काठमाडौं । उत्तर कोरियाले आइतबार पूर्वी तटबाट समुद्रतर्फ दुईवटा छोटो दूरीका ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ। जापान र दक्षिण कोरियाका अधिकारीहरूले प्रक्षेपणको पुष्टि गरेका छन्।
दक्षिण कोरियाली सेनाका अनुसार पहिलो मिसाइल स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे वोनसान क्षेत्रबाट प्रक्षेपण गरिएको थियो। उक्त मिसाइल करिब ४५० किलोमिटर यात्रा गरेको अनुमान छ। त्यसको करिब तीन घण्टापछि सोही क्षेत्रबाट अर्को मिसाइल प्रहार गरिएको र त्यसले ६०० किलोमिटरभन्दा बढी दूरी तय गरेको जनाइएको छ।
जापानको रक्षा मन्त्रालयका अनुसार पहिलो मिसाइल जापानको विशेष आर्थिक क्षेत्र (ईईजेड) भन्दा बाहिर समुद्रमा खसेको थियो। दक्षिण कोरियाको रक्षा मन्त्रालयले भने सुरुआतमा उत्तर कोरियाबाट ‘अज्ञात प्रक्षेपास्त्र’ प्रहार भएको जनाएको थियो।
मिसाइल प्रहारलगत्तै दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) को बैठक बोलाएको थियो। दक्षिण कोरियाले उत्तर कोरियाको पछिल्लो प्रक्षेपणको निन्दा गर्दै तत्काल यस्ता मिसाइल गतिविधि रोक्न आग्रह गरेको छ। दक्षिण कोरियाली पक्षले पछिल्लो प्रक्षेपणलाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रस्तावहरूको उल्लङ्घन भएको बताएको छ।
यो प्रक्षेपण करिब एक साताको अवधिमा उत्तर कोरियाले गरेको दोस्रो मिसाइल परीक्षण हो। यसअघि सेप्टेम्बर १२ मा पनि उत्तर कोरियाले छोटो दूरीका ब्यालिस्टिक मिसाइलहरू प्रहार गरेको थियो।
पछिल्लो मिसाइल प्रहार उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमसम्बन्धी अन्तर्राष्ट्रिय दबाब अस्वीकार गरेको केही समयपछि भएको हो। उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको आणविक अनुगमन निकायसँग सम्बन्धित प्रस्ताव अस्वीकार गर्नुका साथै अमेरिकाको नेतृत्वमा दक्षिण कोरिया र जापान सहभागी सैन्य अभ्यासको पनि आलोचना गर्दै आएको छ।
उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले हालै अमेरिकी नेतृत्वका सैन्य अभ्यासले कोरियाली प्रायद्वीपमा तनाव बढाएको आरोप लगाउँदै उत्तर कोरियाले आफ्नो आणविक क्षमता सुदृढ पार्ने नीति परिवर्तन नगर्ने बताएकी थिइन्।
यसअघि अगस्ट २९ देखि सेप्टेम्बर १० सम्म गुआम नजिक अमेरिका, दक्षिण कोरिया र जापानसहितका देश सहभागी नौसैनिक अभ्यास सञ्चालन भएको थियो। उत्तर कोरियाले उक्त अभ्यासलाई आफ्नो सुरक्षामाथिको खतरा भन्दै आलोचना गरेको थियो।
पछिल्लो घटनाक्रमले कोरियाली प्रायद्वीपमा सैन्य तनाव कायम रहेको देखाएको छ। जापानले पनि पछिल्लो मिसाइल प्रक्षेपणप्रति कूटनीतिक विरोध जनाएको छ।


