Saturday, May 9, 2026
Homeराजनीतिप्रतिनिधिसभा निर्वाचन : आचारसंहितामा कडाइ गर्दै आयोग

प्रतिनिधिसभा निर्वाचन : आचारसंहितामा कडाइ गर्दै आयोग

काठमाडौं। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले आचारसंहिता लाग्ने व्यक्ति, समूह तथा संस्थाबारे पुनःस्मरण गराएको छ। पछिल्ला दिनमा आचारसंहिता उल्लंघनका घटना सार्वजनिक हुनुका साथै उल्लेख्य उजुरी परेपछि आयोगले सबै सरोकारवालालाई सचेत गराएको हो। प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ गते हुँदैछ।

आयोगका अनुसार नेपाल सरकार तथा सरकारका मन्त्री, प्रदेश सरकार तथा प्रदेश सरकारका मन्त्रीहरूलाई पूर्ण रूपमा आचारसंहिता लागू हुन्छ। त्यस्तै, नेपाल सरकार वा प्रदेश सरकारअन्तर्गतका निकाय र तिनका पदाधिकारी, स्थानीय कार्यपालिका तथा सदस्य, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू पनि आचारसंहिताको पूर्ण दायरामा पर्छन्।

सञ्चार प्रतिष्ठान, तिनका कर्मचारी तथा सञ्चारकर्मी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा तिनका शिक्षक र कर्मचारीसमेत आचारसंहिताको दायरामा रहने आयोगले स्पष्ट पारेको छ। राजनीतिक दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधिलाई पनि आचारसंहिता अनिवार्य रूपमा लागू हुनेछ।

निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, तिनका पदाधिकारी तथा कर्मचारीहरूलाई पनि पूर्ण रूपमा आचारसंहिता लागू हुने आयोगले जनाएको छ। साथै वस्तु तथा सेवा प्रदायक व्यावसायिक संस्था, निजी तथा गैरसरकारी संस्था र तिनका पदाधिकारी तथा कर्मचारीहरू पनि सोही दायरामा रहनेछन्।

संवैधानिक निकाय, तिनका पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सार्वजनिक पद धारण गरेका व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्तालाई समेत निर्वाचन आचारसंहिता लागू हुने आयोगले उल्लेख गरेको छ।

त्यसैगरी मतदाता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, आयोगले तोकेका अन्य निकाय वा व्यक्ति, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना र तिनका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा तिनका कर्मचारीलाई पनि आचारसंहिता लागू हुने जनाएको छ।

स्थानीय कार्यपालिकाका पदाधिकारी आचारसंहिताविपरीत निर्वाचन प्रचारप्रसारमा संलग्न भएको पाइएपछि आयोगले आइतबार पनि स्मरण गराएको थियो। सोमबार पुनःसरकारी तथा निजी क्षेत्रका सबै सरोकारवालालाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका