काठमाडौं । प्रसिद्ध ज्योतिषाचार्य, कर्मकाण्डविद् तथा गीतकार डा. रुद्रनाथ अधिकारीले राष्ट्रिय समावेशी म्युजिक अवार्ड (एनआईएम अवार्ड) को नवौं संस्करणमा दोहोरो सफलता हासिल गरेका छन्। उनको रचनामा आधारित मातृभक्ति गीत ‘आमा’ सुगम संगीत (पुरुष) विधातर्फ उत्कृष्ट घोषित भएको छ भने उनी स्वयं वर्षको उत्कृष्ट गीतकार अवार्डबाट सम्मानित भएका छन्।
ज्योतिष, कर्मकाण्ड, धर्मशास्त्र र साहित्य क्षेत्रमा समान रूपमा सक्रिय डा. अधिकारी बहुआयामिक व्यक्तित्वका रूपमा परिचित छन्। उनका सिर्जनामा जीवन, समाज, संस्कृति र मानवीय संवेदनाका विविध पक्षहरू प्रभावकारी रूपमा अभिव्यक्त हुने गरेका छन्।
साहित्यिक गहिराइ र सांगीतिक संवेदनशीलताको समिश्रण उनका गीतहरूको विशेषता मानिन्छ। उनका शब्दहरूमा भावनात्मक गहनता, अर्थपूर्ण सन्देश र संगीतको मर्म झल्किने गरेको समीक्षकहरूको भनाइ छ।
पछिल्ला वर्षहरूमा उनी साहित्य, पुस्तक तथा गीत लेखनमा निरन्तर सक्रिय छन्। उनका विभिन्न कृतिहरू प्रकाशित भइसकेका छन् भने आफ्ना गीत तथा सांगीतिक सामग्रीहरू ‘Dr. Rudranath Adhikari’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गर्दै आएका छन्।
उनका चर्चित गीतहरूमा ‘आमा’, ‘यस्तै रहेछ भाग्य’, ‘बुझ मायालु’, ‘तिम्रो मेरो प्रेम कहानी’, ‘मदहोश’, ‘यसपालिको तिज’, ‘एक पानीको थोपा’, ‘सपना जिउँदैछन्’, ‘आऊन् माया आऊ’ र ‘या लिएर आऊ’ लगायत रहेका छन्। तीमध्ये केही गीतका म्युजिक भिडियो पनि दर्शक तथा श्रोतामाझ लोकप्रिय बनेका छन्।
सांगीतिक क्षेत्रमा आफू नयाँ भए पनि निरन्तर सिक्ने र अगाडि बढ्ने अठोटका साथ काम गरिरहेको डा. अधिकारी बताउँछन्। उनका अनुसार प्रारम्भिक चरणमा चुनौतीहरू स्वाभाविक भए पनि त्यसबाट पछि नहटी अनुभव र अभ्यासमार्फत आफूलाई अझ परिष्कृत बनाउँदै लैजाने लक्ष्य रहेको छ।
धार्मिक तथा सामाजिक क्षेत्रमा समेत सक्रिय डा. अधिकारी धर्म, संस्कार र संस्कृतिको संरक्षणका साथै दीनदुःखी, असहाय तथा विपन्न समुदायको सेवामा पनि समर्पित रहँदै आएका छन्। उनले आफ्नो बाँकी जीवन परोपकार, साहित्य, सिर्जना र संगीतको क्षेत्रमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘आमा’ गीतलाई आफ्नो हृदयसँग जोडिएको विशेष सिर्जना बताउँदै उनले यस गीतले हरेक सन्तानको मातृप्रेम र भावनालाई समेट्ने प्रयास गरेको उल्लेख गरे। गीतले प्राप्त गरेको सम्मानले आफूलाई थप ऊर्जा र प्रेरणा मिलेको तथा आगामी सांगीतिक यात्रामा अझ उत्साहका साथ अघि बढ्न हौसला प्रदान गरेको उनले बताए।


