Saturday, May 9, 2026
Home Blog Page 89

निर्माण व्यवसायीलाई रवि लामिछानेको सन्देश—‘विज्ञप्ति होइन, विकासको तयारी गर्नुहोस्’

0

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्माण व्यवसायीहरूलाई विज्ञप्ति जारी गरेर प्रतिक्रिया जनाउनुभन्दा विकास निर्माण कसरी तीव्र बनाउने भन्ने तयारीमा लाग्न आग्रह गरेका छन्।

मंगलबार इटहरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले रास्वपाले आफ्ना धारणा सार्वजनिक गर्दा केही निर्माण व्यवसायीहरू आत्तिएको प्रतिक्रिया आएको बताए। उनले “कानुनले बाँधेर काम लगाउने” भनेको स्पष्ट पार्दै त्यसको अर्थ कानुनी दायराभित्र रहेर काम गराउने हो, व्यक्तिलाई अन्यायपूर्वक दबाब दिने नभएको बताए।

लामिछानेले अब बोल्नेभन्दा काम गर्ने समय आएको दाबी गर्दै निर्माण व्यवसायीहरूलाई आवश्यक उपकरण व्यवस्थापन र कामको गति बढाउने योजनामा केन्द्रित हुन सुझाए। उनले २० वर्षसम्म सांसद र मन्त्री बनेपछि बाटो निर्माणका लागि धेरै कानुन परिवर्तन गर्नुपर्छ भन्ने कुरा बल्ल थाहा पाएको भन्दै प्रश्न उठाए। देश अब विकास निर्माणतर्फ अघि बढ्ने र त्यसलाई कसैले रोक्न नसक्ने उनको दाबी थियो।

त्यस्तै, शिक्षकहरू संगठित भइरहेको प्रसंग उल्लेख गर्दै उनले पेसागत संगठनभन्दा गुणस्तरीय शिक्षामा ध्यान दिन आग्रह गरे। स्मार्ट कक्षाकोठा निर्माण र विद्यार्थीको भविष्य निर्माणमा शिक्षकहरूले भूमिका खेल्नुपर्ने बताउँदै राजनीतिक जिम्मेवारी रास्वपाले लिने धारणा राखे। उनले व्यक्तिको होइन, नीतिको माध्यमबाट सुरक्षा सुनिश्चित हुने बताए।

सभापति लामिछानेले २०४६ सालपछि भएका सबै काण्डहरूको छानबिन हुने उल्लेख गर्दै त्यसलाई प्रतिशोध नभई “हिसाब” को रूपमा व्याख्या गरे। साथै, रास्वपाको सरकार बनेमा १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया सुरु गरिने दाबी समेत गरे। उनले सहकारी तथा लघुवित्त समस्यामा परेका सर्वसाधारणलाई आश्वस्त रहने आग्रह गरेका छन्।

व्यक्तिगत स्वतन्त्रताको आधारमा दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

0

काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंको हकमा दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै उनलाई रिहा गर्न आदेश दिएको हो ।

अदालतले पहिलो आधारका रूपमा व्यक्तिगत स्वतन्त्रताको हकलाई प्रमुख मानेको छ । नेपालको संविधानको धारा १७ र २० ले प्रत्याभूत गरेको व्यक्तिगत स्वतन्त्रताको हकलाई आधार बनाउँदै पर्याप्त कानुनी कारणबिना कसैलाई पनि थुनामा राख्न नमिल्ने ठहर गरिएको छ ।

दोस्रो आधारमा अदालतले थुनामा राख्न औचित्य पुष्टि हुनुपर्ने उल्लेख गरेको छ । प्रसाईंविरुद्ध लगाइएका आरोप (अफवाह फैलाएको, सार्वजनिक शान्ति भंग गरेको आदि) को अनुसन्धानका लागि थुनामै राख्नुपर्ने अपरिहार्यता नदेखिएको फैसलामा जनाइएको छ ।

तेस्रो आधारमा प्रसाईंबाट समाजमा तत्काल गम्भीर क्षति वा खतरा हुने वस्तुनिष्ठ आधार नदेखिएको अदालतले जनाएको छ । सामान्य कानुनी प्रक्रियाबाट पनि अनुसन्धान गर्न सकिने अवस्थामा थुनालाई प्राथमिकता दिनु न्यायोचित नहुने ठहर गरिएको छ ।

चौथो आधारमा पक्राउ र म्याद थप प्रक्रियामा कानुनी त्रुटि देखिएको संकेत अदालतले गरेको छ । बन्दीप्रत्यक्षीकरण निवेदनमा उठाइएका दाबीअनुसार संवैधानिक तथा कानुनी हकको पूर्ण पालना नभएको पक्षलाई अदालतले गम्भीर रूपमा लिएको छ ।

प्रसाईंका तर्फबाट उमा प्रसाईंले रिट दायर गर्नुभएको थियो । उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले विभिन्न आरोपमा पक्राउ गरी हिरासतमा राखेको थियो । उनीमाथि सार्वजनिक शान्ति विरुद्धको कसुर, भ्रामक अफवाह फैलाएको तथा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाइएको थियो ।

सुनुवाइका क्रममा निवेदक पक्षबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, बालकृष्ण न्यौपाने, रमण कुमार श्रेष्ठ, विकास भट्टराई, कीर्तिनाथ शर्मा पौडेल लगायतले बहस गर्नुभएको थियो भने सरकारका तर्फबाट सहन्यायाधिवक्ताले बहस गर्नुभएको थियो ।

अदालतले थुनामा राखिरहनुपर्ने पर्याप्त आधार नदेखिएको भन्दै तत्काल रिहा गर्न आदेश दिएको हो । यद्यपि, उनी विरुद्धको अनुसन्धान भने कानुन बमोजिम जारी रहने आदेशमा उल्लेख गरिएको छ ।

कैलाली–५ मा राजनीतिक समिकरण फेरबदल : जगन्नाथ चौधरी रास्वपामा, उम्मेदवारी स्थगित

0

धनगढी । नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा)बाट कैलाली–५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका जगन्नाथ चौधरीले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।

आफूले अघि सारेका सुशासन, समावेशिता र विकासका एजेन्डा र रास्वपाका उम्मेदवार आनन्द चन्दका मुद्दा समान रहेको उल्लेख गर्दै उनले उम्मेदवारी स्थगित गरी रास्वपामा समाहित भएको बताएका हुन्। “परिवर्तनका लागि समान सोच भएका शक्ति एक ठाउँमा उभिन जरुरी ठानेँ,” चौधरीले भने।

उनीलाई रास्वपाका केन्द्रीय सदस्य लक्ष्मण थारू, नेता हरि रेग्मी, जशु भट्ट तथा उम्मेदवार चन्दले पार्टीमा स्वागत गरेका थिए।

कार्यक्रममा उम्मेदवार चन्दले चौधरीजस्तो अनुभवसहितको नेतृत्व पार्टीका लागि महत्वपूर्ण हुने बताए। चौधरी यसअघि प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेका थिए र त्यसबेला पाँच हजारभन्दा बढी मत प्राप्त गरेका थिए।

चौधरीको प्रवेशसँगै कैलाली–५ मा चुनावी समीकरण थप रोचक बनेको छ।

साम्बाको आग्रह: उपचारका लागि पर्याप्त रकम उठ्यो, सबैलाई धन्यवाद।

0

काठमाडौं। राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि प्राप्त व्यापक सहयोगप्रति आभार व्यक्त गर्दै अब थप आर्थिक सहयोग नगर्न अनुरोध गरेकी छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले पछिल्लो २४ घण्टामा पाएको साथ, विश्वास र मायाले आफूलाई अत्यन्त भावुक र बलियो बनाएको बताइन्। आर्थिक सहयोगसँगै समर्थकको हौसलाले शल्यक्रिया र पुनस्र्थापनामा पूर्ण ऊर्जा मिलेको उनको भनाइ छ।

