Saturday, May 9, 2026
Homeमुख्य समाचारसाम्बाको आग्रह: उपचारका लागि पर्याप्त रकम उठ्यो, सबैलाई धन्यवाद।

साम्बाको आग्रह: उपचारका लागि पर्याप्त रकम उठ्यो, सबैलाई धन्यवाद।

काठमाडौं। राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि प्राप्त व्यापक सहयोगप्रति आभार व्यक्त गर्दै अब थप आर्थिक सहयोग नगर्न अनुरोध गरेकी छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले पछिल्लो २४ घण्टामा पाएको साथ, विश्वास र मायाले आफूलाई अत्यन्त भावुक र बलियो बनाएको बताइन्। आर्थिक सहयोगसँगै समर्थकको हौसलाले शल्यक्रिया र पुनस्र्थापनामा पूर्ण ऊर्जा मिलेको उनको भनाइ छ।

भण्डारीका अनुसार उपचारका लागि नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममार्फत करिब ४५ लाख रुपैयाँ (५२ हजार न्यूजिल्यान्ड डलर) संकलन भइसकेको छ। विभिन्न संघ–संस्था तथा व्यक्तिहरूबाट नगद र सुविधा सहयोगको प्रतिबद्धता समेत प्राप्त भएकाले उपचार खर्च, आवास तथा यातायात व्यवस्थापनका लागि पर्याप्त हुने देखिएको उनले उल्लेख गरिन्। त्यसैले दुवै खातामा अब सहयोग रकम रोक्न उनले अनुरोध गरेकी छन्।

उनी आबद्ध क्लब वेलिंगटन फिनिक्सले पनि शल्यक्रिया तथा पुनस्र्थापनाका लागि बीमा रकम निकासा गरी उपचार प्रक्रियामा सहजीकरण गरिरहेको जनाइएको छ। छिट्टै शल्यक्रियाको मिति तय हुनेमा आफू विश्वस्त रहेको उनले बताइन्।

चोटका कारण शारीरिक मात्र होइन, मानसिक रूपमा पनि कठिन समय गुज्रिएको उल्लेख गर्दै उनले समर्थकको साथले आफूलाई पुनः उठ्ने साहस दिएको बताइन्। “खेलाडीका रूपमा मैले कमाएको सबैभन्दा ठूलो सम्पत्ति माया, भरोसा र समर्थन रहेछ,” उनले लेखेकी छन्।

उनले दृढ संकल्प व्यक्त गर्दै आफू अझ मजबुत भएर फर्कने र पुनः नेपालको जर्सी लगाएर देशका लागि मैदानमा उत्रिने प्रतिबद्धता जनाएकी छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका