काठमाडौं । साउदी अरबमाथि हुथी आक्रमण तीव्र भइरहेका बेला पाकिस्तानमा साउदी अरबको सुरक्षाका विषयमा आवाज उठ्न थालेको छ। पाकिस्तानी सिनेटर अब्दुल करीमले साउदी अरब तथा मक्का–मदिनाका पवित्र स्थलको सुरक्षाका लागि पाकिस्तान सरकारले सेना पठाउनुपर्ने माग गरेका छन्।
एक सभालाई सम्बोधन गर्दै सिनेटर करीमले साउदी अरब कुरान र सुन्नतअनुसार सञ्चालन हुने तथा तौहिद कायम राखिएको देश भएको उल्लेख गर्दै लगातार आक्रमणको सामना गरिरहेको बताए।
उनले पाकिस्तान सरकारले साउदी अरबको रक्षामा आफ्नो पूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए। सरकारले सेना पठाउन नसके अहले–हदीसका १ लाख युवालाई साउदी अरब जान अनुमति दिनुपर्ने उनको माग थियो।
मक्का र मदिनाको सुरक्षाका लागि आफूहरू तयार रहेको उल्लेख गर्दै करीमले हरम शरीफको सुरक्षाका लागि ठूलो संख्यामा मानिसहरू जान इच्छुक रहेको बताए। उनले हुथी आक्रमणसँगै साउदी अरबविरुद्ध कथित इरानी एजेन्टहरूको गतिविधिको समेत उल्लेख गरे।
यमनका इरान समर्थित हुथीहरूले साउदी अरबमाथि आक्रमण तीव्र बनाइरहेका बेला सिनेटर करीमको यस्तो धारणा सार्वजनिक भएको हो। सेप्टेम्बर १३ मा हुथीहरूले दक्षिणी शरुरुह क्षेत्रमा रहेको साउदी सैन्य अखडामा ब्यालिस्टिक र क्रुज मिसाइल प्रहार गरेको दाबी गरेका थिए। उनीहरूका अनुसार आक्रमणमा कमान्ड सेन्टर र हतियार भण्डारमा क्षति पुगेको थियो।
दक्षिणी सहर जाजानमा पनि हुथी आक्रमणका कारण मस्जिद र केही घरमा क्षति पुगेको तथा कम्तीमा दुई जना नागरिक घाइते भएको बताइएको छ। यसअघि दक्षिणी साउदी सहरमा भएका ड्रोन तथा मिसाइल आक्रमणमा ७३ जना नागरिक घाइते भएको जानकारी सार्वजनिक भएको थियो।
हुथीहरूको ड्रोन आक्रमणपछि साउदी अरबको महत्त्वपूर्ण ईस्ट–वेस्ट तेल पाइपलाइनको सञ्चालनसमेत प्रभावित भएको विषय सार्वजनिक भएको छ। पाइपलाइन पूर्ण वा आंशिक रूपमा चाँडै सञ्चालनमा नआए रेड सी बन्दरगाहमा रहेको साउदीको निर्यातयोग्य कच्चा तेल पाँचदेखि सात दिनमा सकिन सक्ने चेतावनी विज्ञहरूले दिएका छन्।
साउदी अरबमाथि लगातार आक्रमण भइरहेका बेला पाकिस्तानी सिनेटरको यस्तो भनाइले क्षेत्रीय तनाव थप चर्किएको संकेत गरेको छ।