भण्डारीका अनुसार उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममार्फत करिब ४५ लाख रुपैयाँ (५२ हजार न्यूजिल्यान्ड डलर) संकलन भइसकेको छ। विभिन्न संघ–संस्था तथा व्यक्तिहरूबाट नगद र सुविधा सहयोगको प्रतिबद्धता समेत प्राप्त भएकाले उपचार खर्च, आवास तथा यातायात व्यवस्थापनका लागि पर्याप्त हुने देखिएको उनले उल्लेख गरिन्। त्यसैले दुवै खातामा अब सहयोग रकम रोक्न उनले अनुरोध गरेकी छन्।

उनी आबद्ध क्लब वेलिंगटन फिनिक्सले पनि शल्यक्रिया तथा पुनस्र्थापनाका लागि बीमा रकम निकासा गरी उपचार प्रक्रियामा सहजीकरण गरिरहेको जनाइएको छ। छिट्टै शल्यक्रियाको मिति तय हुनेमा आफू विश्वस्त रहेको उनले बताइन्।

चोटका कारण शारीरिक मात्र होइन, मानसिक रूपमा पनि कठिन समय गुज्रिएको उल्लेख गर्दै उनले समर्थकको साथले आफूलाई पुनः उठ्ने साहस दिएको बताइन्। “खेलाडीका रूपमा मैले कमाएको सबैभन्दा ठूलो सम्पत्ति माया, भरोसा र समर्थन रहेछ,” उनले लेखेकी छन्।

उनले दृढ संकल्प व्यक्त गर्दै आफू अझ मजबुत भएर फर्कने र पुनः नेपालको जर्सी लगाएर देशका लागि मैदानमा उत्रिने प्रतिबद्धता जनाएकी छन्।

आइसिसी टी–२० विश्वकप: सुपर–८ मा आज निर्णायक भिडन्त : इंग्ल्याण्ड–पाकिस्तान आमनेसामने

0

आइसिसी टी–२० विश्वकपअन्तर्गत सुपर–८ चरणमा आज इंग्ल्याण्ड र पाकिस्तानबीच महत्वपूर्ण प्रतिस्पर्धा हुँदैछ। श्रीलंकाको कोलम्बोस्थित पल्लेकेले रंगशालामा मंगलबार बेलुकी सवा ७ बजे दुवै टोली मैदानमा उत्रने छन्।

सुपर–८ मा इंग्ल्याण्डले आफ्नो दोस्रो खेल खेल्न लागेको हो। यसअघि उसले श्रीलंकालाई पराजित गर्दै विजयी सुरुआत गरेको थियो। पाकिस्तानका लागि भने यो पहिलो खेल हुनेछ। यसअघि न्युजिल्याण्डविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि पाकिस्तानले अंक बाँड्नुपरेको थियो।

अंक बाँडेर सुरु गरेको पाकिस्तानमाथि आजको खेल जित्नैपर्ने दबाब छ। इंग्ल्याण्डविरुद्ध जित हात पारेमा पाकिस्तानको सेमिफाइनल यात्रा बलियो बन्नेछ। तर इंग्ल्याण्ड विजयी भएमा उसको सेमिफाइनल प्रवेश लगभग सुनिश्चित हुनेछ।

सुपर–८ को समूह ‘बी’ मा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन्। समूह चरणमा प्रत्येक टोलीले एक–अर्कासँग प्रतिस्पर्धा गर्नेछन् र शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने व्यवस्था छ।

प्रतिनिधिसभा निर्वाचन : आचारसंहितामा कडाइ गर्दै आयोग

0

काठमाडौं। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले आचारसंहिता लाग्ने व्यक्ति, समूह तथा संस्थाबारे पुनःस्मरण गराएको छ। पछिल्ला दिनमा आचारसंहिता उल्लंघनका घटना सार्वजनिक हुनुका साथै उल्लेख्य उजुरी परेपछि आयोगले सबै सरोकारवालालाई सचेत गराएको हो। प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ गते हुँदैछ।

