Sunday, September 13, 2026
Homeसामाचारकृष्णभीरमा पहिरो हटाएर सवारी परीक्षण, सडक खुलाउने प्रयास तीव्र

कृष्णभीरमा पहिरो हटाएर सवारी परीक्षण, सडक खुलाउने प्रयास तीव्र

काठमाडौं । नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो हटाएर यातायात पुनः सञ्चालन गर्ने प्रयासस्वरूप सवारीसाधन सञ्चालनको परीक्षण सुरु गरिएको छ।

सडक विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनको संयुक्त टोलीले पहिरो पन्छाएर तयार पारेको ट्र्याकबाट सवारीसाधन पार गराउन थालेको हो। परीक्षणका क्रममा काठमाडौँबाट चितवनतर्फ एउटा ग्यास बुलेटसहित करिब २० वटा साना–ठूला सवारीसाधन पार गराइएको छ। चितवनबाट काठमाडौँतर्फ एउटा भारी सवारीसाधन पनि सफलतापूर्वक पार गराइएको छ।

हाल पहिरो प्रभावित क्षेत्रमा एकतर्फी रूपमा मात्र यातायात सञ्चालन गर्न सकिएकाले दुवैतर्फ सवारीसाधनको चाप रहेको छ। पहिरोको जोखिम पूर्ण रूपमा नहटेकाले सुरक्षालाई ध्यान दिँदै सडकलाई द्विपक्षीय रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

सडकमा बाँकी रहेको लेदो तथा ढुङ्गा हटाउन भारी उपकरण प्रयोग गरिएको छ। कृष्णभीरमा सडकको ग्रेड मिलाउने तथा आवागमनका लागि आवश्यक प्लाटफर्म तयार गर्ने काम दुईवटा बुलडोजरको प्रयोगबाट तीव्र रूपमा भइरहेको छ।

सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम भने अझै बाँकी रहेको प्राविधिक टोलीले जनाएको छ। तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई प्राथमिकताका आधारमा सञ्चालन गराउने तयारी गरिएको छ।

सडकको भारवहन क्षमता र आवागमनको अवस्था परीक्षण गर्न सुरुमा खाली ग्यास बुलेट सञ्चालन गरिने जनाइएको छ। मौसम अनुकूल रहेमा ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई आंशिक रूपमा सञ्चालन गर्न सकिने प्राविधिक टोलीको भनाइ छ।

गत भदौ १० गते आएको त्रिशूली बाढीका कारण कृष्णभीरमा सडक कटान भएपछि उक्त सडकखण्ड अवरुद्ध भएको थियो। सडकलाई पूर्ण रूपमा सञ्चालनयोग्य बनाउन ग्राभेलिङ, कम्प्याक्सन तथा अन्य आवश्यक संरचनागत काम पूरा गर्नुपर्ने अवस्था रहेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका