Friday, May 8, 2026
Home Blog Page 65

समानुपातिक सांसद टुंग्याउन कांग्रेस कार्यसम्पादन समितिको बैठक आज

0

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। बैठक ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे बस्ने तय गरिएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ प्राप्त सिट संख्याका आधारमा सांसदको नाम तय गर्न बैठक बोलाइएको हो।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको थियो। समानुपातिकतर्फ प्राप्त सिटअनुसार प्रतिनिधिसभामा पठाइने सांसदहरूको नामावलीबारे आजको बैठकले निर्णय गर्ने अपेक्षा गरिएको छ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: देशका धेरै स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

0

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसका कारण देशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि घना बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ।

हाल गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहने तथा अन्य भूभागमा आंशिक बदली रहने सम्भावना छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

आज राति पनि कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहने तथा अन्य स्थानमा आंशिक बदली रहने मौसमविद्हरूले बताएका छन्।

हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्नेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

‘बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन पार्टी विधान बाधक छैन’

0

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना सम्पन्न भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता छान्ने प्रक्रिया अगाडि बढाउने भएको छ।

निर्वाचन आयोगले फागुन २१ मा सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम बिहीबार सार्वजनिक गरेको थियो। आयोगका अनुसार नयाँ दल रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिट प्राप्त गरेको छ। परम्परागत राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा लगायत प्रतिरक्षामा पुगेका छन्। रास्वपालाई दुई तिहाइ बहुमतका लागि भने अझै दुई सिटको अभाव देखिएको छ।

स्पष्ट एकल बहुमतको सरकार गठन गर्ने म्याण्डेट रास्वपालाई प्राप्त भएकाले वरिष्ठ नेता बालेन्द्र शाह भावी प्रधानमन्त्री बन्ने चर्चा छ। निर्वाचनअघि पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख बालेनबीच पार्टी र सरकार सञ्चालन सम्बन्धी सात बुँदे सहमति भएको थियो। सो सहमतिको बुँदा नम्बर ४ मा पार्टी सभापति रवि रहने र संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेनलाई बनाउने उल्लेख छ।

तर रास्वपाको पार्टी विधान संशोधन नगरी बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन नमिल्ने तर्क सार्वजनिक भइरहेका छन्। यद्यपि पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले भने विधान बाधक नभएको दाबी गरेका छन्।

उनका अनुसार पार्टीको महाधिवेशन नभएकाले हाल संक्रमणकालीन विधानअनुसार नै निर्णय गर्न सकिने अवस्था छ। सहमतिमै संसदीय दलको नेता चयन गर्दा विधानले अवरोध नगर्ने उनको भनाइ छ।

आचार्यले सभापति रवि लामिछाने अस्वस्थ भएर आराम गरिरहेकाले समानुपातिक सांसदहरूको टुंगो लागेपछि केन्द्रीय समिति बैठक बस्न सक्ने बताए। बाहिर आएको जस्तो शीर्ष नेताबीच विधान संशोधन वा सरकार गठनबारे औपचारिक छलफल नभएको पनि उनले स्पष्ट पारे।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २५ अनुसार संसदीय दलका सदस्यहरूले आफूमध्ये एक जनालाई संसदीय दलको नेता निर्वाचित गर्ने व्यवस्था छ। साथै संसदीय दलको निर्वाचनसम्बन्धी अन्य प्रक्रिया सम्बन्धित दलको विधानअनुसार हुने उल्लेख छ।

रास्वपाको विधानको धारा ६६(८) अनुसार भने संघीय निर्वाचनअघि नै पार्टीबाट उम्मेदवार बनेका व्यक्तिहरूमध्येबाट संसदीय दलको नेता छनोट गर्न निर्वाचन हुने व्यवस्था गरिएको छ। उक्त निर्वाचनमा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने प्रावधान पनि रहेको छ।

विधानमा कुल सदर मतको ५० प्रतिशतभन्दा बढी (५०%+१) मत ल्याउने उम्मेदवार संसदीय दलको नेता हुने व्यवस्था गरिएको छ। यदि कुनै उम्मेदवारले उक्त मत प्राप्त गर्न नसकेमा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः निर्वाचन हुने प्रावधान छ।

