Sunday, September 13, 2026
Homeअन्तराष्ट्रियमोदीको रात्रिभोजमा सी चिनफिङ अनुपस्थित, कारणबारे अड्कलबाजी

मोदीको रात्रिभोजमा सी चिनफिङ अनुपस्थित, कारणबारे अड्कलबाजी

नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स शिखर सम्मेलनमा सहभागी राष्ट्रका प्रमुख तथा अन्य प्रतिनिधिका लागि आयोजना गरेको विशेष रात्रिभोजमा सहभागी नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

शनिबार नयाँदिल्लीस्थित भारत मण्डपमा प्रधानमन्त्री मोदीले ब्रिक्स सदस्य राष्ट्रका नेताहरू, सम्मेलनमा सहभागी अन्य देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय संस्थाका अधिकारीहरूका लागि रात्रिभोज आयोजना गरेका थिए। तर, उक्त समारोहमा चिनियाँ राष्ट्रपति सी उपस्थित भएनन्।

सीको अनुपस्थितिको आधिकारिक कारण भने सार्वजनिक गरिएको छैन। उनको अनुपस्थितिले भारत–चीन सम्बन्ध तथा पछिल्लो कूटनीतिक संवादका विषयमा विभिन्न चर्चा र अड्कलबाजी सुरु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

मोदी–सी भेटवार्तापछि रात्रिभोजमा अनुपस्थिति

ब्रिक्स सम्मेलनका क्रममा प्रधानमन्त्री मोदी र राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता भएको थियो। लामो समयपछि भएको उक्त भेटमा दुई देशबीचको सम्बन्ध सुधार, सीमा क्षेत्रमा शान्ति तथा आर्थिक सहकार्यलगायत विषयमा छलफल भएको बताइएको छ।

दुवै नेताबीचको भेटलाई भारत–चीन सम्बन्ध सुधारतर्फको सकारात्मक संकेतका रूपमा हेरिएको छ। तर, भेटवार्तापछि आयोजित उच्चस्तरीय रात्रिभोजमा सी सहभागी नहुनुले उनको अनुपस्थितिको कारणबारे प्रश्न उठेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार रात्रिभोजमा अन्य विशिष्ट अतिथि सहभागी भएका थिए। सीको अनुपस्थितिबारे भने चिनियाँ वा भारतीय पक्षबाट तत्काल कुनै औपचारिक स्पष्टीकरण सार्वजनिक भएको छैन।

चिनियाँ राष्ट्रपतिको भारत भ्रमण सन् २०१९ पछि पहिलोपटक भएको हो। सीमा विवाद र दुई देशबीचको कूटनीतिक तनावपछि भएको यो भ्रमणलाई सम्बन्ध सामान्य बनाउने प्रयासका रूपमा हेरिएको छ।

यसैबीच, प्रधानमन्त्री मोदीले आयोजना गरेको रात्रिभोजमा प्रस्तुत परिकारबारे पनि भारतीय सञ्चारमाध्यममा चर्चा भएको छ। यद्यपि, सी चिनफिङ रात्रिभोजमा सहभागी नभएको विषय नै बढी चासोको विषय बनेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका