काठमाडौं । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ। यसैबीच, उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्र थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा सामान्यतया बदली रहेको छ। कोशी र मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभाग, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा सामान्यतया बदली रहनेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा भने आंशिक बदली रहने अनुमान छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागसहित देशका अधिकांश तराई क्षेत्रमा आंशिक बदली रहनेछ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।