साथै प्रस्तावित संसदीय दलको नेता राष्ट्रिय निर्वाचनमा पराजित भएमा वा कुनै कारणले पद रिक्त भएमा निर्वाचित उम्मेदवारहरूमध्येबाट पुनः निर्वाचन गरेर नेता चयन गर्ने व्यवस्था पनि विधानमा उल्लेख गरिएको छ।

विधानको धारा ८० मा कुनै कानुनी वा प्रक्रियागत बाधा आएमा त्यसलाई फुकाउने अधिकार केन्द्रीय समितिलाई रहने व्यवस्था छ।

अधिवक्ता तथा विधानका मस्यौदाकार यज्ञमणि न्यौपानेले प्रजातान्त्रिक अभ्यासका लागि यस्तो व्यवस्था गरिएको भए पनि पूर्वसहमति कार्यान्वयनमा कुनै बाधा नपर्ने बताएका छन्। उनका अनुसार कुनै पदका लागि एक मात्र उम्मेदवार भए स्वतः निर्वाचित हुने व्यवस्था लागू हुन्छ र सातबुँदे सहमति कार्यान्वयनमा आउने सम्भावना बलियो छ।

दक्षिण लेबनानमा इजरायली हवाई आक्रमण: १३ जनाको मृत्यु, युनिफिलको नेपाली बटालियनको ब्यारेक पनि प्रभावित

0

काठमाडौं। शुक्रबार राति इजरायली हवाई आक्रमणले दक्षिण लेबनानका विभिन्न क्षेत्रलाई निरन्तर लक्षित गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ। लेबनानी सरकारी स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले जनाएअनुसार आक्रमणका क्रममा संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) अन्तर्गत रहेको नेपाली बटालियनको ब्यारेकमा समेत गोला खसेको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयअन्तर्गतको आपतकालीन सञ्चालन केन्द्रका अनुसार इजरायली आक्रमणले इस्लामिक हेल्थ अथोरिटी र इस्लामिक रिसाला स्काउट्सद्वारा सञ्चालित संयुक्त आपतकालीन केन्द्रलाई प्रत्यक्ष लक्ष्य बनाउँदा दुई जना उद्धारकर्मीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

नाबातिये सहरको अल–राहिबात क्षेत्रमा एक घरमा इजरायली युद्धविमानले आक्रमण गर्दा एक बालिका सहित छ जनाको मृत्यु भएको छ। दक्षिणी सीमा सहर बिन्त ज्बेलमा भएको अर्को आक्रमणमा तीन जनाको ज्यान गएको छ भने तटीय सहर घाजियेमा भएको आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको बताइएको छ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली तोपका गोला दक्षिणी सीमा गाउँ माइस अल–जबलस्थित युनिफिलको नेपाली बटालियनको ब्यारेकभित्र पनि खसेका थिए।

बेइरुतस्थित नेपालको मानद वाणिज्यदूतावासले एक विज्ञप्ति जारी गर्दै उक्त आक्रमणको कडा निन्दा गरेको छ। विज्ञप्तिमा कुनै नेपाली सैनिक घाइते नभएको स्पष्ट पार्दै संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको ब्यारेकलाई लक्ष्य बनाउनु अन्तर्राष्ट्रिय कानुन तथा संयुक्त राष्ट्रसंघीय कर्मचारीहरूको सुरक्षासम्बन्धी सिद्धान्तको गम्भीर उल्लङ्घन भएको उल्लेख गरिएको छ।

यसैबीच हिज्बुल्लाहले इजरायली लक्ष्यहरूमा प्रतिशोधात्मक कारबाही गरेको दाबी गरेको छ। समूहले वाडी हुनिन क्षेत्रमा इजरायली सैनिक र सवारी साधनहरूलाई रकेट आक्रमण गरेको तथा दक्षिण लेबनानको ब्लाट सैन्य स्थललाई लक्षित गरी हमला गरेको जनाएको छ।

