Tuesday, September 15, 2026
Homeसामाचाररसुवागढी नाका बन्द भएपछि तातोपानी र हिल्सातर्फ सरे कैलाश मानसरोवरका यात्रु

रसुवागढी नाका बन्द भएपछि तातोपानी र हिल्सातर्फ सरे कैलाश मानसरोवरका यात्रु

काठमाडौं । रसुवागढी नाका अवरुद्ध भएपछि कैलाश मानसरोवर यात्राबाट फर्किने तथा तिब्बत भ्रमणमा जाने–आउने यात्रुको आवागमन वैकल्पिक नाकातर्फ सर्न थालेको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले भन्सार, अध्यागमनलगायतका संरचनामा क्षति पुर्‍याएपछि यात्रुले सिन्धुपाल्चोकको तातोपानी र हुम्लाको हिल्सा नाका प्रयोग गर्न थालेका हुन्।

अध्यागमन विभागका अनुसार भदौ १० देखि २९ गतेसम्म तातोपानी नाकाबाट ३ हजार ९०४ जना नेपाल प्रवेश गरेका छन्। प्रवेश गर्ने यात्रुमध्ये १ हजार ७३३ जना महिला रहेका छन्। सोही अवधिमा तातोपानी नाका हुँदै ३९१ जना नेपालबाट चीनतर्फ प्रस्थान गरेका छन्।

विभागका अनुसार तातोपानीबाट नेपाल भित्रिने यात्रुमध्ये ठूलो सङ्ख्या तिब्बत भ्रमण तथा कैलाश मानसरोवर यात्राबाट फर्किनेहरूको रहेको छ। रसुवागढी नाका हुँदै चीन प्रवेश गरी तिब्बत तथा कैलाश मानसरोवर पुगेका यात्रुहरू नाका बन्द भएपछि तातोपानी र हिल्सा हुँदै नेपाल फर्किन थालेका हुन्।

हुम्लाको हिल्सा नाकाबाट पनि उक्त अवधिमा ३८७ जना नेपाल भित्रिएका छन्। तीमध्ये १६५ जना यसअघि रसुवागढी नाका हुँदै चीनतर्फ गएका यात्रु रहेको विभागले जनाएको छ। सोही अवधिमा हिल्सा नाका हुँदै १७८ जना चीनतर्फ प्रस्थान गरेका छन्।

रसुवागढीमा आएको बाढीले अध्यागमन कार्यालयसहितका संरचनामा क्षति पुर्‍याएपछि उक्त नाकाबाट हुने यात्रु आवागमन पूर्ण रूपमा प्रभावित भएको हो। बाढीले कैलाश मानसरोवर यात्रामा प्रयोग हुने केही सवारीसाधनसमेत बगाएको थियो।

नेपाल हुँदै कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीको सङ्ख्या पछिल्ला वर्षमा निरन्तर बढ्दै गएको छ। भारत र चीनबीचको सीमा तनावका कारण करिब पाँच वर्ष रोकिएको भारतीय नागरिकको कैलाश मानसरोवर यात्रा गत वर्षदेखि पुनः सञ्चालनमा आएको थियो।

चीनले यस वर्ष नेपाल हुँदै कैलाश मानसरोवर जाने भारतीय राहदानीवाहक तीर्थयात्रीको कोटा २४ हजार पुर्‍याएको छ। गत वर्ष यस्तो कोटा २० हजार रहेको थियो।

हाल नेपालबाट कैलाश मानसरोवर पुग्न तातोपानी, रसुवागढी र हिल्सा गरी तीन स्थलमार्ग तथा काठमाडौँ–ल्हासा हवाई मार्ग प्रयोग हुँदै आएको छ। रसुवागढी नाका बन्द भएपछि तातोपानी र हिल्सा यात्रुका लागि प्रमुख वैकल्पिक मार्ग बनेका छन्।

भारतले लिपुलेक र सिक्किमको नाथुला नाकाबाट पनि कैलाश मानसरोवर यात्रा सञ्चालन गर्दै आएको छ। ती दुई मार्गबाट भने वार्षिक १ हजार भारतीय तीर्थयात्रीलाई मात्र यात्रा गराउने व्यवस्था छ। लिपुलेक र नाथुलाबाट ५००–५०० जनाको सीमा रहेकाले ठूलो सङ्ख्यामा भारतीय तीर्थयात्री नेपालको बाटो हुँदै कैलाश मानसरोवर जाने गरेका छन्।

रसुवागढी नाका पुनः सञ्चालनमा नआएसम्म तातोपानी र हिल्सा नाकामा यात्रुको चाप अझै बढ्न सक्ने देखिएको छ।

अध्यागमन विभागले वैकल्पिक नाकाबाट हुने यात्रु आवागमनलाई सहज र व्यवस्थित बनाउन सम्बन्धित निकायसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका