Sunday, May 10, 2026
Homeराजनीतिनिर्वाचन आयोगको आग्रह : स्थानीय जनप्रतिनिधि प्रचारप्रसारमा नजोडिनू

निर्वाचन आयोगको आग्रह : स्थानीय जनप्रतिनिधि प्रचारप्रसारमा नजोडिनू

काठमाडौं । निर्वाचन आयोग नेपालले स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको छ।

निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, मितव्ययी र भयमुक्त बनाउन आयोगले यस्तो आग्रह गरेको हो। आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू भइसकेको स्मरण गराउँदै त्यसको पूर्ण पालना गर्नु सबै सरोकारवाला पक्षको दायित्व भएको जनाएको छ।

आयोगका अनुसार सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित पक्षले आचारसंहिताको पालना गरिरहेको विषयमा नियमित अनुगमन भइरहेको छ। यसक्रममा केही स्थानीय तहका जनप्रतिनिधि आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको प्रचारप्रसारमा संलग्न भएको भन्ने उजुरी तथा गुनासो प्राप्त भएको जनाउँदै आयोगले यसप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

आचारसंहितामा स्थानीय कार्यपालिकाका पदाधिकारीले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा सम्बन्धित राजनीतिक दलको प्रचारप्रसारमा संलग्न हुन सक्ने तर सरकारी स्रोतसाधन प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ।

तर आफू कार्यरत रहेको स्थानीय तहभित्र कुनै पनि राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा सहभागी हुनु आचारसंहिता विपरीत हुने भन्दै आयोगले त्यस्तो गतिविधिबाट टाढा रहन सम्बन्धित पदाधिकारीलाई सचेत गराएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका