Saturday, May 9, 2026
Home Blog Page 90

पश्चिमी वायुको प्रभाव : उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

0

काठमाडौं । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसमसम्बन्धी निकायका अनुसार कर्णाली प्रदेशसहित देशका उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रहरूमा मौसम मुख्यतया सफा छ।

आज दिउँसो तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बदलीको अवस्था रहने अनुमान छ। बाँकी पहाडी भू–भागमा आंशिक बदली रहनेछ र तराई क्षेत्रको मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति तराईका थोरै स्थानमा तुँवालो लाग्न सक्नेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। साथै कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायम रहने जनाइएको छ।

प्रकाशचन्द्र दवाडी : सामाजिक प्रतिबद्धताको कथा

0

गोरखा जिल्लाको अजिरकोट गाउँपालिका वडा नं. ४, सिमजुङ (झ्यावाँ) निवासी प्रकाशचन्द्र दवाडीको नाम आज गोरखा क्षेत्र नं. २ भित्र सामाजिक सक्रियता र सार्वजनिक जीवनसँग जोडिएर चिनिन्छ। व्यवसायिक पृष्ठभूमिबाट समाजसेवामा प्रवेश गरेका दवाडी पछिल्लो झण्डै तीन दशकदेखि निरन्तर सामाजिक काममा सक्रिय रहँदै आएका व्यक्तित्व हुन्। उनको परिचय कुनै एक पद, दल वा निर्वाचनसँग मात्र सीमित छैन; बरु स्थानीय समाजमा उनले निर्माण गरेको विश्वास, सहयोग र उपस्थिति नै उनको पहिचानको मूल आधार बनेको देखिन्छ।

समाजसेवाबाट सुरु भएको सार्वजनिक यात्रा

दवाडीको सार्वजनिक जीवन विद्यार्थी कालबाटै सुरु भएको पाइन्छ। वि.सं. २०४६ सालमा अजिरकोट–४ स्थित हिमालय माध्यमिक विद्यालयबाट नेपाल विद्यार्थी सङ्घमा आबद्ध भई उपसभापतिको भूमिकामा काम गर्दै उनले संगठित सार्वजनिक कार्यको अनुभव हासिल गरे। विद्यार्थी राजनीतिबाट सुरु भएको यो यात्रा क्रमशः समाजसेवा, स्थानीय विकास र पछि प्रदेशस्तरीय जिम्मेवारीसम्म विस्तार भयो।

झण्डै तीन दशक लामो सामाजिक सक्रियतामा उनले शिक्षा, स्वास्थ्य, विपन्न समुदायको सहयोग, आपत्–विपत् व्यवस्थापन र पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन्। उनका निकटवर्तीहरूका अनुसार, दवाडीको कार्यशैली प्रचारमुखीभन्दा बढी प्रत्यक्ष सहभागितामूलक रहेको छ, जहाँ उनी कार्यक्रममा अतिथि मात्र नभई सहयोगी र समन्वयकर्ताको भूमिकामा देखिन्छन्।

शिक्षा क्षेत्रमा दीर्घकालीन लगानी

दवाडीको सामाजिक यात्राको एउटा महत्वपूर्ण पक्ष शिक्षा क्षेत्रमा देखिन्छ। गरिब, विपन्न, अनाथ तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, पोशाक तथा शैक्षिक सामग्री सहयोग गर्नु उनका नियमित कार्यमध्येमै पर्छ। उपलब्ध विवरणअनुसार, हालसम्म १५६ जना विद्यार्थीलाई कक्षा १२ सम्म पूर्ण छात्रवृत्तिमा अध्ययन गराउने कार्य सम्पन्न गरी समाजमा एउटा प्रेरणादायी उदाहरण बनेका छन् दवाडी। यससँगै विभिन्न विद्यालयमा अक्षयकोष स्थापना, पुस्तकालय निर्माण र विद्यालय भवन निर्माणमा सहयोग पुर्‍याएर उनले दीर्घकालीन शैक्षिक आधार सुदृढ पार्ने प्रयास गरेका छन्। स्थानीय शिक्षकहरूका अनुसार, यस्तो सहयोगले विद्यालयमा निरन्तरता र गुणस्तर सुधारमा सकारात्मक प्रभाव पारेको छ।

विपन्न समुदाय र मानवीय संवेदनशीलता

दवाडीको सहयोग शिक्षा क्षेत्रमा मात्र सीमित छैन। गरिब तथा विपन्न नागरिक, असक्त तथा गम्भीर बिरामी व्यक्तिहरूको उपचारमा आर्थिक सहयोग, औषधि व्यवस्था र आवश्यक परेमा आपत्कालीन उद्धारको पहल उनका सामाजिक कार्यमा समावेश छन्। गोरखामा गम्भीर प्रकृतिका दुर्घटना वा आकस्मिक स्वास्थ्य संकटका बेला हेलिकप्टर चार्टर गरी उद्धार र उपचारको व्यवस्था गरिएको घटनाहरू स्थानीय स्तरमा चर्चित छन्। यस्ता उच्च कोटीका मानवीय सेवाहरूले दवाडीको मानवीय संवेदनशीलता र तत्परताको उदाहरण प्रस्तुत गर्छन्।


आपत्–विपतको समयमा अग्रपंक्ति

वि.सं. २०७२ सालको विनाशकारी भूकम्पले गोरखा जिल्ला अत्यन्त प्रभावित भएको थियो। उक्त समयमा दवाडी उद्धार, राहत वितरण तथा पुनःस्थापनामा सक्रिय रूपमा खटिएको जगजाहेर छ। त्यसपछिका वर्षहरूमा बाढी, पहिरो, हावाहुरी र आगलागीका घटनामा विस्थापित परिवारलाई घर निर्माण तथा आर्थिक सहयोग पुर्‍याउने कार्यमा पनि उनको संलग्नता देखिन्छ।

कोरोना महामारीको कठिन समयमा गोरखाका विभिन्न स्वास्थ्य चौकीहरूमा औषधि तथा अत्यावश्यक स्वास्थ्य सामग्री वितरणमा उनले योगदान दिएका छन्। महामारीजस्तो संकटमा स्थानीय स्वास्थ्य संरचनालाई सघाउने पहललाई समुदायले आभारका साथ सम्झिरहने छन्।

पूर्वाधार विकासमा सक्रियता

गोरखा क्षेत्र नं. २ को भौगोलिक जटिलता विकासका लागि चुनौतीपूर्ण मानिन्छ। यस्तो अवस्थामा दवाडीले मोटरबाटो निर्माण, नयाँ ट्र्याक खोल्ने कार्यको सुरुवात तथा सिँचाइ, कृषि र पर्यटनसम्बन्धी योजनामा प्राथमिकता दिएको पाइन्छ। व्यक्तिगत लगानी र पहलका साथै प्रदेशस्तरीय पहुँचको उपयोग गर्दै सयौँ विकास योजनाहरू अघि बढाइएको स्थानीय स्रोतहरू बताउँछन्। यस्ता सडक सञ्जाल विस्तार तथा सिँचाइ सुविधा विस्तारले ग्रामीण अर्थतन्त्रमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

सामुदायिक संस्थासँग सहकार्य

दवाडीको सामाजिक कार्य व्यक्तिगत सहयोगमा मात्र सीमित छैन; उनले संस्थागत सुदृढीकरणमा पनि जोड दिएका छन्। विभिन्न आमा समूह, टोल विकास संस्था, कृषि समूह तथा अन्य सामुदायिक संगठनलाई भवन निर्माण, आवश्यक सामग्री तथा आर्थिक सहयोग प्रदान गरिएको छ।

१५० भन्दा बढी युवा क्लब, विद्यालय र समूहलाई खेलकुद सामग्री वितरण तथा आर्थिक सहयोग उपलब्ध गराउनु युवा सशक्तीकरण प्रतिको प्रतिबद्धताको संकेतका रूपमा उत्साहपूर्वक हेरिएको छ। त्यसैगरी खेलकुद र सामुदायिक गतिविधिले युवामा सकारात्मक ऊर्जा र अनुशासन विकास गर्न सहयोग पुर्‍याएर एक युवामैत्री नेताका रूपमा सम्मानित छन्।

धार्मिक र सांस्कृतिक क्षेत्रमा योगदान

स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाप्रति दवाडीले देखाएको चासो पनि उल्लेखनीय मानिन्छ। विभिन्न मठ–मन्दिर निर्माणमा आर्थिक सहयोग तथा धार्मिक–पुरातात्विक सम्पदाको संरक्षणमा जोड दिइएको छ। यसले सांस्कृतिक पहिचान र परम्पराको निरन्तरता कायम राख्न सहयोग पुर्‍याएको स्थानीय धारणा छ।

प्रदेशसभासम्मको राजनीतिक अनुभव

वि.सं. २०७४ सालमा गोरखा क्षेत्र नं. २ ‘ख’ बाट प्रत्यक्ष निर्वाचित भई गण्डकी प्रदेशसभा सदस्य बनेपछि दवाडीको सार्वजनिक जिम्मेवारी संस्थागत रूपमा विस्तार भयो। प्रदेशसभा सदस्यका रूपमा पाउने तलब, भत्ता र सेवा सुविधा सामाजिक कार्यमा खर्च गरिएको तथ्यले उनको सेवा–केन्द्रित दृष्टिकोणलाई थप बल दिएको बताइन्छ। उनी नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको प्रवक्ताको भूमिकामा समेत कार्यरत रहे। पार्टीका १३औँ र १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यमा निर्वाचित हुनु उनको संगठनात्मक अनुभवको संकेत हो।

व्यक्तित्वका विशेषता

दवाडीलाई नजिकबाट चिन्नेहरू उनको कार्यशैली संयमित, पहुँचयोग्य र संवादमुखी रहेको बताउँछन्। पदभन्दा बढी उपस्थिति, प्रचारभन्दा बढी प्रत्यक्ष सहयोग र आश्वासनभन्दा बढी कार्यान्वयनमा जोड दिनु उनका विशेषतामध्ये पर्छन् भन्ने स्थानीय धारणा छ। सार्वजनिक जीवनमा निरन्तर सक्रिय रहँदा पनि उनले सामाजिक सम्बन्ध र व्यक्तिगत सादगी कायम राखेको टिप्पणी पनि सुनिन्छ। यही कारण उनी विभिन्न वर्ग र समुदायबीच स्वीकार्य व्यक्तित्वका रूपमा उभिएका छन्।

वर्तमान सन्दर्भ

हाल दवाडी गोरखा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा सार्वजनिक जीवनमा सक्रिय छन्। तर उनको मूल्याङ्कन गर्दा समर्थक तथा विरोधी दुवैले उनको सामाजिक यात्रा र विगतका कामलाई प्रशंसाको दृष्टिले हेरेका छन्। गोरखा क्षेत्र नं. २ मा विकास, सेवा र उत्तरदायित्वबारे भइरहेको बहसका बीच दवाडीको नाम दीर्घकालीन सामाजिक सक्रियता र प्रदेशस्तरीय अनुभवका कारण सर्वाधिक लोकप्रिय र सुयोग्य उम्मेदवार हुन् भन्ने कुरा कसैले नकार्न सक्दैन।

