Saturday, May 9, 2026
Homeसामाचारविद्युत नियमन आयोगद्वारा ‘संस्थागत सुशासन मापदण्ड, २०८२’ मस्यौदा सार्वजनिक

विद्युत नियमन आयोगद्वारा ‘संस्थागत सुशासन मापदण्ड, २०८२’ मस्यौदा सार्वजनिक

काठमाडौं । विद्युत नियमन आयोगले अनुमतिपत्र प्राप्त संस्थाहरूका लागि “संस्थागत सुशासन मापदण्ड, २०८२” को मस्यौदा सार्वजनिक गरेको छ। आयोगले विद्युत नियमन आयोग ऐन, २०७४ को दफा ४३ ले दिएको अधिकार प्रयोग गरी मापदण्ड तयार गरिएको जनाएको छ।

आयोगका अनुसार मस्यौदा छलफल तथा सुझावका लागि सार्वजनिक गरिएको हो। यसमा विद्युत उत्पादन, प्रसारण, वितरण वा व्यापारका लागि अनुमतिपत्र प्राप्त संस्था, संगठित संस्था वा कम्पनीले पालना गर्नुपर्ने सुशासनसम्बन्धी आधारभूत सिद्धान्तहरू समेटिएका छन्। असल अभ्यासको प्रवर्द्धन, पारदर्शिता, जवाफदेहिता, शेयरधनीको हित संरक्षण र समान व्यवहारलाई अनिवार्य गरिएको छ।

मापदण्डअनुसार प्रत्येक संस्थाले तोकिएको समयभित्र वार्षिक साधारणसभा सम्पन्न गर्नुपर्नेछ। सञ्चालक समितिमा कम्तीमा एक महिला सञ्चालक अनिवार्य राख्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। एउटै परिवारका एकभन्दा बढी व्यक्ति एउटै अवधिमा सञ्चालक समितिमा बस्न नपाउने प्रावधान पनि समावेश गरिएको छ।

स्वतन्त्र सञ्चालक नियुक्तिका लागि स्पष्ट मापदण्ड तोकिएको छ। सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएका व्यक्तिलाई स्वतन्त्र सञ्चालकका रूपमा नियुक्त गर्न सकिने व्यवस्था गरिएको छ। स्वतन्त्र सञ्चालकले उच्च नैतिकता, निष्पक्षता र प्रमाणमा आधारित निर्णयमा जोड दिनुपर्ने उल्लेख छ।

लेखा, लेखापरीक्षण र आन्तरिक नियन्त्रण

मस्यौदाअनुसार अनुमतिपत्र प्राप्त संस्थाले दोहोरो लेखा प्रणाली अपनाउनुपर्ने, आन्तरिक तथा अन्तिम लेखापरीक्षण अनिवार्य गर्नुपर्ने र प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली लागू गर्नुपर्नेछ। लेखापरीक्षण समिति गठन अनिवार्य गरिनुका साथै वित्तीय अनुशासन, जोखिम न्यूनीकरण र कानुनी अनुपालनमा विशेष जोड दिइएको छ।

जोखिम व्यवस्थापन र बीमा

आयोजना निर्माण तथा सञ्चालनसँग सम्बन्धित जोखिमको पहिचान, मापन र अभिलेख (रजिस्टर) तयार गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। जोखिमको सम्भावनाअनुसार वर्गीकरण गरी आवश्यक परे बीमा व्यवस्था मिलाउनुपर्ने उल्लेख छ। जोखिमलाई ‘निश्चित’, ‘उच्च’, ‘मध्यम’, ‘न्यून’ र ‘अति न्यून’ गरी वर्गीकरण गर्ने प्रावधान राखिएको छ।

गुनासो सुनुवाइ र सामाजिक उत्तरदायित्व

शेयरधनी तथा कर्मचारीको गुनासो सुनुवाइका लागि संयन्त्र स्थापना गरी २१ दिनभित्र निर्णय दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रचलित कानुनले तोकेको प्रतिशत रकम खर्च गर्नुपर्ने प्रावधान पनि समेटिएको छ।

प्रत्येक संस्थाले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र आफ्नो कार्यसम्पादनसम्बन्धी वार्षिक प्रतिवेदन आयोगसमक्ष पेश गर्नुपर्नेछ। प्रतिवेदनमा सञ्चालक समितिको विवरण, लेखापरीक्षकको प्रतिवेदन, कानुनी कारबाहीको अवस्था, चुनौती तथा रणनीति तथा वित्तीय विवरण समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

आयोगले मस्यौदामा कुनै बाधा वा कठिनाइ देखिएमा संशोधन गर्न सक्ने तथा प्रचलित कानुनसँग बाझिएको हदसम्मका प्रावधान अमान्य हुने स्पष्ट पारेको छ। सरोकारवालाबाट प्राप्त सुझावका आधारमा मापदण्डलाई अन्तिम रूप दिइने आयोगले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका