काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९५२ जना सवारी चालकलाई कारबाही गरेको छ ।
आइतबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा गरिएको ट्राफिक जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १२० जना चालक कारबाहीमा परेका छन् । यस्तै, सिसिटिभीमार्फत ५६ जना र रातोबत्ती उल्लंघन गर्ने ६७ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
त्यसैगरी, तीव्र गतिमा सवारी चलाउने १५२ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने २८ जना, लेन क्रस गर्ने ४३ जना र सवारीको अवस्था ठीक नभएका ३४ जना चालक कारबाहीमा परेका छन् ।
एकतर्फी सडकमा नियम उल्लंघन गर्ने १२ जना तथा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ४४२ जना चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले उपत्यकाका विभिन्न स्थानमा नियमित जाँच तथा निगरानीलाई निरन्तरता दिइरहेको जनाएको छ ।