निष्कर्ष

प्रकाशचन्द्र दवाडीको सार्वजनिक जीवन कुनै एक चुनावी चक्रमा सीमित देखिँदैन। यो झण्डै तीन दशकको सामाजिक संलग्नता, विपन्न समुदायप्रतिको सहयोग, आपत्कालीन अवस्थामा तत्परता र पूर्वाधार विकासमा सक्रियताको निरन्तरता हो। उनको जीवनीले देखाउने मुख्य पक्ष भनेको राजनीति केवल सत्ता प्राप्तिको माध्यम नभई सेवा र सामाजिक उत्तरदायित्वको बोध हो भन्न सकिन्छ। गोरखाको सामाजिक परिवेशमा दवाडीले निर्माण गरेको छवि काम, प्रतिबद्धता र मानवीय संवेदनशीलतामा आधारित रहेकोले उनीलाई चिन्ने सबैले पार्टीभन्दा माथि उठी उनीलाई थप सेवा गर्ने मौका दिनु नै यो क्षेत्रको जित हो भन्ने धारणा पाइन्छ।

मणि नेपाली पनेरु

दमक-चिसोपानी सडक : ओली-नेम्वाङले वाचा पूरा नगरेको गुनासो, सुहाङमाथि प्रश्न

0

झापा (दमक) । इलाम क्षेत्र नम्बर २ अन्तर्गत पर्ने दमक–चिसोपानी (फाल्गुनन्द मार्ग) सडक निर्माण फेरि राजनीतिक तथा कानुनी बहसको केन्द्र बनेको छ। करिब ३५ किलोमिटर लम्बाइको यो सडक तीन दशकदेखि अधुरै अवस्थामा रहेको छ।

प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङले गत साउन पहिलो साता सात दिनभित्र नापजाँच पूरा गरी ठेक्का प्रक्रिया अघि बढाइने बताएका थिए। तर सात महिना बितिसक्दा पनि प्रक्रिया अघि बढ्न सकेको छैन। अहिले पनि ठेक्का कहिले लाग्छ भन्ने स्पष्ट छैन।

अदालतको फैसलापछि प्रक्रिया लम्बिने संकेत

झापा जिल्ला अदालतले गत पुस २१ गते मुद्दामा फैसला गर्दै विवादको समाधान मध्यस्थताबाट गर्नुपर्ने उल्लेख गरेको छ। यसले निर्माण प्रक्रिया झन् लम्बिने संकेत दिएको छ।

पुरानो निर्माण कम्पनी लुम्बिनी गणपति संयुक्त उपक्रमलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ। कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक खरिद प्रक्रियामा भाग लिन नपाउने व्यवस्था छ।

लुम्बिनी गणपति संयुक्त उपक्रमले २०८१ असोज १६ गते संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय र सडक डिभिजन दमकविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। कम्पनीले क्षतिपूर्तिभन्दा पनि करारको यथावत् कार्यान्वयनको माग गरेको थियो।

यसअघि २०८० चैत १४ गते दोस्रो र तेस्रो खण्डको ठेक्का रद्द गरिएको थियो। त्यसविरुद्ध उच्च अदालतमा रिट दायर, अन्तरिम आदेश जारी, रिट खारेज हुँदै मुद्दा जिल्ला अदालत पुगेको थियो। अदालतमा मुद्दा परेपछि करिब २६.५ किलोमिटरका दुई खण्डको काम पूर्ण रूपमा ठप्प छ।

सात वर्षमा पनि पहिलो खण्ड अपूर्ण

पहिलो खण्ड (६ किलोमिटर) मा निर्माण जारी रहे पनि सात वर्ष बितिसक्दा सम्पन्न हुन सकेको छैन। २०७६ फागुन २ गते तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो। तर २०७९ मै समयसीमा सकिँदा पनि काम पूरा भएन।

स्थानीयको आक्रोश

माङसेबुङ–६ का हरि सिप्तुङ्खा राई भन्छन्, “बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा हिँड्नुपरेको छ। अब हामी प्रश्न सोध्न तयार छौं।”

स्थानीय सन्चमाया राईका अनुसार निर्माण रोकिएपछि सडक किनारका संरचना भत्किन थालेका छन्। गाडी चालकहरूले जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था छ। शिक्षण पेशामा आबद्ध ओमप्रकाश साह भन्छन्, “सडक चुनावी एजेन्डा मात्र बनेको छ, व्यवहारमा परिणाम देखिएको छैन।”

राजनीतिक सन्दर्भ

इलाम–झापा जोड्ने यो मार्ग राजनीतिक दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ। यस क्षेत्रबाट लामो समय प्रतिनिधित्व गरेका एमाले नेता सुवास नेम्बाङको निधनपछि ०८१ को उपनिर्वाचनमा उनका पुत्र सुहाङ नेम्बाङ निर्वाचित भएका थिए। झापातर्फ क्षेत्र नम्बर ५ बाट एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली निर्वाचित हुँदै आएका छन्।

लामो समय एउटै दलको प्रतिनिधित्व हुँदा पनि सडक निर्माण नहुनुले मतदाता असन्तुष्ट छन्। एमाले नेतृत्वले ठेक्का तोडिएको विषयलाई आफ्नो पहलको परिणामका रूपमा प्रस्तुत गरिरहेको भए पनि ठेक्का रद्द हुँदा सुहाङ नेम्बाङ सांसद भइसकेका थिएनन् भन्ने तथ्यलाई लिएर विवाद देखिएको छ।

भविष्य अझै अनिश्चित

सरकारले आर्थिक वर्ष २०८२/८३ मा नयाँ प्रक्रिया सुरु गर्न २० करोड रुपैयाँ विनियोजन गरेको दाबी गरिएको छ। तर मुद्दा अदालतमा विचाराधीन रहेकाले कानुनी जटिलता कायम छ।

२०७६ फागुनमा ठेक्का सम्झौता, २०८० चैतमा ठेक्का रद्द, उच्च अदालतमा रिट, अन्तरिम आदेश, रिट खारेज, जिल्ला अदालतमा मुद्दा दायर, २०८२ साउनमा नापजाँच तयारी, भदौमा कालोसूची र पुसमा जिल्ला अदालतको फैसला—यी सबै घटनाक्रमले सडक निर्माणको भविष्य अझै अन्योलमा पारेका छन्।

स्थानीय बासिन्दाको माग भने स्पष्ट छ—राजनीतिक आरोप–प्रत्यारोपभन्दा माथि उठेर सडक निर्माण तुरुन्त सुरु गरियोस् र तीन दशकदेखिको प्रतीक्षा अन्त्य गरियोस्।

झापाको सुकुम्बासी समस्यामा बालेनको बाचा ‘सय दिनमा आयोग, हजार दिनमा समाधान’

0

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा–३ मा बालेन शाहले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हुन्।

घोषणापत्र सार्वजनिक गर्दै उनले संघीय सांसदको हैसियतले बेथिति र भ्रष्टाचारविरुद्ध संसद्को अग्रपंक्तिमा उभिने प्रतिबद्धता व्यक्त गरेका छन्। राष्ट्रिय नीति तथा बजेटमा झापा क्षेत्रका विकासका मुद्दा सशक्त रूपमा उठाउने, सम्बन्धित मन्त्रालयसँग समन्वय गरी संघ, प्रदेश र स्थानीय तहका योजनाको प्रभावकारी अनुगमन गर्ने उनको योजना छ।

उनले स्थानीय जनताका समस्या र आवाज संसद्मा निरन्तर रूपमा उठाउने, नेपाल सरकार र जेनजीबीच भएका सम्झौताको पारदर्शी तथा समयमै कार्यान्वयन सुनिश्चित गर्ने तथा संघीय तहबाट विकास आयोजना छिटो र परिणाममुखी ढंगले अघि बढाउने वातावरण सिर्जना गर्ने बताएका छन्।

शाहले संविधानले सुनिश्चित गरेका गाँस, आवास, स्वास्थ्य, शिक्षा, खानेपानी, रोजगारी, सामाजिक सुरक्षा र स्वच्छ वातावरणजस्ता आधारभूत अधिकार व्यवहारमै कार्यान्वयन गर्न आवश्यक कानुन, बजेट र प्रभावकारी संयन्त्र निर्माण गर्ने अठोट व्यक्त गरेका छन्। राष्ट्रहित विपरीत कुनै पनि सम्झौता नगर्ने उनको प्रतिबद्धता छ।

शिक्षातर्फ उनले सीपसँग जोडिएको शिक्षानीति लागू गर्ने, विपन्न बालबालिकालाई गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने र काठमाडौं महानगरमा लागू गरिएको सीपमूलक कार्यक्रम झापामा विस्तार गर्ने योजना अघि सारेका छन्। गौरीगञ्जस्थित ऐतिहासिक त्रिभुवन पुस्तकालय पुनर्निर्माण गरी डिजिटल अध्ययन तथा अनुसन्धान केन्द्रका रूपमा सञ्चालन गर्ने पनि उनले बताएका छन्।

पूर्वाधारतर्फ दमक–रवि–चिसापानी सडक शीघ्र सम्पन्न गर्ने, ‘आदिवासी जनजाति रंगशाला’ निर्माण गर्ने र विराट बुद्ध पार्कको काम पूरा गरी सञ्चालनमा ल्याउने उल्लेख गरिएको छ। कृषितर्फ कन्काई–रतुवा सिँचाइ योजना विस्तार, श्रम बैंक अवधारणा लागू तथा गौरादह कृषि भण्डारण केन्द्र स्थापना गर्ने योजना सार्वजनिक गरिएको छ।

महिला, अपाङ्गता भएका व्यक्ति तथा एकल महिलालाई लक्षित रोजगारी कार्यक्रम सञ्चालन गर्ने, आमाको नामबाट नागरिकता लिँदा हुने प्रक्रिया सरल बनाउने र सहुलियत दरमा महिला कृषि कर्जा उपलब्ध गराउने प्रतिबद्धता पनि घोषणापत्रमा समेटिएको छ।

स्वास्थ्यतर्फ गरिब तथा विपन्न परिवारका लागि उपचार अधिकार सुनिश्चित गर्ने, अस्पतालका कुल शैयामध्ये १० प्रतिशत शैया निःशुल्क उपचारका लागि छुट्याउने कानुनी व्यवस्था कडाइका साथ लागू गर्ने तथा दमक अस्पताललाई प्रारम्भिक चरणमै ३०० शैयाको अस्पतालका रूपमा स्तरोन्नति गर्ने योजना अघि सारिएको छ।

घोषणापत्रमार्फत उनले “सेवा, इमान्दारिता र परिणाममुखी राजनीति” आफ्नो मुख्य आधार रहने बताएका छन्।

निर्वाचन आयोगको आग्रह : स्थानीय जनप्रतिनिधि प्रचारप्रसारमा नजोडिनू

0

काठमाडौं । निर्वाचन आयोग नेपालले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ।

निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, मितव्ययी र भयमुक्त बनाउन आयोगले यस्तो आग्रह गरेको हो। आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू भइसकेको स्मरण गराउँदै त्यसको पूर्ण पालना गर्नु सबै सरोकारवाला पक्षको दायित्व भएको जनाएको छ।

आयोगका अनुसार सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षले आचारसंहिताको पालना गरिरहेको विषयमा नियमित अनुगमन भइरहेको छ। यसक्रममा केही स्थानीय तहका जनप्रतिनिधि आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा संलग्न भएको भन्ने उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै आयोगले यसप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

आचारसंहितामा स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको प्रचारप्रसारमा संलग्न हुन सक्ने तर सरकारी स्रोतसाधन प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ।

तर आफू कार्यरत रहेको स्थानीय तहभित्र कुनै पनि राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा सहभागी हुनु आचारसंहिता विपरीत हुने भन्दै आयोगले त्यस्तो गतिविधिबाट टाढा रहन सम्बन्धित पदाधिकारीलाई सचेत गराएको छ।

म्याग्दीमा ३०३ मिटर लामो झोलुङ्गे पुल निर्माण सुरु

0
साङ्केतिक तस्बिर

म्याग्दी । धवलागिरि गाउँपालिका–७ काउसीबोट र वडा नं–४ बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको छ। सङ्घीय सरकारअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौंले म्याग्दी नदीमाथि ३०३ मिटर लामो पुल निर्माण थालेको हो।

