काठमाडौँ । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङविरुद्ध बैंकिङ कसुरसम्बन्धी १० वटा छुट्टाछुट्टै मुद्दा रहेको खुलेको छ। सोमबार पक्राउ परेका तामाङ विभिन्न मुद्दामा फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीविरुद्ध २ लाख रुपैयाँदेखि ३ करोड ४ लाख रुपैयाँसम्म बिगो दाबी गरिएका बैंकिङ कसुरका मुद्दा छन्। उनी सोमबार प्रधानमन्त्री बालेन शाहले सिंहदरबारमा बोलाएको बाढी प्रभावित स्थानीय तहका जनप्रतिनिधिसँगको छलफलमा सहभागी भएका थिए। छलफलबाट बाहिरिने क्रममा प्रहरीले उनलाई सिंहदरबारबाटै पक्राउ गरेको हो।
सोमबार उनलाई पक्राउ गर्नुको आधार अरुण अर्यालले प्रहरी वृत्त दरबारमार्गमा दर्ता गराएको ५ लाख २५ हजार रुपैयाँ बिगो दाबीको बैंकिङ कसुरसम्बन्धी जाहेरी रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेका अनुसार तामाङविरुद्ध जाहेरी परेका र अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस भइसकेका १० वटा मुद्दामा उनी फरार देखिएका छन्।
तामाङविरुद्ध सबैभन्दा ठूलो ३ करोड ४ लाख रुपैयाँ बिगोको मुद्दा रहेको छ। सुनमाया घर्तीले जिल्ला प्रहरी परिसर काठमाडौँमा दिएको उक्त जाहेरीमा उनी २०८२ फागुन ५ गतेदेखि फरार रहेको प्रहरीले जनाएको छ। उक्त मुद्दामा प्रहरीले अनुसन्धान पूरा गरी सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ।
त्यस्तै, हेराकाजी बाडेले दिएको १ करोड ३ लाख ३० हजार रुपैयाँ बिगो दाबीको बैंकिङ कसुरसम्बन्धी मुद्दामा पनि तामाङ फरार रहेको प्रहरीले जनाएको छ।
अन्य जाहेरीमा बहादुर बगालेले ४८ लाख, विजय सिंह लामाले ९५ लाख, सम्पूर्ण घर्ती मगरले २ करोड ५६ लाख, सुमर तामाङले २ लाख र दलबहादुर आलेले ७५ लाख रुपैयाँ बिगो दाबी गरेका छन्।
सृजना तामाङले पनि वीरबल तामाङविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा बैंकिङ कसुरसम्बन्धी जाहेरी दर्ता गराएकी छन्। तर जेनजी आन्दोलनका क्रममा सम्बन्धित फाइल जलेकाले उक्त मुद्दामा दाबी गरिएको रकम खुल्न नसकेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार तामाङको काठमाडौँको नयाँ बजारमा ओशिन ट्रान्सपोर्ट एन्ड एडभेन्चर प्रालि सञ्चालनमा रहेको छ। उक्त कम्पनीको आर्थिक कारोबारमा समस्या आएपछि उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी उजुरी परेको बताइएको छ।
पक्राउ परेका तामाङलाई हाल प्रहरी वृत्त दरबारमार्गमा राखेर थप अनुसन्धान भइरहेको एसएसपी घिमिरेले जानकारी दिए।


