Monday, September 21, 2026
Homeसामाचारदमौली–भरतपुर प्रसारण लाइनका सबै सामुदायिक वनमा रुख कटान स्वीकृति

दमौली–भरतपुर प्रसारण लाइनका सबै सामुदायिक वनमा रुख कटान स्वीकृति

तनहुँ । दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि तनहुँतर्फ पर्ने सबै सामुदायिक वनमा रुख कटानको आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ। १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माण भइरहेको प्रसारण लाइनका लागि डिभिजन वन कार्यालयले रुख कटानको अनुमति दिएको हो।

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइन क्षेत्रमा पर्ने रुखको छपान तथा टाँचा लगाउने कार्य सम्पन्न भएपछि डिभिजन वन कार्यालयले थप १२ सामुदायिक वनमा प्रवेश गरी रुख कटान गर्न स्वीकृति दिएको हो। यससँगै प्रसारण लाइन क्षेत्रभित्र पर्ने तनहुँका सबै १७ सामुदायिक वनमा रुख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएको छ।

प्रसारण लाइन क्षेत्रमा देवघाट गाउँपालिकाका पाँच, बन्दीपुर गाउँपालिकाका छ र व्यास नगरपालिकाका छवटा सामुदायिक वन पर्दछन्। चितवनतर्फ भने रुख कटानको काम भइरहेको आयोजना प्रमुख भण्डारीले जानकारी दिए।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणको प्याकेज–३ अन्तर्गत करिब ३५ किलोमिटर क्षेत्रमा ९४ वटा टावर निर्माण गर्नुपर्नेछ। निर्माण व्यवसायी केइसी इन्टरनेशनल लिमिटेड, भारतले हालसम्म ८३ वटा टावरको जग निर्माण तथा ७८ वटा टावर जडानको काम सम्पन्न गरिसकेको छ।

आयोजना प्रमुख भण्डारीका अनुसार प्याकेज–३ को समग्र निर्माण प्रगति ८२ प्रतिशत पुगेको छ। रुख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएसँगै प्रसारण लाइन निर्माणको बाँकी कामलाई थप गति दिन सहज हुने आयोजनाको अपेक्षा छ।

तनहुँ जलविद्युत् आयोजनाको निर्माण तीनवटा प्याकेजमा भइरहेको छ। प्याकेज–१ अन्तर्गत बाँधलगायतका संरचना निर्माणको काम सोङ्दा कालिका जेभीमार्फत भइरहेको छ। उक्त प्याकेजको भौतिक प्रगति ६३ प्रतिशत पुगेको छ।

यस्तै, प्याकेज–२ अन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरण निर्माणको काम सिनो हाइड्रो कर्पोरेसन, चीनले गरिरहेको छ। यस प्याकेजको प्रगति ७९ प्रतिशत पुगेको छ। आयोजनाको समग्र भौतिक प्रगति भने ७८ प्रतिशत पुगेको जनाइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका