काठमाडौं । बंगालको खाडीअन्तर्गत उत्तर अण्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण आगामी असोज ८ देखि १२ गतेसम्म नेपालमा वर्षाको गतिविधि उल्लेख्य रूपमा बढ्ने सम्भावना देखिएको छ।
जल तथा मौसम विज्ञान विभागले उक्त प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाएको छ। प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि यसको जोखिमको वास्तविक स्तर र सम्भावित प्रभावबारे अहिले नै यकिन गर्न नसकिने विभागको भनाइ छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त न्यूनचापीय प्रणाली क्रमशः बलियो बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना छ। भारतीय मौसम विभागका पछिल्ला प्रक्षेपणअनुसार यो प्रणाली सेप्टेम्बर २१ सम्म न्यूनचापीय क्षेत्रबाट डिप्रेसन र सेप्टेम्बर २२ सम्म गहिरो डिप्रेसनमा विकसित हुन सक्ने तथा सेप्टेम्बर २३ आसपास दक्षिण ओडिशा र उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिकबाट जमिनतर्फ प्रवेश गर्ने अनुमान गरिएको छ।
थाइल्यान्ड र म्यानमार क्षेत्रबाट अघि बढेको यो प्रणाली बंगालको खाडीमा थप विकसित हुँदै चक्रवातमा परिणत भएमा सन् २०२६ मा उत्तर हिन्द महासागर क्षेत्रमा विकसित हुने पहिलो उष्णकटिबन्धीय चक्रवात बन्न सक्छ। विश्व मौसम संगठनको नामकरण सूचीअनुसार चक्रवात बनेमा यसको नाम ‘अर्नब’ रहनेछ। यद्यपि, हालसम्म यसलाई चक्रवात नभई बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका रूपमा सम्बोधन गर्नु वैज्ञानिक रूपमा उपयुक्त हुने मौसमविद्हरूको भनाइ छ।
विभागले मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको र आवश्यकताअनुसार थप सूचना तथा पूर्वानुमान सार्वजनिक गर्दै जाने जनाएको छ। यसैबीच, स्वतन्त्र मौसमविद्हरूले विभिन्न मौसम पूर्वानुमान मोडेलका आधारमा नेपालमा उच्च सतर्कता अपनाउनुपर्ने बताएका छन्।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलका अनुसार असोज ८ देखि १२ गतेसम्म केही मौसम पूर्वानुमान मोडेलले नेपालका केही स्थानमा ४०० देखि ७४१ मिलिमिटरसम्म वर्षा हुन सक्ने संकेत गरेका छन्। यद्यपि यस्तो वर्षा देशभर समान रूपमा नभई निश्चित स्थानमा बढी केन्द्रित हुन सक्ने उनले बताएका छन्।
उनका अनुसार असोज १० गते आसपास जोखिम तुलनात्मक रूपमा बढी देखिएको छ। त्यसैले उक्त अवधिलाई सम्भावित उच्च जोखिमको समयखण्डका रूपमा लिएर पूर्वतयारी गर्नुपर्ने उनको सुझाव छ।
अर्का मौसम तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायले पनि उपलब्ध मौसम मोडेलहरूले असोज ८ देखि ११ गतेसम्मको अवस्था संवेदनशील देखाएको बताएका छन्। उनले सुदूरपश्चिमबाहेकका क्षेत्रमा असोज ८, ९ र १० गते लामो दूरीका यात्रा सकेसम्म स्थगित गर्न सुझाव दिएका छन्।
उनले सर्वसाधारणलाई नआत्तिन तर उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। मनसुनको अन्त्यतिर जमिन पहिल्यै भिजिसकेको अवस्थामा छोटो अवधिमा अत्यधिक वर्षा हुँदा पहिरो, भू–क्षय, खोलानालामा आकस्मिक बाढी तथा सहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्छ।
विशेषगरी २०८१ साल असोज १० गतेको भीषण वर्षाका कारण काठमाडौं उपत्यका तथा बीपी राजमार्ग क्षेत्रमा भएको ठूलो क्षति अझै स्मरणमा रहेकाले यसपटक पनि सम्भावित जोखिमप्रति विशेष सावधानी आवश्यक देखिएको छ।
त्यस्तै, भदौ १० गते भोटेकोशी र रसुवा क्षेत्रमा आएको ठूलो बाढीपछि नदीको बहाव, नदी किनार तथा भू–आकृतिमा परिवर्तन आएको अवस्थामा थप वर्षाले ती क्षेत्रलाई अझ संवेदनशील बनाउन सक्ने आकलन गरिएको छ।
यसको प्रभाव कृषि क्षेत्रमा पनि पर्न सक्ने देखिएको छ। धानबाली पाकेर भित्र्याउने समय नजिकिँदै गर्दा लगातारको वर्षा र हावाहुरीले बालीनालीमा क्षति पुर्याउन सक्ने भएकाले किसानहरूलाई विशेष सतर्कता अपनाउन तथा मौसम पूर्वानुमान र सरकारी सूचनालाई नियमित रूपमा पछ्याउन मौसमविद्हरूले सुझाव दिएका छन्।
भारतका ओडिशा, आन्ध्र प्रदेश र पश्चिम बंगाल तथा बंगलादेशमा समेत प्रभाव पार्न सक्ने अनुमान गरिएको यस मौसम प्रणालीबाट उत्पन्न हुनसक्ने जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायले पूर्वतयारी तीव्र पार्नुपर्ने देखिएको छ। सर्वसाधारणले पनि आफ्नो क्षेत्रको मौसम पूर्वानुमान, बाढी तथा पहिरोसम्बन्धी सूचना नियमित रूपमा हेर्दै आवश्यक सावधानी अपनाउनुपर्नेछ।