आयोगका अनुसार नेपाल सरकार तथा सरकारका मन्त्री, प्रदेश सरकार तथा प्रदेश सरकारका मन्त्रीहरूलाई पूर्ण रूपमा आचारसंहिता लागू हुन्छ। त्यस्तै, नेपाल सरकार वा प्रदेश सरकारअन्तर्गतका निकाय र तिनका पदाधिकारी, स्थानीय कार्यपालिका तथा सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू पनि आचारसंहिताको पूर्ण दायरामा पर्छन्।

सञ्चार प्रतिष्ठान, तिनका कर्मचारी तथा सञ्चारकर्मी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा तिनका शिक्षक र कर्मचारीसमेत आचारसंहिताको दायरामा रहने आयोगले स्पष्ट पारेको छ। राजनीतिक दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधिलाई पनि आचारसंहिता अनिवार्य रूपमा लागू हुनेछ।

निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, तिनका पदाधिकारी तथा कर्मचारीहरूलाई पनि पूर्ण रूपमा आचारसंहिता लागू हुने आयोगले जनाएको छ। साथै वस्तु तथा सेवा प्रदायक व्यावसायिक संस्था, निजी तथा गैरसरकारी संस्था र तिनका पदाधिकारी तथा कर्मचारीहरू पनि सोही दायरामा रहनेछन्।

संवैधानिक निकाय, तिनका पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सार्वजनिक पद धारण गरेका व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्तालाई समेत निर्वाचन आचारसंहिता लागू हुने आयोगले उल्लेख गरेको छ।

त्यसैगरी मतदाता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, आयोगले तोकेका अन्य निकाय वा व्यक्ति, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना र तिनका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा तिनका कर्मचारीलाई पनि आचारसंहिता लागू हुने जनाएको छ।

स्थानीय कार्यपालिकाका पदाधिकारी आचारसंहिताविपरीत निर्वाचन प्रचारप्रसारमा संलग्न भएको पाइएपछि आयोगले आइतबार पनि स्मरण गराएको थियो। सोमबार पुनःसरकारी तथा निजी क्षेत्रका सबै सरोकारवालालाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरिएको छ।

रास्वपा सरकार बनेपछि २०४६ पछिका सबै काण्डको छानबिन हुन्छ : रवि लामिछाने

0

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीको सरकार बनेपछि विसं २०४६ सालपछि भएका सबै ठूला भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गरिने दाबी गरेका छन्।

सोमबार हेटौँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले फागुन २१ पछि गठन हुने रास्वपा नेतृत्वको सरकारले देशमा भएका ठूला भ्रष्टाचार काण्डका फाइलहरू खोल्ने स्पष्ट पारे। त्यसका लागि देशभरबाट रास्वपाका उम्मेदवारलाई विजयी गराउनुपर्ने आवश्यकता औँल्याउँदै उनले मतदातालाई सही निर्णय गर्न आग्रह गरे।

‘देशमा भएका ठूला भ्रष्टाचारका फाइल खोल्न रास्वपाको सरकार बन्नुपर्छ,’ उनले भने, ‘निर्णय र फैसलाको दिन फागुन २१ गते नै हो। तपाईँहरूले गर्ने निर्णयले नै देशको भविष्य निर्धारण गर्नेछ। रास्वपा सरकारले निष्पक्ष रूपमा छानबिन गर्छ।’

जेनजी आन्दोलनका क्रममा तत्कालीन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा जलेको पैसाको प्रसङ्ग उल्लेख गर्दै लामिछानेले त्यसलाई अकाट्य प्रमाणका रूपमा प्रस्तुत गरे।

उनले २०४६ सालपछि भएका सबै काण्डहरूको निष्पक्ष छानबिन गरिने मात्र नभई विदेशमा लुकाइएको सम्पत्तिसमेत खोजी गरिने दाबी गरे। निर्वाचन मिति सार्ने चर्चा चलिरहेको सन्दर्भमा उनले कुनै पनि बहानामा चुनाव नरोकिने स्पष्ट पारे।