समूहले इजरायलको सफेद सहरको पूर्वतर्फ रहेको गिभा ड्रोन नियन्त्रण केन्द्रलाई लक्ष्य बनाएको र मेटुला बस्तीमा तेस्रोपटक इजरायली सैनिकहरूको जमघटमा रकेट प्रहार गरेको पनि जनाएको छ।

शुक्रबार राति ढिलो इजरायलले बेइरुतको दक्षिणी उपनगरमा नयाँ हवाई आक्रमण सुरु गरेको छ, जुन हिज्बुल्लाहको गढ मानिन्छ। यसले सीमा पार जारी द्वन्द्वलाई अझै चर्काएको छ।

हिज्बुल्लाहले गत नोभेम्बर २७, २०२४ मा लागू भएको युद्धविरामपछि पहिलोपटक मार्च २ मा इजरायलतर्फ रकेट प्रहार गरेको घोषणा गरेको थियो। त्यसपछि इजरायलले समूहविरुद्ध आक्रमण अभियान सुरु गर्दै दक्षिण तथा पूर्वी लेबनानका विभिन्न क्षेत्रमा र बेइरुतको दक्षिणी उपनगरमा लगातार हवाई आक्रमण गर्दै आएको छ।

अमेरिका–इरान द्वन्द्व चर्किँदै: खार्ग टापुमा अमेरिकी बमबारी, मध्यपूर्वमा तनाव बढ्दो

0

वासिङ्टन। अमेरिका र इरानबीचको द्वन्द्व झन् तीव्र बन्दै गएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार अमेरिकाले इरानको तेल नेटवर्कसँग सम्बन्धित महत्त्वपूर्ण खार्ग टापुमा रहेका सैन्य लक्ष्यहरूमा बमबारी गरेको छ। उक्त टापु इरानको प्रमुख तेल निर्यात टर्मिनलका रूपमा चिनिन्छ।

ट्रम्पका अनुसार अमेरिकी सेनाले टापुमा रहेका सैन्य लक्ष्यहरू पूर्ण रूपमा नष्ट गरेको छ। आवश्यक परे इरानको तेल पूर्वाधारलाई समेत निशाना बनाउन सकिने चेतावनी पनि उनले दिएका छन्। यसअघि इरानी संसदका अध्यक्ष मोहम्मद बाघेर कालीबाफले यस्ता आक्रमणहरूले इरानबाट कडा प्रतिक्रिया आउन सक्ने चेतावनी दिएका थिए।

इरानको राजधानी तेहरानमा शुक्रबार ठूलो विस्फोट भएको छ। विस्फोट त्यही क्षेत्रमा भएको बताइएको छ जहाँ हजारौँ मानिसहरूले वार्षिक प्यालेस्टिनी समर्थक र्‍यालीमा सहभागी भई इजरायल र अमेरिकाविरुद्ध नाराबाजी गरेका थिए।

उक्त र्‍यालीमा केही उच्च सरकारी अधिकारीहरू पनि सहभागी थिए। विस्फोटका कारण मानवीय क्षति नभएको जानकारी दिइएको छ। यद्यपि यस घटनाले द्वन्द्वमा दुबै पक्षको अडान र प्रतिकार क्षमतालाई झन् स्पष्ट बनाएको विश्लेषण गरिएको छ।

युद्धमा अमेरिकी बललाई थप सुदृढ बनाउन ३१औँ मरीन एक्सपेडिसनरी युनिट र उभयचर हमला जहाज ट्रिपोलीलाई मध्यपूर्वतर्फ पठाइएको छ। यी मरीन युनिटहरू उभयचर आक्रमण, दूतावास सुरक्षा, नागरिक उद्धार तथा विपद् राहत कार्यमा दक्ष मानिन्छन्।

अमेरिकी अधिकारीहरूले यो तैनाथी अनिवार्य रूपमा भू–आक्रमणको संकेत नभएको बताएका छन्। यसअघि अमेरिकी नौसेनाले अरब सागर क्षेत्रमा एरोक्राफ्ट क्यारियर अब्राहाम लिंकनसहित आठ विध्वंसक जहाज र कुल १२ युद्धपोत परिचालन गरिसकेको थियो। ट्रिपोली जहाज सामेल भएपछि यो बल क्षेत्रको दोस्रो ठूलो जहाज हुने बताइएको छ।

यसबीच इरानले इजरायल र खाडी क्षेत्रका छिमेकी देशहरूतर्फ मिसाइल तथा ड्रोन आक्रमण जारी राखेको छ। विश्व व्यापारमा प्रयोग हुने तेलको करिब पाँचौँ भाग पार हुने स्ट्रेट अफ होरमज प्रायः अवरुद्ध अवस्थामा पुगेको बताइएको छ। यसले अन्तर्राष्ट्रिय तेल बजारमा दबाब बढाएको छ।

मानवीय संकट पनि गहिरिँदै गएको छ। लेबननमा इरान समर्थित हिजबुल्लाहविरुद्ध इजरायलले गरेको हमलामा करिब ८०० जनाको मृत्यु भएको र करिब ८ लाख ५० हजार मानिस विस्थापित भएको बताइएको छ। इजरायल–हिजबुल्लाह द्वन्द्वमा हालसम्म ७७३ जनाको मृत्यु भएको छ, जसमा १०० भन्दा बढी बालबालिका र १८ स्वास्थ्यकर्मी रहेका छन्।

अमेरिकाले युद्ध सुरु भएदेखि १५ हजारभन्दा बढी इरानी लक्ष्यमा आक्रमण गरेको जनाएको छ। अमेरिकी रक्षा सचिवका अनुसार प्रतिदिन एक हजारभन्दा बढी लक्ष्यमा हमला भइरहेको छ। यसबीच पश्चिमी इराकमा अमेरिकी इन्धन आपूर्ति विमान दुर्घटनामा परेर चालक दलका ६ सदस्यको मृत्यु भएको छ।

यो द्वन्द्वले विश्व अर्थतन्त्र, खाडी क्षेत्रको सुरक्षा अवस्था र मानवीय संकटमा गम्भीर प्रभाव पारिरहेको छ। तेल तथा ऊर्जा आपूर्तिमा जोखिम बढेको, लाखौँ नागरिक विस्थापित भएका र ठूलो मात्रामा सम्पत्ति नष्ट भएको स्थिति छ। विश्लेषकहरूका अनुसार दुबै पक्षको कडा प्रतिकार र युद्ध रणनीतिले यस द्वन्द्वलाई अझ जटिल र खतरनाक बनाइरहेको छ।

कतारमा रहेका घर फर्कन चाहने नेपालीलाई दूतावासको आग्रह

0

काठमाडौं। दोहास्थित नेपाली दूतावासले कतारमा रहेका घर फर्कन चाहने नेपाली नागरिकलाई सम्पर्क गर्न अनुरोध गरेको छ। मध्यपूर्वमा बढ्दो तनावका कारण स्वदेश फर्कन चाहने नेपालीहरूलाई दूतावाससँग समन्वय गर्न आग्रह गरिएको हो।

दूतावासले यस सम्बन्धमा भिसा सेवा केन्द्रको फोन नम्बरसमेत सार्वजनिक गरेको छ। दूतावासका अनुसार कतारमा वैध आवासीय अनुमतिपत्र (कतार आईडी) भएका नेपाली नागरिकलाई साउदी अरबका विमानस्थल हुँदै नेपाल फर्किने व्यवस्था मिलाइएको छ।

यसका लागि दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिन ‘अपोइन्टमेन्ट बुक’ गर्न दूतावासले अनुरोध गरेको छ। उक्त सेवा केन्द्र एजदान मल (अल घराफा)मा रहेको बताइएको छ।

यूएईमा सामाजिक सञ्जालमा बनावटी भिडियो पोस्ट गरेको आरोपमा १० जना पक्राउ, नेपालीसमेत समावेश

0

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) का महान्यायाधिवक्ता डा. हमाद सैफ अल शम्सीले विभिन्न देशबाट युएइमा बसेका १० जनालाई पक्राउ गर्न आदेश दिएका छन्। पक्राउ परेका मध्ये एक जना नेपाली पनि छन्। उनीहरूलाई सामाजिक सञ्जालमा भ्रामक तथा बनावटी सामग्रीसहितका भिडियो क्लिपहरू प्रकाशित गरेको आरोपमा मुद्दा चलाउन पठाइएको छ।

