काठमाडौं । नेकपा (एमाले) को दशौँ सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सोमबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्दै राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको हो।
बैठकपछि एमाले महासचिव शंकर पोखरेलले केन्द्रीय कमिटी बैठकको तयारीका लागि बसेको सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय गरेको जानकारी दिए।
बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संयोजक रहेको कार्यदलले तयार पारेको प्रतिवेदनसमेत सर्वसम्मतिले अनुमोदन गरेको छ। महासचिव पोखरेल र कार्यदल संयोजक थापाले तयार पारेका छुट्टाछुट्टै प्रतिवेदनलाई संयोजन गरी एकीकृत प्रतिवेदन तयार गरिएको थियो।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार पूर्वउपमहासचिव प्रदीप ज्ञवालीसमेत सहभागी भएर प्रतिवेदनलाई अन्तिम रूप दिइएको थियो। प्रतिवेदनमा देशभरबाट प्राप्त सुझावलाई अनुसूचीका रूपमा समावेश गरिएको छ। यस्तै, प्रतिवेदनबाट ‘अध्यक्ष ओलीको राजीनामा’ भन्ने शब्द हटाइएको बताइएको छ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपमहासचिव लेखराज भट्टले चार महिनासम्मको अध्ययन, छलफल र परामर्शपछि कार्यदलले पेस गरेको प्रतिवेदनलाई सचिवालय बैठकले ग्रहण गरेको बताए। उनका अनुसार नेतृत्वसँग सम्बन्धित विवादित विषयहरू प्रतिवेदनबाट हटाइएको छ।
सचिवालय बैठकले कार्यदलको प्रतिवेदन अनुमोदन गर्नुका साथै सोमबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका लागि आवश्यक एजेन्डासमेत तय गरेको छ।
स्वीकृत प्रतिवेदनमाथि सोमबारदेखि बस्ने केन्द्रीय कमिटी बैठकमा विस्तृत छलफल गरिनेछ। त्यसपछि प्राप्त सुझाव र छलफलका आधारमा आवश्यक थप निर्णय लिइने एमालेले जनाएको छ।


