्यकता अनुसार जुनसुकै समयमा विनिमयदर संशोधन गर्न सकिने जनाएको छ।