काठमाडौं । इरानका विश्वविद्यालयका विद्यार्थीहरूले सरकारले गरेको दमनको विरोधमा प्रदर्शन गरेका छन्। गत महिनादेखि अधिकारीहरूले हिंसात्मक कदम चाल्न थालेपछि यो पहिलो ठूलो स्तरको विरोध हो।
शनिबार राजधानी तेहरानको शरीफ युनिभर्सिटी अफ टेक्नोलोजीको क्याम्पसमा विद्यार्थीहरूले मार्च गर्दै सरकारविरुद्ध प्रदर्शन गरेका थिए। बीबीसीले प्रमाणित भिडियो समेत सार्वजनिक गरेको छ। प्रदर्शनकारी र सरकार समर्थकबीच केही झडप पनि भएको रिपोर्ट छ।
तेहरानका अन्य विश्वविद्यालयमा धर्ना र शहरको उत्तरपूर्वी भागमा र्याली भएको थियो। विद्यार्थीहरूले जनवरीमा भएको सामूहिक विरोध प्रदर्शनमा मारिएका हजारौंको सम्झनामा श्रद्धाञ्जली अर्पण गरेका थिए।
अमेरिकाले इरान वरिपरि आफ्नो सैन्य उपस्थिति बढाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमित सैन्य कारबाही गर्ने विचार गरिरहेको बताएका छन्। अमेरिका र उसका युरोपेली सहयोगीहरू इरानको आणविक हतियार विकासको सम्भावनामा शंका राखिरहेका छन्, जुन इरानले अस्वीकार गर्दै आएको छ।
यसैबीच, अमेरिकी र इरानी अधिकारीहरूले मंगलबार स्विट्जरल्याण्डमा वार्ता गर्दै इरानको आणविक कार्यक्रम सीमित गर्ने प्रयासमा प्रगति भएको बताएका छन्।