‘लोकतन्त्रमा सबैभन्दा महत्त्वपूर्ण कुरा जनताको मत हो,’ उनले भने, ‘जनता मत हाल्न तयार छन्। कुनै पनि दलले निहुँ खोज्ने काम गर्नु हुँदैन। रास्वपाले जस्तोसुकै मत परिणाम आए पनि स्वीकार गर्छ—एक नम्बर आए एक नम्बर, शून्य आए शून्य, हामीलाई स्वीकार्य छ।’

विद्युत नियमन आयोगद्वारा ‘संस्थागत सुशासन मापदण्ड, २०८२’ मस्यौदा सार्वजनिक

0

काठमाडौं । विद्युत नियमन आयोगले अनुमतिपत्र प्राप्त संस्थाहरूका लागि “संस्थागत सुशासन मापदण्ड, २०८२” को मस्यौदा सार्वजनिक गरेको छ। आयोगले विद्युत नियमन आयोग ऐन, २०७४ को दफा ४३ ले दिएको अधिकार प्रयोग गरी मापदण्ड तयार गरिएको जनाएको छ।

आयोगका अनुसार मस्यौदा छलफल तथा सुझावका लागि सार्वजनिक गरिएको हो। यसमा विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापारका लागि अनुमतिपत्र प्राप्त संस्था, संगठित संस्था वा कम्पनीले पालना गर्नुपर्ने सुशासनसम्बन्धी आधारभूत सिद्धान्तहरू समेटिएका छन्। असल अभ्यासको प्रवर्द्धन, पारदर्शिता, जवाफदेहिता, शेयरधनीको हित संरक्षण र समान व्यवहारलाई अनिवार्य गरिएको छ।

मापदण्डअनुसार प्रत्येक संस्थाले तोकिएको समयभित्र वार्षिक साधारणसभा सम्पन्न गर्नुपर्नेछ। सञ्चालक समितिमा कम्तीमा एक महिला सञ्चालक अनिवार्य राख्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। एउटै परिवारका एकभन्दा बढी व्यक्ति एउटै अवधिमा सञ्चालक समितिमा बस्न नपाउने प्रावधान पनि समावेश गरिएको छ।

स्वतन्त्र सञ्चालक नियुक्तिका लागि स्पष्ट मापदण्ड तोकिएको छ। सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएका व्यक्तिलाई स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ। स्वतन्त्र सञ्चालकले उच्च नैतिकता, निष्पक्षता र प्रमाणमा आधारित निर्णयमा जोड दिनुपर्ने उल्लेख छ।

लेखा, लेखापरीक्षण र आन्तरिक नियन्त्रण

मस्यौदाअनुसार अनुमतिपत्र प्राप्त संस्थाले दोहोरो लेखा प्रणाली अपनाउनुपर्ने, आन्तरिक तथा अन्तिम लेखापरीक्षण अनिवार्य गर्नुपर्ने र प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली लागू गर्नुपर्नेछ। लेखापरीक्षण समिति गठन अनिवार्य गरिनुका साथै वित्तीय अनुशासन, जोखिम न्यूनीकरण र कानुनी अनुपालनमा विशेष जोड दिइएको छ।

जोखिम व्यवस्थापन र बीमा

आयोजना निर्माण तथा सञ्चालनसँग सम्बन्धित जोखिमको पहिचान, मापन र अभिलेख (रजिस्टर) तयार गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। जोखिमको सम्भावनाअनुसार वर्गीकरण गरी आवश्यक परे बीमा व्यवस्था मिलाउनुपर्ने उल्लेख छ। जोखिमलाई ‘निश्चित’, ‘उच्च’, ‘मध्यम’, ‘न्यून’ र ‘अति न्यून’ गरी वर्गीकरण गर्ने प्रावधान राखिएको छ।