खलीज टाइम्सका अनुसार, यो कदम क्षेत्रीय घटनाक्रमबीच डिजिटल प्लेटफर्महरूको निरन्तर निगरानीपछि उठाइएको हो। अनुसन्धानले देखाएको छ कि प्रतिवादीहरूले हवाई रक्षा प्रणालीले आक्रमण रोकिरहेको वास्तविक दृश्य, जमिनमा रहेका प्रोजेक्टाइल, वा घटनास्थलमा जम्मा भएका भीडका दृश्यहरू सार्वजनिक गरेका थिए। साथै, कृत्रिम बुद्धिमत्ता प्रयोग गरी बनावटी दृश्यहरू—जस्तै विस्फोट, प्रमुख स्थलमा आक्रमण, वा ठूलो आगलागी—प्रसारित गरिएको पाइएको छ।

यी क्लिपहरूमा बालबालिकाको भावनालाई प्रयोग गरी झूठा सुरक्षा खतरा देखाउने भिडियोहरू, देशभित्रका सैन्य संरचना नष्ट भएको दाबी गर्ने वा विदेशी घटनालाई यूएइसँग जोडेर जनमत भ्रमित गर्ने प्रयास पनि समावेश थिए।

अधिकारिहरूले भनेका छन् कि यस्तो सामग्रीले सार्वजनिक सुरक्षामा असर पार्ने, जनतामा भ्रम सिर्जना गर्ने, शत्रुतापूर्ण सञ्चारमाध्यमलाई तथ्य विकृत गर्न सहयोग गर्ने, र देशको रक्षा क्षमतासम्बन्धी संवेदनशील जानकारी उजागर हुने जोखिम हुन्छ।

महान्यायाधिवक्ताले यस्ता कार्य कानुनअनुसार कम्तीमा एक वर्ष कैद र कम्तीमा १ लाख दिरहम जरिवाना हुने अपराध भएको स्पष्ट पारेका छन्। सार्वजनिक अभियोजन कार्यालयले यस्ता गतिविधि सहन नहुने र संलग्न व्यक्तिलाई तुरुन्तै कानुनी कारबाही गरिने जनाएको छ।

रास्वपाको सचिवालय बैठक स्थगित, भोलि बिहान १० बजे बस्ने

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक स्थगित भएको छ। आज बस्ने भनिएको बैठक भोलि (आइतबार) बिहान १० बजे वनस्थली पार्टी कार्यालयमा बस्ने गरी सारिएको छ।

बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिस लगायतका विषयमा छलफल हुने बताइएको छ।

इलामका चिया बगानमा ‘फस्ट फ्लस’ सुरु, उच्च गुणस्तरका चियाको उत्पादन बढ्ने अपेक्षा

0

इलाम । इलामका चिया बगानमा यस वर्षको पहिलो टिपाइ सुरु भएको छ। ‘फस्ट फ्लस’ भनेर चिनिने यो टिपाइलाई उच्च गुणस्तरको चिया उत्पादनका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।

फागुनको अन्तिम सातादेखि सुरु भएको चियाको उत्पादनले उद्योगी र किसानलाई वार्षिक आम्दानीको मुख्य आधार दिने गरेको चिया व्यवसायी जीवन पाण्डेले बताए। चियाको पहिलो टिपाइ विशेष सावधानीका साथ सङ्कलन गरिन्छ। कोमल पातबाट उच्च गुणस्तरको चिया उत्पादन हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा यसको माग पनि उच्च हुने गरेको पाण्डेको भनाइ छ।

इलामका चिया उद्योगी शरद सुब्बाका अनुसार यस वर्ष जिल्लाको दक्षिणी क्षेत्रबाट चिया टिपाइ सुरु भएको छ। उनले इलामको सोयाक बगानमा पहिलो टिपाइ सुरु भएको जानकारी दिए। “यसलाई सुरक्षित ढङ्गले टिपिन्छ। यहीबाट उच्च गुणस्तरको चिया तयार हुन्छ,” सुब्बाले भने, “पहिलो टिपाइमा मात्रै करिब अढाइ सय किलो चिया सङ्कलन भएको छ।” उनका अनुसार सोयाकसँगै चिलिमकोटलगायतका क्षेत्रका बगानमा पनि क्रमशः चिया टिपाइ सुरु भइसकेको छ।

जसबिरेस्थित जसबिरे चिया कारखानाका सञ्चालकसमेत रहेका सुब्बाले यस वर्ष हरियो पत्तीको मूल्य गत वर्षकै हाराहारीमा कायम गरिएको बताए। उनका अनुसार किसानलाई प्रतिकिलो ६५ रुपैयाँदेखि प्रतिकिलो १ हजार ५०० रुपैयाँसम्म मूल्य दिने व्यवस्था गरिएको छ।

स्थानीय किसानका लागि चियाको पहिलो टिपाइ वर्षको आशाको सुरुवात जस्तै हुने गर्छ। सूर्योदय नगरपालिका–१ का चिया किसान जगन्नाथ अधिकारीका अनुसार पहिलो टिपाइको चिया गुणस्तरका हिसाबले राम्रो हुने भएकाले मूल्य पनि राम्रो पाइन्छ। “पहिलो टिपाइ राम्रो भयो भने वर्षभरि नै चिया उत्पादनप्रति उत्साह बढ्छ,” उनले भने, “यो किसानका लागि वर्षको सुरुवातमै आउने राम्रो आम्दानी हो।”

माई नगरपालिका–५ का किसान बुद्ध लिम्बूले यस वर्ष कात्तिकयता पर्याप्त वर्षा नपरेकाले जिल्लाको माथिल्लो लेकाली क्षेत्रमा चैतको पहिलो सातापछि मात्र चिया टिपाइ सुरु हुने सम्भावना रहेको बताए।

इलामसँगै पाँचथरमा रहेको कञ्चनजङ्गा चिया कारखानाले पनि पहिलो टिपाइको चिया प्रशोधन सुरु गरिसकेको छ। उद्योगीहरूका अनुसार यसरी तयार भएको चिया जर्मनी, रुस, अमेरिका लगायत युरोपका विभिन्न देशमा निर्यात हुने गरेको छ।

इलाममा गोल्डेन, गोल्डेन पल, सिल्भर टिप, गोल्डेन ब्ल्याक, ग्रिनलगायत फरक–फरक स्वाद र गुणस्तरका चिया उत्पादन हुने गरेका छन्। मेची भन्सार कार्यालय झापाका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट ८६ लाख ७७ हजार २२१ किलो चिया निर्यात भएको छ। उक्त परिमाणको चियाबाट करिब २ अर्ब ३२ करोड १२ लाख ५६ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा आर्जन भएको तथ्याङ्कले देखाएको छ।

कृषि मन्त्रालयको तथ्याङ्कअनुसार इलाममा करिब ७ हजार ६०० भन्दा बढी किसानले ७ हजार ३०० हेक्टर क्षेत्रफलमा चिया खेती गर्दै आएका छन् भने जिल्लामा ३६ वटा ठूला चिया बगान सञ्चालनमा छन्।

समानुपातिक सांसद टुङ्ग्याउन कांग्रेसको कार्यसम्पादन समिति बैठक आइतबार

0

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिकतर्फका सांसदहरूको नाम टुङ्गो लगाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार बैठक आगामी आइतबार दिउँसो १ बजे बस्नेछ। बैठक ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिनेछ।

बैठकको मुख्य एजेन्डा समानुपातिक सांसद छनोट रहेको छ। निर्वाचनअघि निर्वाचन आयोगमा बुझाइएको समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा प्रतिनिधि सभा सदस्यहरूको नाम अन्तिम छनोट गरी आयोगमा पठाउने विषयमा छलफल र निर्णय गरिने बताइएको छ।

नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा केन्द्रीय कार्यसम्पादन समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई तोकिएको समयमा अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ।