आकाशमै इन्धन भर्न प्रयोग हुने अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त भएको छ।
इरानविरुद्ध अमेरिका–इसराइलको संयुक्त सैन्य कारबाहीका क्रममा प्रयोग भइरहेको केसी–१३५ विमान बिहीबार पश्चिमी इराकको मरुभूमि क्षेत्रमा खसेको हो।
अमेरिकी सेनाको मध्य कमान्ड (सेन्ट्रल कमान्ड)ले आकाशमै इन्धन भर्ने कार्यका लागि दुई वटा विमान प्रयोग भइरहेको र तीमध्ये एउटा दुर्घटनामा परेको जानकारी दिएको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ।
सेन्ट्रल कमान्डका अनुसार अर्को विमान भने सुरक्षित रूपमा अवतरण गर्न सफल भएको छ। प्रारम्भिक विवरणअनुसार यो दुर्घटना विपक्षी आक्रमण वा आफ्नै सेनाको ‘फ्रेन्ड्ली फायर’का कारण नभएको पनि सेन्ट्रल कमान्डले जनाएको छ।
केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले इरानको आक्रमणबाट विमान खसालिएको दाबी गरे पनि सेन्ट्रल कमान्डले बाह्य हमलाबाट दुर्घटना नभएको स्पष्ट पारेको छ।
सामान्यतया केसी–१३५ विमानमा कम्तीमा ३ देखि ५ जना चालक दलका सदस्य हुने गर्छन्। तर दुर्घटनाग्रस्त विमानमा कति जना सवार थिए भन्ने खुलाइएको छैन। उनीहरूको अवस्थाबारे पनि आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। सेनाले भने उद्धार कार्य जारी रहेको जनाएको छ।
केसी–१३५ अमेरिकी वायुसेनामा सबैभन्दा धेरै प्रयोग हुने तथा पुराना विमानमध्ये एक मानिन्छ। यी विमानहरू लडाकु जेट, निगरानी विमान तथा कार्गो विमानलाई आकाशमै इन्धन भर्ने (एयर–टु–एयर रिफ्युलिङ) कार्यका लागि प्रयोग गरिन्छ।
यस्ता उडानहरू नियमित रूपमा सञ्चालन हुने भए पनि दुर्घटना भने विरलै हुने गर्छ। खराब मौसम वा तीव्र हावाहुरीका अवस्थामा यस्तो कार्य जटिल हुने अधिकारीहरूले बताएका छन्।
प्रारम्भिक अनुसन्धानकर्ताहरूले दुई विमान हावामै ठोक्किएको हुन सक्ने सम्भावनामा पनि अनुसन्धान गरिरहेको जनाएका छन्।


