काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष रोबिन शेरचनले संस्थाभित्र बृहत् एकता कायम गर्न सबैले आ–आफ्नो स्थानबाट त्याग र योगदान गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाल न्यूज बैंकसँगको विशेष संवादमा उनले आगामी १२औँ महाधिवेशनले संस्थाभित्रको विभाजन अन्त्य गर्दै बृहत् एकता स्थापित गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार हाल देखिएका असहमति र गुट–उपगुटको अन्त्य गर्दै देशको समृद्धिका लागि सबै एकताबद्ध हुनुपर्ने आवश्यकता छ।
“पछिल्लो समय संस्थाभित्र केही असहमतिहरू र गुटबन्दी देखिएका थिए। तर अब १२औँ महाधिवेशनबाट सबैलाई एकतामा बाँधेर एक ढिक्का बनाउने विषय हाम्रो प्रमुख एजेन्डा बन्नुपर्छ,” उनले भने, “यस पटकको अधिवेशन एकताको सूत्रमा बाँध्ने अधिवेशन बन्नुपर्छ। त्यसका लागि मैले अधिकतम प्रयास गरेको छु।”
शेरचनले गैरआवासीय नेपालीहरूको मुद्दालाई सशक्त रूपमा अगाडि बढाउने समय आएको उल्लेख गर्दै व्यवसायी, श्रमिक र विद्यार्थीका मुद्दालाई फरक–फरक रूपमा सम्बोधन गर्नुपर्ने बताए। विश्वका विभिन्न देशमा रहेका सफल नेपाली, श्रमिक वर्ग, व्यवसायी, विद्यार्थी तथा ज्ञान–सीप भएका नेपालीलाई नेपालसँग जोड्न आवश्यक रहेको उनले बताए।
३८ वर्ष जापानमा बसेर व्यवसाय गरेको अनुभव सुनाउँदै उनले आफूले हासिल गरेको ज्ञान, सीप र पूँजीलाई नेपालको विकासमा योगदान गर्ने लक्ष्य राखेको बताए। उनले एनआरएनए नागरिकताको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिए।
“नागरिकता ऐनमा भएका व्यवस्था र सुविधाहरू व्यवहारमा लागू हुन आवश्यक छ। ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने मन्त्रलाई व्यवहारमा सार्थकता दिनुपर्छ,” उनले भने, “यसका लागि सरकारसँग प्रभावकारी लबिङ गर्न आवश्यक छ।”
राजनीतिक अधिकारबाहेक अन्य अधिकार सुनिश्चित भए विदेशमा रहेका धेरै नेपाली नेपालमा आएर लगानी गर्न इच्छुक हुने उनको भनाइ छ। तर संस्थाभित्रको विभाजनका कारण धेरै मुद्दाहरू प्रभावकारी रूपमा उठाउन नसकिएको उनले बताए।
संस्था हाल जटिल परिस्थितिमा रहेको उल्लेख गर्दै शेरचनले सबैले व्यक्तिगत ‘इगो’ त्यागेर एकताबद्ध हुनुपर्नेमा जोड दिए। उनका अनुसार संस्था विभाजित हुँदा मुद्दाहरू पनि कमजोर भएका छन् र सरकारलाई दबाब दिन कठिन भएको छ।
एनआरएनएका विभिन्न मुद्दामा संस्थागत लबिङ कमजोर भएको उल्लेख गर्दै उनले फुटेका र टुटेका मनहरू अब एक हुनुपर्ने बताए। साथै, संस्थाको सदस्यता खुलाउने प्रक्रिया पनि सुधार गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए।
विधान संशोधन गरेर सदस्यता र निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा उनले जोड दिए। “डिजिटल र फिजिकल प्रणालीबीच द्वन्द्व सिर्जना भएको छ। यसमा तत्काल सुधार आवश्यक छ,” उनले भने, “म भने फिजिकल प्रणालीमै निर्वाचन गराउनुपर्छ भन्ने पक्षमा छु, जसले नेपालको अर्थतन्त्र र पर्यटनलाई समेत सहयोग पुर्याउँछ।”