डिभिजनसँग गत असारमा ठेक्का सम्झौता गरेको रामकृष्ण–सोमरस संयुक्त उपक्रमले निर्माण कार्यलाई तीव्रता दिएको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए। उक्त पुल निर्माणका लागि एक करोड ६४ लाख १५ हजार २५४ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। १८ महिनाको ठेक्का अवधि रहे पनि चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको निर्माण कम्पनीका प्रतिनिधि प्रवीन सापकोटाले बताए।

हाल काउसीबोटतर्फको संरचना निर्माण अन्तिम चरणमा पुगेको छ भने बाँसबोटतर्फ जग खनेर आधार तयार पारिएको छ। संरचना तयार भएपछि लठ्ठा तानेर फलामे डेक जडान गरिने जनाइएको छ।

पुल निर्माण सम्पन्न भएपछि हिलापोखरी, बाँसबोट, खोरबाङ, सोलवाङ, खारा, खाम्ला, छहरी, खिवाङ, शिवाङ, ताकम र काफलडाँडाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन्। स्थानीयवासी राजकुमार कोइरालाका अनुसार पुल बनेपछि एक घण्टाको यात्रा पाँच मिनेटमै सीमित हुनेछ र क्षेत्रलाई पर्यटकीय सम्भावनासँग पनि जोड्ने अपेक्षा गरिएको छ।

बाँसबोट क्षेत्रका किसानले उत्पादन गर्ने केरा लगायत कृषिउपजको बजारीकरणमा समेत सहजता आउने बताइएको छ।

धवलागिरि गाउँपालिकामा यसअघि पनि दुई वटा ३०० मिटरभन्दा लामा झोलुङ्गे पुल निर्माण भइसकेका छन्। वडा नं–६ घाइरीबोट र खाउरीबाङ जोड्ने मराङखोलामा ३६५ मिटर तथा वडा नं–३ फलियागाउँ र दर जोड्ने दरखोलामाथि ३६६ मिटर लामो पुल निर्माण सम्पन्न भइसकेको छ।

हाल म्याग्दी जिल्लामा ३०० मिटरभन्दा लामा झोलुङ्गे पुलको सङ्ख्या छ वटा पुगेको छ। रघुगङ्गा गाउँपालिका–१ बेग र बादुक जोड्ने बेगखोलामा ३६५ दशमलब ८० मिटर, मालिका गाउँपालिका–७ बिमवाङ र धवलागिरि–६ रिख जोड्ने ३५० मिटर, बेनी नगरपालिका–१ रत्नेचौर र बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ३८८ मिटर तथा अन्नपूर्ण गाउँपालिका–५ शिख र किन्दु जोड्ने २४४ मिटर लामो पुल निर्माण भइसकेका छन्।

संखुवासभामा डा. अर्जुन कार्कीको आक्रामक घरदैलो : १० बुँदे संकल्पसहित विकासको खाका सार्वजनिक

0

संखुवासभा । अर्जुन कार्कीले प्रतिनिधि सभा सदस्यका उम्मेद्वारका रूपमा चुनावी घरदैलो अभियानलाई तीव्रता दिएका छन्। अर्जुन कार्की नेकपा एमालेका तर्फबाट चुनावी मैदानमा उत्रिएका हुन्।

संखुवासभाको भिरालो बाटोदेखि टार र बजार क्षेत्रसम्म र्याली, सभा र घरदैलो कार्यक्रम गर्दै उनी किसानका खेतबारीसम्म पुगिरहेका छन्। उनले शिक्षा र सीपलाई उत्पादन, उद्यम र स्थानीय अर्थतन्त्रसँग जोड्ने नीति प्राथमिकतामा राख्दै १० बुँदे नीतिगत तथा संरचनागत सुधारको प्रतिबद्धता सार्वजनिक गरेका छन्।

ऊर्जा उत्पादन र प्रसारण विस्तार, साना–ठूला जलविद्युत् आयोजनाको प्रभावकारी उपयोग, सीमावर्ती व्यापार नाका सुदृढीकरण तथा विशेषगरी किमाथाङ्का नाकालाई आधुनिक र व्यवस्थित बनाउने योजना उनले अघि सारेका छन्। हिमालसम्म सडक र पूर्वाधार विस्तार गर्दै पर्यटन र व्यापारलाई सँगसँगै अगाडि बढाउने उनको योजना रहेको छ।

अरुण उपत्यकादेखि हिमालको काखसम्मका सम्भावनालाई जोड्दै कृषि, पर्यटन र व्यापारको त्रिकोणीय मोडल विकास गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्। पूर्वराजदूतसमेत रहेका कार्कीले संखुवासभा केवल भौगोलिक सिमाना नभई सम्भावनाको ढोका भएको उल्लेख गर्दै नारा होइन, नीति र सम्भावनाको बहस आवश्यक रहेको बताएका छन्।

यसअघि उनले ‘किन र कसरी पाल्छ संखुवासभाले नेपाल?’ शीर्षकमा चुनावी संकल्प सार्वजनिक गर्दै आफ्नो अनुभव र जिम्मेवारीलाई जिल्लाको विकाससँग जोड्ने अठोट व्यक्त गरेका थिए। ‘मेरो संकल्प, मेरो अनुभव, मेरो जिम्मेवारी’ भन्ने अपीलमार्फत उनले संखुवासभालाई ऊर्जा, पानी, जडीबुटी, कृषि, पर्यटन र सीमापार व्यापारको अपार सम्भावना बोकेको भूगोलका रूपमा चित्रित गरेका छन्।

पश्चिमी वायुको आंशिक प्रभाव : पहाड–हिमालमा बादल, तराईमा तुँवालो

0

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। यसको प्रभावका कारण तराईका केही स्थानमा तुँवालो लागेको छ भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली देखिएको छ। बागमती र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।

आज दिउँसो तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना रहेको छ। हिमाली भू–भागमा सामान्य बदली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति तराईका थोरै स्थानमा तुँवालो लाग्ने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा तथा कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। अन्य भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

नेपाल राष्ट्र बैंकद्वारा सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ १६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८७ पैसा तोकिएको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ७० पैसा तथा स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ २५ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०३ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६३ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११५ रुपैयाँ १६ पैसा कायम गरिएको छ। जापानी येन १० को खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०३ पैसा र बिक्रीदर २१ रुपैयाँ १२ पैसा तोकिएको छ।

त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८९ पैसा तथा कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ ०२ पैसा निर्धारण गरिएको छ।

थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४ रुपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७२ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३८ पैसा तोकिएको छ। साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०५ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा कायम गरिएको छ।

यसैगरी, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १६ रुपैयाँ १० पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९१ पैसा र बिक्रीदर २३ रुपैयाँ ०१ पैसा रहेको छ।

हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १८ रुपैयाँ ६७ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ५९ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा तथा ओमानी रियाल एकको खरिददर ३७७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ४० पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको बैंकले जनाएको छ।

धादिङमा यात्रुवाहक बस त्रिशूलीमा खस्यो : १७ जनाको मृत्यु, २४ जना घाइते

0

काठमाडौँ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस धादिङ जिल्लामा दुर्घटनामा परेको छ। दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

आज बिहान करिब १ः३० बजे ग १ ख १४२१ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडास्थित पृथ्वी राजमार्गबाट अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो।

सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार हालसम्म १७ जनाको शव नदीबाट निकालिएको छ। घाइते २४ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।

मृतक तथा घाइतेहरूको सनाखत हुन बाँकी रहेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको छ। उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन वेश आदमघाटबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल गिरिको कमाण्डमा तथा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको जनाइएको छ।

उद्धार कार्य जारी रहेको छ।