न्यु जर्सी। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार हुने फिफा विश्वकप फुटबलको फाइनल खेलमा विशेष अतिथिका रूपमा सहभागी हुने भएका छन्। स्पेन र अर्जेन्टिनाबीच हुने उपाधि भिडन्तपछि उनले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोसँग मिलेर विजेता टोलीलाई विश्वकप ट्रफी प्रदान गर्ने कार्यक्रम तय भएको छ।
न्यु जर्सीस्थित रंगशालामा हुने यो खेल ट्रम्पले प्रत्यक्ष रूपमा अवलोकन गर्ने पहिलो फिफा विश्वकप फाइनल हुनेछ। यसअघि प्रतियोगिताका क्रममा उनको केही गतिविधिले खेलको निष्पक्षतालाई लिएर विवाद पनि सिर्जना गरेको थियो।
प्रतियोगिताको अन्तिम १६ चरणअघि अमेरिकी स्ट्राइकर फोलारिन बालोगुनमाथि लागेको रातो कार्ड वा निलम्बनबारे पुनर्विचार गर्न राष्ट्रपति ट्रम्पले फिफा अध्यक्ष इन्फान्टिनोसँग फोनमा कुराकानी गरेको खबर सार्वजनिक भएपछि त्यसले व्यापक चर्चा र आलोचना निम्त्याएको थियो। यद्यपि, त्यस विषयमा फिफाले कुनै औपचारिक निर्णय परिवर्तन गरेको थिएन।
विवादका बाबजुद ट्रम्पले यस विश्वकपलाई अहिलेसम्मकै सबैभन्दा सफल प्रतियोगितामध्ये एक भएको दाबी गर्दै अमेरिकामा फुटबलप्रतिको आकर्षण उल्लेखनीय रूपमा बढेको बताएका छन्।
फाइनल खेलमा राष्ट्रपति ट्रम्पसँगै प्रथम महिला मेलानिया ट्रम्प, उनका छोरा ब्यारन ट्रम्प तथा मेलानियाका पिता भिक्टर नाभ्स पनि उपस्थित रहने जनाइएको छ।
विश्वकप फाइनल खेल राजनीतिक तथा कूटनीतिक भेटघाटको अवसरसमेत बन्ने अपेक्षा गरिएको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज, स्पेनी राजपरिवारका सदस्यहरू, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबाम तथा क्यानडाका प्रधानमन्त्री मार्क कार्नी पनि खेल हेर्न रंगशालामा उपस्थित रहने कार्यक्रम छ।
हाल अमेरिका, स्पेन, क्यानडा र मेक्सिकोसँग विभिन्न कूटनीतिक तथा आर्थिक विषयमा मतभेद भइरहेका बेला यी शीर्ष नेताहरूको एकै स्थानमा उपस्थितिलाई चासोका साथ हेरिएको छ।
ट्रम्पको आगमनलाई ध्यानमा राख्दै न्यु जर्सीस्थित रंगशाला र आसपासको क्षेत्रमा कडा सुरक्षा व्यवस्था लागू गरिएको छ। उनको भ्रमण अवधिभर रंगशाला वरपरको हवाई क्षेत्रलाई अस्थायी रूपमा ‘नो-फ्लाइ जोन’ घोषणा गर्ने तयारी गरिएको अमेरिकी सुरक्षा अधिकारीहरूले बताएका छन्।
दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किएपछि ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोबीचको सम्बन्ध अझ निकट बनेको देखिन्छ। ट्रम्पले सन् २०२६ को विश्वकप र सन् २०२८ को लस एन्जलस ओलम्पिक आयोजनालाई आफ्नो प्रशासनको प्रमुख उपलब्धिमध्ये एकका रूपमा प्रस्तुत गर्दै आएका छन्।
यसअघि न्यु जर्सीमै सम्पन्न फिफा क्लब विश्वकपको उपाधि वितरण समारोहमा ट्रम्पले विजेता टोलीसँगै मञ्चमा लामो समय बसेको दृश्य चर्चाको विषय बनेको थियो। त्यसपछि उनले क्लब विश्वकपको सक्कली ट्रफी ह्वाइट हाउसमा राखिएको दाबी गरे पनि फिफाले ह्वाइट हाउसमा रहेको ट्रफी प्रतिकृति (रेप्लिका) मात्र भएको स्पष्ट पारेको थियो।


