बाजुरा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बाजुरामा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि चरणबद्ध अभिमुखीकरण तालिम सञ्चालन गरिने भएको छ। जिल्ला निर्वाचन कार्यालय बाजुराले तालिम बिहीबारदेखि सुरु हुने जनाएको छ।
पहिलो चरणअन्तर्गत फागुन १४ गते बुढी नन्दा नगरपालिका, हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका तथा जगेडामा रहेका गरी ८८ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइनेछ।
दोस्रो चरणमा फागुन १५ गते खप्तड छेडेदह गाउँपालिका, जगन्नाथ गाउँपालिका, त्रिवेणी नगरपालिका तथा अस्थायी मतदान केन्द्रमा खटिने ७८ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण गरिने जिल्ला निर्वाचन कार्यालय बाजुराका निर्वाचन अधिकारी भीमबहादुर शाहीले जानकारी दिए।
तेस्रो चरणअन्तर्गत फागुन १६ गते बिहान १० बजेदेखि सदरमुकाम मार्तडीमा बुढीगंगा नगरपालिका, बडी मालिका नगरपालिका र गौमुल गाउँपालिकाका मतदान केन्द्रमा खटिने ८४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम प्रदान गरिनेछ।
तालिममा सहभागी हुन आउने अधिकृतहरूलाई परिचयपत्र, व्यक्तिगत पान नम्बर तथा बैंकको चेक बुकको फोटोकपी साथमा ल्याउन आग्रह गरिएको छ।
निर्वाचन कार्यालयका अनुसार बाजुरामा निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ। उक्त निर्वाचनमा एक स्वतन्त्र उम्मेदवारसहित सात राजनीतिक दलका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।