गुनासो सुनुवाइ र सामाजिक उत्तरदायित्व

शेयरधनी तथा कर्मचारीको गुनासो सुनुवाइका लागि संयन्त्र स्थापना गरी २१ दिनभित्र निर्णय दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रचलित कानुनले तोकेको प्रतिशत रकम खर्च गर्नुपर्ने प्रावधान पनि समेटिएको छ।

प्रत्येक संस्थाले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र आफ्नो कार्यसम्पादनसम्बन्धी वार्षिक प्रतिवेदन आयोगसमक्ष पेश गर्नुपर्नेछ। प्रतिवेदनमा सञ्चालक समितिको विवरण, लेखापरीक्षकको प्रतिवेदन, कानुनी कारबाहीको अवस्था, चुनौती तथा रणनीति तथा वित्तीय विवरण समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

आयोगले मस्यौदामा कुनै बाधा वा कठिनाइ देखिएमा संशोधन गर्न सक्ने तथा प्रचलित कानुनसँग बाझिएको हदसम्मका प्रावधान अमान्य हुने स्पष्ट पारेको छ। सरोकारवालाबाट प्राप्त सुझावका आधारमा मापदण्डलाई अन्तिम रूप दिइने आयोगले जनाएको छ।

पाल्पा सिमेन्टको ४५ लाख कित्ता आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

0

काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारण समूहका लागि कुल ४५ लाख कित्ता साधारण शेयर निष्कासन गरेको जनाएको छ।

निष्कासन गरिएको कुल शेयरमध्ये २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोषका लागि र २ लाख ८१ हजार २५० कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ। बाँकी शेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत दिन सकिनेछ। साथै, ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिने सुविधा पनि उपलब्ध रहेको छ।

यो आईपीओ छिटोमा फागुन १५ गतेसम्म र ढिलोमा फागुन २६ गतेसम्म खुला रहनेछ। तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि थप गर्न सकिने व्यवस्था कम्पनीले जनाएको छ।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले सम्हालेको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस ९ गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति प्राप्त गरेको थियो।

सोही स्वीकृतिअनुसार कम्पनीले पहिलो चरणमा पुस २५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ जारी गरिसकेको छ। अब सर्वसाधारणका लागि खुला गरिएको उक्त आईपीओमा लगानीकर्ताको उल्लेखनीय आकर्षण रहने अपेक्षा गरिएको छ।

प्रतिनिधि सभा निर्वाचन तयारी तीव्र : बाजुरामा मतदान अधिकृतलाई चरणबद्ध अभिमुखीकरण

0

बाजुरा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाजुरामा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि चरणबद्ध अभिमुखीकरण तालिम सञ्चालन गरिने भएको छ। जिल्ला निर्वाचन कार्यालय बाजुराले तालिम बिहीबारदेखि सुरु हुने जनाएको छ।

पहिलो चरणअन्तर्गत फागुन १४ गते बुढी नन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका तथा जगेडामा रहेका गरी ८८ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइनेछ।

दोस्रो चरणमा फागुन १५ गते खप्तड छेडेदह गाउँपालिका, जगन्नाथ गाउँपालिका, त्रिवेणी नगरपालिका तथा अस्थायी मतदान केन्द्रमा खटिने ७८ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण गरिने जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी भीमबहादुर शाहीले जानकारी दिए।

तेस्रो चरणअन्तर्गत फागुन १६ गते बिहान १० बजेदेखि सदरमुकाम मार्तडीमा बुढीगंगा नगरपालिका, बडी मालिका नगरपालिका र गौमुल गाउँपालिकाका मतदान केन्द्रमा खटिने ८४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिनेछ।

तालिममा सहभागी हुन आउने अधिकृतहरूलाई परिचयपत्र, व्यक्तिगत पान नम्बर तथा बैंकको चेक बुकको फोटोकपी साथमा ल्याउन आग्रह गरिएको छ।

निर्वाचन कार्यालयका अनुसार बाजुरामा निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ। उक्त निर्वाचनमा एक स्वतन्त्र उम्मेदवारसहित सात राजनीतिक दलका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।